scheduleमगलवार पौष ३ गते, २०७५

विवाहको सिजनमा बजारमा सुनको अभाव हुने देखिन्छ

तेजरत्न शाक्य, पूर्वअध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

तिहारअघि ६० हजार ४ सय रुपैंया प्रतितोलामा किनबेच भएको सुनको भाउ अहिले घटेर ५८ हजार १ सयमा आइपुगेको छ । अझै यो भाउमा सामान्य गिरावट आउने सम्भावना रहेको अन्तर्राष्ट्रिय बजारको अहिलेको अवस्थाले देखाएको छ । यता बजारमा भने मागअनुरुप आपूर्ति नहुने हो भने सिजनका बेला बजारमा सुनको अर्डर नै लिन नसक्ने अवस्था आउने व्यवसायीले बताएका छन् ।

यसै सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यसँग साझापोष्टका लागि हरिशरण न्यौपानेसँगको कुराकानीः

पछिल्लो सुनको बजारलाई कसरी हेरिरहनुभएको छ ?

अहिले सुनको मार्केट कता जान्छ भन्न त गाह्रो छ । तर यसमा मेहनत र योजनाबद्धरुपमा अगाडि सर्नुपर्छ भन्ने हाम्रो धारणा छ । व्यवसायीले पनि यो क्षेत्रलाई कसरी विकास गर्ने भन्नेतर्फ लाग्नुपर्छ भने नियामक निकाय सरकारले पनि सुविधा दिने यसको विकास र विस्तार गर्ने हिसाबले हेरिदिनुपर्छ ।

यसअघि कार्यबिधीको कुरा आएको थियो नि त्यसमा के भईरहेको छ ?

कार्यबिधी यसै थन्कीरहेको छ । व्यवसायीहरुले बुझाउन नसकेको हो कि र सरकार ‘कन्भिन्स’ हुने अवस्थामा देखिएको छैन । पहिले केही हुन खोजेको थियो । तर बीचमा केही स्वार्थका कारण त्यो त्यसै टर्यो । व्यवसायिक र नियामक निकाय दुवैतर्फ स्वार्थ देखियो र बीचमा यो यसै थन्किएको छ । सरकारको तर्फबाट सकारात्मक भूमिका र व्यवसायीको तर्फबाट इमान्दरीताको प्रतिबद्धता खाँचो देखिएको छ ।

नेपालमा विवाहको सिजन सुरु भयो, अब सुनको भाउ कता जाने देखिन्छ ?

अहिले सुनको भाउ त केही दिन ओरालो लाग्ने देखिन्छ । किनभने अमेरिकन इकोनोमी राम्रै भइरहेको छ । तर युरोपियन यूनियनमा ब्रेक्जिटको जुन कुरा आईरहेको छ, तेलको भण्डार भएका देशहरु साउदी अरेबीया, अन्य गल्फ देशहरु र अमेरिकाबीच विवाद उत्पन्न भईरहेको छ । त्यसले गर्दा मूल्य धेरै कम हुने सम्भावना त देखिन्न । बढेर ६० हजार ४ सयमा पुगेको सुन अहिले ५८ हजार हाराहारीमा किनबेच भइरहेको छ । अलि अलि २÷३ हजार तलमाथि हुनु स्वभाविक हो । यसबाट ५ सय वा एक हजारको तलमाथि हुनसक्छ । तर दिर्घकालिनरुपमा धेरै घट्ने सम्भावना अन्तर्राष्ट्रिय बजारले देखाएको छैन ।

संधै सुनको माग मात्रै गरिरहनुहुन्थ्यो, अहिले सुनको माग पुरा भयो तपाईहरुको ?

छैन, अहिले सिजनल माग पुरा गराउन भन्दै राष्ट्र बैंकले मंसिर मसान्तसम्मको लागि पाँच किलोसम्म बढाइदिएको छ । तर वास्तविकारुपमा मंसिरमा विवाहको लगनै छैन, एउटैमात्र लगन छ । यसपाली विवाहको लगन माघ र फागुनमा रैछ । त्यसको निमित्त अहिले जुन प्रावधान निस्किएको छ । मंसिरमसान्तसम्म मात्र सिमित भएको छ । त्यतिबेलाको माग के होला भन्ने हामी चिन्तामा छौं ।

त्यतिबेलाको माग कति रहन्छ ?

त्यतिबेलाको माग ५० किलो नाघ्ने हाम्रो अनुमान छ । अहिलेको तुनला गर्ने हो भने नेपालमा भएको जनसंख्या वृद्धि, व्यवसाय, पसल पनि बढेको हिसाबले २० किलोको प्राबधान मंसिरसम्म २५ किलोमा छ, त्यो अपर्याप्त हुन्छ । यसैले त्यो समयमा कामलाई ठिक्क हिसाबले धान्न ५० किलो नभइ पुग्दैन ।

मंसिर मसान्तसम्मका लागि २५ किलो नै काफी छ । यसपाली तीजताका धेरै कष्ट भएको थियो । माग बढी भयो आपूर्तिले पुगेन । हामीले बढाउन माग गरेका थियौं । त्यतिबेला सरकारले ढिलासुस्ती गर्यो । त्यतिबेला कच्चापदार्थको अभावले हामीले अर्डर लिन पनि छोड्नुपर्यो । यदि अहिलेको नै अवस्था रह्रयो भने तीजको जस्तै अवस्था विवाहको सिजनमा पनि कच्चापदार्थको अभावले सुनको अर्डर नै लिन नसक्ने अवस्था आउँछ । यस्तै अवस्था रहेमा यसपाली विवाहको सिजनमा बजारमा सुनको अभाव हुने देखिन्छ । उपभोक्ताको माग भएपनि आपूर्ति गर्नसक्ने अवस्था देखिन्न । त्यसकारण महासंघका साथीहरुलाई अहिलेदेखि नै सरकारसँग लबिङ गर्नका लागि मैले निर्देशन दिएको छु । सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन भनेको छु । हैन भने समस्या पर्छ । मान्छेले काम गर्न सकिंदैन । आम उपभोक्तालाई पैसा तिरेर सुन किन्न विवाह र सामाजिक रितिरिवाज पनि धान्न नसक्ने अवस्था आउँछ । त्यो कुरा नियामक निकायले गम्भिररुपले हेरिदिनुपर्यो । त्यो बेला माग पूरा गर्न ५० किलो नै चाहिन्छ ।

तपाईहरु राष्ट्र बैंकसँग पनि छलफलमा बसिरहनुहुन्छ, के भन्छ राष्ट्र बैंकले ?

त्यति ‘कन्भिन्स’ भएको नै देखिन्न । उहाँहरुले बढी–बढी माग गरेको मात्रै होला भन्ने जवाफ आउँछ । उहाँहरुको तर्कसँगत कुरा नै आएको छैन । हाम्रो तथ्याँक विश्वास नगर्ने हो अनुसन्धान गरेर राष्ट्र बैंकले सत्यतथ्य बुझ्नुपर्यो । व्यवसायीले पनि वस्तुस्थिति बुझाउन सक्नुपर्यो ।

त्यसो त सरकारको ध्यानाकर्षण गराउनुपर्यो नि ?

सरकारको निर्यात व्यापारमा जोड दिनुपर्यो भन्ने भनाई आउँछ । म अहिलेपनि भन्छु निर्यात व्यवापार गर्नुपर्ने अवश्य पनि हो । हाम्रो उदेश्य आन्तरिक बजारमै सिमित रहने भन्ने हुँदै होइन । निर्यात व्यापारमा जानलाई कमसेकम पहिले आन्तरिक बजार त व्यवस्थित हुनपर्यो । ‘पहिले पेटभरी खाना खान पाइएन भने अरु के कुरामा ध्यान दिन सकिन्छ र ।’ अर्काे कुरा कुनै काम गर्दा पहिले लगानी गर्नु आवश्यक हुन्छ । तर यहाँ लगानी कता हो कता पहिले नै प्रतिफल खोजिनाले समस्या छ । सरकारले लगानी गरिदिने र त्यसपछि प्रतिफल हेर्नुपर्छ । यदि त्यसपछि नि प्रतिफल आएन भने अनि सरकारले नियन्त्रण गर्नुपर्छ ।

बजारमा सुन तस्करी चाहिं किन भइरहेको होला ?

संसारमा के देखिन्छ भने अभाव भएमा तस्करी हुनसक्छ । जसरी पानीले आफ्नो लेबल आफैं मिलाउँछ, सुन भनेको नि पानी नै हो । एकातिर अभाव र अर्काेतिर जुनसुकै बाटोबाट आएको भएपनि सुन पाईएको छ । त्यसैले नि त्यहाँ अबैध कारोबारमा केही तत्वहरु सक्रिय छन् । त्यो हुन दिनुभएन । त्यतातिर सरकारले ध्यान दिनुपर्यो । हामीले जरा काट्नुपर्छ, पात काटेर मात्रै के काम ? आपूर्ति पर्याप्त भएमा धेरै हदमा तस्करीको सुन पनि रोकिन्छ भन्ने हाम्रो ठम्याइ छ ।

प्रकाशित मितिः २०७५ मंसिर ८

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob