scheduleमगलवार पौष ३ गते, २०७५

वैकल्पिक राजनीतिको बहसमा तेस्रो कोण

सरोज गौतम

गतसाता विवेकशील साझा र नयाँ शक्तिका पार्टी नेताहरु आफ्ना लेखको माध्यमबाट दोहोरीमा उत्रिए । कुन धेरै क्यारेटको वैकल्पिक र कुन असली नयाँ पार्टी भन्ने कोणबाट । नयाँ शक्तिका प्रवक्ता तथा स्तम्भकार डम्बर खतिवडाले विवेकशील साझा पार्टी र नयाँ शक्तिबीच ९ भिन्नता छुट्याउँदै लेखेको आलेख आएकै केहि समयमा विवेकशील साझाका संगठन विभाग प्रमुख मुमाराम खनालले ट्वीटमार्फत् त्यसलाई व्यङ्गात्मक शैलीमा आलोचना गरे । त्यसको केही समयमा विवेकशील साझाका नेता केशव दाहालले ‘नयाँ पार्टी कि वैकल्पिक राजनीति‘ भन्ने शीर्षकमै लेख लेखेर खण्डन गरे । दाहाल नयाँ शक्ति छाडेर केही समयअगाडि विवेकशीला साझा प्रवेश गरेका थिए । नयाँ शक्तिको खण्डन दाहालबाटै आउँदा पाठकले रुचिपूर्ण र अर्थपूर्ण ढंगले पढेका थिए ।

सरोज गौतम

यही साता रविन्द्र मिश्रको ‘नेतृत्वको पञ्चगुण’ भन्ने लेख छापियो । त्यस लेखप्रति प्रतिप्रश्न नयाँ शक्तिका नेता गंगा श्रेष्ठ र जेकेन्द्र श्रेष्ठले मिश्रलाई खुलापत्र लेखेर गरे । म आफैं पनि नेपालमा वैकल्पिक राजनीति आवश्यक छ भन्ने मान्यता राख्ने पात्र भएका कारण यस बहसमा सहभागी हुन मन लाग्यो ।

पहिलो सवालबाट कुरा सुरु गरौं । नेपालको सन्दर्भमा वैकल्पिक राजनीति किन जरुरत पर्‍यो र यसको मुल के-के हुन् ? भन्ने प्रसंगबाट ।

नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता पोलिटिकल सिफ्टको कारणले भएको हो । जसरी डोजरले बाटो खनेपछि त्यो बाटोमा गुडाउन नयाँ सवारी आवश्यक पर्छ, त्यसैगरी नयाँ संविधान बन्ने अभिभारा सकिएपछि त्यसले परिकल्पना गरेको आर्थिक समृद्धि, सुशासनसहितको नेपाल पुरानै पार्टीबाट बन्न नसक्ने वस्तुगत कारणले गर्दा वैकल्पिक पार्टी र राजनीति चाहिएको हो । त्यसो त, पुरानै पार्टीको रुपान्तरणबाट पनि यो सम्भव हुने सम्भावना रहन्थ्यो नै । यसबीचमा पुराना पार्टीहरुको गतिविधिले उक्त सम्भावना झन् साँघुरिँदै गइरहेको छ ।

नेपालमा वैकल्पिक राजनीतिको मुख्यतः तीनवटा मुल छन्-
१. विवेकशील नेपाली
नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको पहिलो रिहर्सल नै विवेकशील पार्टीले दोस्रो संविधानसभाको निवार्चनबाट कुकुर चुनाव चिन्हबाट स्वतन्त्र उमेद्दवार उठाएर गरेको थियो राजनीतिमा पारदर्शिता र मध्यमपन्थको वकालत गरेर । यद्यपि, त्यो बेला संविधान बन्ने मुख्य अभिभारा भएका कारणले त्यसले उतिसाह्रो चर्चा पाएन । चर्चा नै नपाएनि उक्त पार्टीले जुन हैसियतमा राजनीति गर्न सक्यो त्यही लेभलमै भएपनि संस्कारसहितको पारदर्शी राजनीतिलाई नै प्रवर्द्धन गर्‍यो । नयाँ युवाहरुलाई राजनीतिमा आकर्षित गर्‍यो । युवाहरुको एउटा क्रेज यो पार्टीसँग छ । तर, त्यसले राष्ट्रिय बहसको स्तर लिन सकेन । यद्यपि, अहिले विवेकशील पार्टी अर्को राजनीतिक दल साझा पार्टीसँग मिलेर विवेकशील साझा पार्टी बनिसकेको छ ।

बाबुराम भट्टराईको पहल
दोस्रो संविधानसभाबाट संविधान बनिसकेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व अर्थसचिव रामेश्वर खनाल, नायिका करिष्मा मानन्धर, विश्लेषक मुमाराम खनाल र केहि पूर्वमाओवादीका नेताहरुसहितको पहलमा नयाँ शक्ति बनाउने परिकल्पना गरे । उनको त्यो पहलले त्यतिबेला चिया पसलदेखि पत्रपत्रिकाका भित्ताहरुसम्म वैकल्पिक राजनीतिलाई बहस गराउन सफल भयो । एक हिसाबले भन्दा वैकल्पिक राजनीतिको बारेमा राष्ट्रिय बहस सिर्जना गर्न सक्यो ।

बहस उत्कर्षमा पुग्दैगर्दा बाबुराम भट्टराईले पुरानो राजनीतिक पार्टीले गरिखाँदैन भनेर राम्रो विष्लेषण त गरे तर, आफैले नयाँ पार्टीको राम्रो आर्किटेक्ट गर्न सकेनन् । सुरुको उत्साहलाई निरन्तरता दिँदै परिणाममा रुपान्तरण गर्न नसक्दा नयाँ शक्तिले यो बीचमा धेरै नै उतारचढावहरु बेहोर्‍यो । फलस्वरुप उनलाई साथ दिएर नयाँ खालको राजनीति गर्न सकिन्छ भन्नेलाई पनि उनले आफूसँग राखिरहन सकेनन् । चुनाव अगाडि कम्युनिष्ट गठबन्धनमा हतारमा गए र हतारमै फर्किए । यद्यपि, उनले वैकल्पिक राजनीति पहल अहिले पनि जारी राखिरहेका छन् । उनको उमेर वैकल्पिक राजनीतिको नयाँ गोरेटो कोर्न उनले गरिरहेको प्रयत्न भने प्रशंसनीय छ ।

केही ‘प्रोफेसनल सक्सेसर’को साझा पहल
रविन्द्र मिश्र, मुमाराम खनाल, डा. सूर्यराज आर्चाय, डा. सरोज धिताललगायत पेशागत तथा व्यवसायिक क्षेत्रमा एक स्तरको सफलता पाएका पेशेवरहरुले पनि पारदर्शिता र लोक कल्याणकारी राज्यको परिकल्पनासहित साझा पार्टीको रुपमा राजनीतिक परिकल्पना गरेका छन् । उनीहरुले राजनीतिक महत्वकांक्षा भएर पनि राजनीतिभन्दा बाहिर रहेका व्यक्तिहरुलाई समेटेर यस बहसलाई अगाडि बढाउने प्रयत्न गरेका थिए । एकातिर नयाँ शक्तिको उतारचढावबाट पैदा भएको मैदान र अर्कोतिर विवेकशील दलले राष्ट्रिय बहसको आकार नलिँदा यो समूहले आकार बनाउने प्रयास गर्‍यो । र, विवेकशील पार्टीसँग एकता गरेर यसले वैकल्पिक राजनीतिलाई अहिले पनि एउटा दिशा दिन प्रयत्न गरिरहेको छ ।

अहिले राजनीतिका यी तीन मुलमध्ये विवेकशील नेपाली पार्टी र साझा पार्टी एकीकरण गरी विवेकशील साझा पार्टी निर्माण गरेका छन् । गत चुनावमा करिब २ लाख वरपर मत जितेर राष्ट्रिय पार्टी नबनेपनि नेपालको पाँचौ ठूलो पार्टी बनेको छ ।

विश्व राजनीतिमा वैकल्पिक राजनीतिको बहस
सूचना प्रविधि र विज्ञानको क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसले सिर्जना गरेका अवसर र चुनौति नै आजको राजनीतिक अवसर तथा संकटका मुख्य कारण हुन् । राजनीतिक विचार, एजेण्डा र प्रणालीले नयाँ चाहनाहरुलाई चुनौति दिँदै गयो भने मान्छेलाई भइराखेको राजनीतिसँग वितृष्णा उब्जेको छ र त्यसको ठाउँमा नयाँ राजनीतिक पार्टी र समूहले लिएका छन् । यसको विश्वव्यापीरुपमा प्रभावहरु देखिएका छन् । विश्वव्यापीरुपमा दिल्ली, फ्रान्स, पाकिस्तान, डेनमार्क, ब्राजिलदेखि भुटानसम्म भइरहेका सत्तासिनहरुका कुर्सी हल्लिएका छन् । यद्यपि, कुर्सीबाट हटाउनेहरु मध्ये कोही फान्स्रका म्याक्रोन जस्ता उदार छन् भने कोहि ब्राजिलका जस्तो अनुदार ।

विकल्प खोज्ने यो दौडमा दक्षिण दौडिने कि प्रगतिशिलतालाई अगाडि बढाउने, नेपाली वैकल्पिक राजनीतिमा अहिले भइरहेको बहसमा कसले कुन बाटो रोज्छन् ? त्यो भविष्यकै गर्भमा छ । यद्यपि, सुरु भएका बहसले केही संकेत भने सुरु गरेको छ ।

नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको ‘स्कोप’
नेपालमा वैकल्पिक राजनीतिको ‘स्कोप’ मात्र छैन यो आवश्यकता पनि बनेको छ । झन्डै ‘मिडिएन’ मतदाता २२ वर्ष रहेको र २४ वर्षमुनिको मतदाताको बाहूल्यता रहेको यो देशमा कम्युनिस्टहरुले निकै राम्रो अवसर पाएका थिए । दुई तिहाइको सरकार र सातवटा प्रदेश सरकारसहितको होल्डमा रहेको उनीहरुको सत्ता आफ्नै संरचनाको जर्जरपनले थलिएको छ र ‘डेलिभरी’ गर्न नसक्ने गरी भुत्ते भएको छ ।

उता, अर्को निवार्चनपछि देशमा कांग्रेसले चुनाव जित्ला र शेरबहादुर देउवा या रामचन्द्र पौडेलले यो देशलाई पार लगाउलान् भन्ने कुरा विश्वास गरेको छ । तर्सथ, यो ठूलो मात्रामा विकास भएको आम राजनीतिक निराशालाई संगठित गर्न सक्दा प्राप्त गर्न सकिने शक्तिले मुलुकमा बदलाव ल्याउन सक्छ । यही मैदानमा हुर्कन प्रयासरत नयाँ अवधारणासहित आएका दलहरुसँग राम्रो अवसर छ । वस्तुगत अवस्था जतिसुकै अनुकूल बन्दै गएपनि आत्मगत अवस्था भने विश्वास गर्न सकिनेगरी विकास भएको पाइँदैन ।

यदि उनीहरुले पनि पुरानै दलहरुजस्तै असफल नरहने हो भने आफनो पार्टी डिएनएमा केहि क्रमभंग गर्न जरुरी छ । त्यो भनेको विभिन्न वैकल्पिक स्वादमा राजनीतिक गर्नेहरु बीचको सहर्काय नै हो । यद्यपि त्यो सहर्कायको ढाँचा, प्रकृति र उद्देश्यमा विभिन्न बहस सञ्चालन गर्न सकिने छ ।

आजको आँखामा नयाँ शक्ति
नयाँ शक्ति पार्टी आजको वैकल्पिक राजनीतिमा प्रतिवद्ध पार्टी हो । उसले वैचारिक हिसाबले र रणनैतिक हिसाबले यसको स्पष्ट मार्गचित्र बनाएको छ । तर, ऊ दस्तावेजमा मात्र सिमित छ । त्यसबाहेक यसले न नयाँ राजनीतिको अभ्यास गर्न सक्यो न चाह्यो पनि । पहिचानको ह्याङसहित धेरैजसो राजनीतिक कार्यकर्ताको मात्र बाहुल्य भएका यहाँ पुरानो राजनीतिक मर्यादाक्रम ब्युँझाउन नेतृत्वको विशेष रुचि देखिन्छ । यसले नयाँ मानिसप्रतिको आकर्षण पैदा गर्न सकेको छैन । पार्टी निर्णयमा सबैले स्वामित्व लिन सक्ने अवस्था छैन नै, नेतृत्व नै केही पुराना सम्बन्धमा नराम्ररी फसेका छन्, जसलाई तोड्न नसक्दा ‘नयाँ’ बन्न बाधा पुगिरहेको पाइन्छ ।

त्यसो त, नयाँ पार्टी बनाउनु भनेको नयाँ राजनीतिक संस्कार बनाउनु पनि हो । यसको लागि लामै समय लाग्न सक्छ । तर पनि नयाँ शक्तिले राजनीतिमा बिताएको समय धेरै लामो नभए पनि धेरै छोटो भने होइन । राजनीतिक दलहरुको भीडमा ‘न हाँसको चाल, न बकुल्लाको चाल’को अवस्थाबाट मुक्त हुनेगरी पार्टीले निर्मम समीक्षा र तदनुरुपको निर्णयहरु गर्नुपर्ने देखिन्छ ।

नयाँ शक्ति पार्टी आफैं राजनीतिक डिप्रेसनबाट गुज्रिरहेकोले यसको अपिलले मात्र नेपालमा वैकल्पिक राजनीतिको कुनै गुञ्जायस शक्तिशाली नहुने देखिन्छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक उचाइ सुरुवातमा पार्टीको लागि लाभदायक भए पनि त्यसलाई पार्टीमा निश्चित विधिमार्फत् नयाँ शक्तिको उचाइमा रुपान्तरण गर्न चुकेको पाइन्छ । यसर्थ, अहिले पनि पार्टीको संस्थागत पहिचान संकटमा छ । यद्यपि, यो पार्टीमा केही सम्पत्ति/सम्पदाहरु महत्वपूर्ण छन् । वैकल्पिक राजनीतिको लागि तयार केहि राजनीतिक कार्यकर्ता र राजनीतिक नेटर्वक छ । राजनीतिक परिपक्वता, वैचारिक स्पष्टताका बावजुद पनि वैकल्पिक रंग गाढा बनाउन नसक्नु पार्टीको कमजोरी हो ।

आजको आँखामा साझा विवेकशील
आजको आँखामा साझा विवेकशील पार्टीलाई राखेर हेर्दा यो खासै राजनैतिक कदमहरु नबिराएको र वैकल्पिक राजनीतिको एउटा वाहक शक्ति हो भन्दा फरक पर्दैन । यद्यपि यसको सबैभन्दा ठूलो चुनौति भनेकै आफ्नो प्रणालीलाई राजनीतिक प्रणालीमा ढाल्नु हो । यहाँ एकप्रकारले हेटेरोजिनीयस समूहहरु सामेल छन्, ती सबैलाई नयाँ खालको राजनीतिले लैस गर्न सम्रगरुपमा राजनीतिलाई राजनीतिक तवरले सामना गर्न यसको लागि अर्को चुनौति हो । यद्यपि, आजको वैकल्पिक राजनीतिलाई सहि अर्थमा यस पार्टीले नै प्रतिनिधित्व नै गर्छ । तर कस्तो विकल्प ? पछाडि फर्कने कि अगाडि बढ्ने ? नेतृत्वको विगतको छद्म पहिचान, अहिले पनि लुकाउन नसकेर पोखिएका भावनाले दक्षिणपन्थी रुझान देखाएको आरोप लगाउनेहरुलाई बल पुगिरहेको छ । मुलुकका जल्दाबल्दा विषयहरुमा मौन रहेर ‘कम्फर्ट जोन’मा बसेर राजनीति गर्दै ताली बज्ने कुरा मात्र बोल्ने ‘चेयर लिडर’को चरित्र देखाएको आरोपप्रति खरो उत्रनु यो पार्टीका लागि अर्को चुनौति हो ।

अन्त्यमा, परम्परागत राजनीतिले जर्जर परिवेशमा विकल्पको गोरेटो कोर्नु कष्टसाध्य काम हो । यतिबेला सानातिना छिद्रहरुलाई ठूला बनाउनुभन्दा साझा विषयहरुलाई महत्व दिनु विवेकशील काम हुन्छ । नयाँ रहरले मात्रै बनिने होइन र चाहेर मात्र विकल्प बन्न पनि सकिँदैन । सिमा कमजोरी सबैका हुन्छन्, कमजोरीका पछाडि लागेर खोजिने विकल्प अग्रगामी हुन सक्दैन । विकल्पको साँघुरो गोरेटोलाई फराकिलो राजमार्गमा रुपान्तरण गर्न एकले अर्काको सकरात्मक पक्ष अनुग्रहण गर्ने सद्ववुद्धि प्राप्त होओस्, दुवै दलका चालकहरुलाई शुभकामना !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob