scheduleआइतवार भाद्र ८ गते, २०७६

को हुन् गृहमन्त्रीकै अगाडि विष पिउने भट्टराई ?


काठमाडौं, ५ मंसिर । कालीकोट घर भएका कुलप्रसाद भट्टराई (कुसुम) ले बुधबार गृहमन्त्री रामबहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन् ।

गृह स्रोतका अनुसार अपराह्न ४ बजेर १० मिनेट जाँदा उनले गृह मन्त्रीकै कार्यकक्षमा विष सेवन गरेका हुन् । जनयुद्धलाई रोक्दै शान्ति सम्झौता गरेको १२ वर्ष पूरा भएको दिन भट्टराई गृहमन्त्रीलाई भेट्न पुगेका थिए । भट्टराई जनयुद्धका घाइते हुन् । उनको टाउको र शरीरमा गोली छ । शरीरको घाउ उपचार गर्न भन्दै उनले २०६६ सालदेखि निरन्तर सहयोग माग गर्दै आएका छन् ।

बहिर्गमित जनमुक्ति सेनाले जनयुद्धका घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने माग गर्दै आएको छ । भट्टराईले आज पनि गृहमन्त्रीसँग हाम्रो उपचार कसले गर्ने भन्दै गुनासो गरिरहेका थिए । उनले गृहमन्त्रीसँग आफू ठूलो मानसिक तनावमा रहेको र युद्धका कारण जीवन बर्बाद भएको दुःखेसो पोखिरहेका थिए ।

बहिर्गमित जनमुक्ति सेनाहरुले जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डले आफ्नो छोरा प्रकाश दाहालको निधनलाई ठूलो विषय बनाएको र स्मृति दिवसमा लाखौं खर्च गरेको तर, खुसीराम पाख्रिनलाई नसम्झिएको भन्दै गुनासो गरिरहेका थिए ।

गृहमन्त्रालयमा भेटिएका एक लडाकुले भने, ‘भट्टराईजस्ता लडाकुले टाउको र शरीरमा गोली बोकेर हिंडेका छन् । जिन्दगी बर्बाद भएको छ । पार्टीका केही नेताहरु नवधनाढ्य बनिरहेका छन् । यिनीहरुलाई हाम्रो आँसुले पोल्छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage