scheduleमगलवार पौष ३ गते, २०७५

‘किसुनजीले झण्डै गालामा हिर्काएका, तै हात मात्रै उठाए’

चिजकुमार श्रेष्ठ

बिपी कोइरालाको ‘प्रत्येक नेपालीको १५ वर्ष भित्रमा मेरो जस्तै एउटा घर होस्, जग्गा होस्, गाई होस्, बच्चाबच्ची पढ्न स्कूल होस्, औषधिमूलो गर्न सकियोस्’ भन्ने भनाईले मलाई राजनीतिमा दृढतापूर्वक यात्रा अगाडि बढाउन सघायो । मेरो राजनीति कृष्णप्रसाद भट्टराईको छत्रछाँयामा हुर्कियो । त्यतिबेला राजनीति भनेकै त्यागको पर्याय थियो । किसुनजीको नाम लिएपछि सादगी र सदाचारको लम्बेतान् कहानी भन्नै पर्दैन ।

महात्मा गान्धी भन्नुहुन्थ्यो- मेरो जीवन नै मेरो सन्देश हो । उहाँको तात्पर्य हो- सन्देश बोलीले भन्दा बढी व्यवहारले दिन्छ । गान्धीको जीवनबाट सिक्ने नै त्यही हो । हाम्रा नेताहरु आदर्शका हजार पाठ पठाउँछन् । तर, व्यवहार ? हामीले देखे भोगेकै छौं । के बोल्छन् ? के गर्छन् ? हामी सबै अवाक भइसकेका छौं । समाजवादको नारा दिन्छन्, शिक्षा र स्वास्थ्यमा निजीकरण गर्छन् । सदाचारको कुरा गर्छन्, राजनीतिक प्रणालीको मेरुदण्ड नै भ्रष्टाचारमय छ । राष्ट्रवादी भन्छन्, राष्ट्रिय गौरवको योजना बुढीगण्डकी अँध्यारो कोठामा सम्झौता गरेर विदेशीलाई बनाउन दिन्छन् ।

म किसुनजीको कुरा गर्दै थिएँ । मेरो जीवनमा उहाँसँगका केही प्रसंग र सिकेका पाठहरुले अहिलेसम्म मार्गदर्शन गरिरहेका छन् ।


पञ्चायतको निरङ्कुश अँध्यारोलाई छलेर राजनीतिमा क्रियाशील भएर लाग्नु अप्ठ्यारो थियो । त्यसमाथि आफ्नो पिताजीमा कांग्रेसप्रतिको नकारात्मक धारणा थियो । आफ्नै भिनाजु जिल्ला पञ्चायतको सभापति थिए । सदरमुकामको बीच अर्थात् जिल्ला प्रशासनको नाकैमुनि घर तथा पसल थियो ।

सबै पृष्ठभूमिलाई आज पछाडि फर्किएर हेर्दा राजनीतिमा केही गरिएछ जस्तो लाग्छ । जोखिमका पहाडहरू छिचोलेर रोपेको कांग्रेसको बिऊ आजसम्मै सप्रिरहेको छ जस्तो लाग्छ । आफ्नै हाङ्गा बिङ्गाको सेप लागेर बिग्रनु बाहेक त्यहाँको सङ्गठनलाई बाहिरको घुन पुत्लाले छोएको छैन । आफू उभिएको माटोलाई छोएर आज यी स्मृतिका पन्नाहरू पल्टाउँदा पनि अपार हर्षले मन सन्तोषको उचाईंमा पुगेजस्तो भएर फुलिरहन्छ ।

प्रजातन्त्रको पुनर्स्थापनापछि चुनाव भयो । म धादिङको क्षेत्र नं. २ बाट उम्मेदवार भएँ । पार्टीभित्रैको अन्तर्घातका कारण चुनावमा पराजय भोग्नुपर्‍यो । पार्टीभित्र गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्नेहरुको बीचमा दूरी थियो । म भट्टराईजीको अनुयायी भएँ । मैले त्यसैको सजायँ पाएँ । उहाँ स्वयम्ले पनि कतिधेरै अपमानित हुनुपर्‍यो, हामीले देखे/सुनेकै कुरा हो ।

०५१ को निर्वाचनमा म २ नं. क्षेत्रबाटै उठ्ने कुरा थियो । अन्तिम समयमा गिरिजाबाबुले मलाई ३ नम्बर क्षेत्रमा पार्नुभएछ । मैले टिकट बुझिनँ, विरोध जनाएँ । किसुनजीलाई भनेँ । ‘पहिले मलाई किन सतर्क गराइनस्’ भनेर झण्डै गालामा हिर्काएको । तै हात ताके मात्रै । वहाँले सच्याइदिन तारानाथ रानाभाटलाई भनिदिन्छु भन्नुभयो । तर क्षेत्र नं. २ को टिकट हरि अधिकारीले लगिसकेको हुँदा त्यो टिकट फिर्ता गर्नुपर्ने कुरा आयो । हरि अधिकारीसँग भेट भएन ।

भोलिपल्ट तारानाथ रानाभाटलाई दिउँसो १० बजे भेट गरें अफिसमा । दिउँसो आउनु भन्नु भएकोले म फर्कें । दिउँसो जाँदा उनी त पोखरा गइसकेछन् । त्यसबखत उहाँ पार्टीमा महामन्त्री हुनुहुन्थ्यो । मलाई झुक्याएका रहेछन्, पछि बुझ्दा उनको पनि मिलोमतो रहेछ जस्तो लाग्यो ।

त्यसको भोलिपल्ट किसुनजीले मलाई सम्झाउनु भयो । उहाँले भन्नुभयो, ‘यो राजनीति हो । राजनीतिमा चुनाव जित्नु वा हार्नु मात्रै ठूलो हुँदैन । तिमी आफ्नो विचार लिएर जाऊ, आफ्नो एजेन्डा लिएर जाऊ । प्रजातन्त्रमा एक/दुईवटा चुनाव जित्नु वा हार्नु ठूलो कुरा होइन ।’

रामचन्द्र पौडेल (तत्कालीन स्थानीय विकास मन्त्री) साथमा हुनुहुन्थ्यो । वहाँलाई किसुनजीले ‘चिजकुमारलाई निर्वाचनमा राम्रोसँग सहयोग गर्नु’ भन्दै मलाई चुनावमा जान कर गर्नुभयो । अन्तिममा म चुनाव लड्न तयार भएँ, टिकट बुझेँ ।

अन्ततः म ३ नं. नै गएँ । २ नं. क्षेत्रमा मेरो घर थियो । पहिचान थियो । स्थानीय निर्वाचनमा त्यहाँको १५ वटा गाविसमा मैले १२ वटामा चुनाव जिताएको थिएँ । तर, राजनीतिक नैतिकता र आदर्श पछ्याउँदै म ३ मा नै गएँ । जहाँ हार निश्चित नै थियो ।

तर, अहिले हेर्नुस् । चुनाव जित्नै पर्छ भन्ने छ । केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले वामदेव गौतमलाई जिताउन हुने भनिएको काठमाडौंको उपनिर्वाचनमा ‘जित्ने चुनाव मात्र गर्ने हो, नजित्ने चुनाव हुँदैन’ भन्नुभयो । योभन्दा अराजनीतिक र अधिनायकवादी सोच के होला ? तर पनि हामीले आदर्श मानिरहेकै छौं ।

चुनाव जित्न अकूत खर्च गर्नुपर्ने र चुनाव जितेपछि त्यो लगानी उठाउनै पर्ने दुश्चक्रमा देश फसेको छ । यसको जग पहिलेदेखि नै बसेको हो तर, अहिले नाङ्गोरुपमा मौलाएको छ ।

त्यतिबेला किसुनजीलाई देशले आदर्श मान्न सकेन । गणेशमानजीलाई आदर्श मान्न सकेन । आदर्श नमान्नुपर्नेलाई मानियो । देशले अहिलेसम्म सही बाटो पकड्न सकेको छैन ।

राजनीतिक नैतिकताको कुरा साना साना कामबाट सुरु हुन्छ न कि ठूला ठूला अर्ति र उपदेशबाट । यो व्यक्तिबाट सुरु हुन्छ न कि ठूलो ठूलो भिडबाट । लोकतन्त्र भनेको भिडतन्त्र होइन । भिडले जे भन्दा ताली बज्छ, त्यही बोलेर नेता हुने कुसंस्कृति हाम्रोमा मौलाएको छ ।


लोकतन्त्र भनेको कार्यकर्तातन्त्र पनि होइन । राजनीतिक परिवर्तनका खातिर भएको अतिराजनीतिकरण हाम्रोमा समस्या भइरहेको छ । केही पार्टीका सीमित कार्यकर्ताहरु राजनीतिक बजारमा बिचौलियाको भूमिकामा छन् । उनीहरुले सिंगो राष्ट्रलाई लुट्छन् । कार्यकर्ताहरुमध्ये पनि केही बलिया बाङ्गाहरु ऐंजेरुको भूमिकामा छन् । यस्तो अवस्थामा राजनीतिक नैतिकताको कुरा गर्नेहरु अल्पमतमा पर्छन् । कमजोर हुन्छन् । हेर्दा केही नैतिकताको कुरा गर्ने नेताहरु कमजोर भएको जस्तो लाग्ला । तर, यो भयानक अवस्था हो किनकी यसबाट सिंगो देश नै कमजोर भइरहेको हुन्छ ।

राजनीतिक नैतिकता भन्ने कुरा के ठिक के बेठिक छुट्याएर ठिकको पक्षमा उभिने कुराबाट सुरु हुन्छ । कार्यकर्तातन्त्रमा त कार्यकर्ताहरु आदेशपालक हुन्छन् । उनीहरु अनुशासित हुँदैनन् ।

आदेशपालकहरुले आफ्नो मष्तिष्क अर्थात् विवेकको प्रयोग गर्दैनन् । उनीहरुले त केवल आदेश मान्छन् । यो देश केही यस्तै आदेशपालकहरुको बलमा केही नेताहरुद्वारा शासित छ । यहाँ कुनै पार्टीले पनि शासन गरेको छैन । पार्टी भन्दा त्यसका गुटहरु बलिया छन्, गुटभन्दा गुटका नेताहरु । अनि लोकतन्त्र भन्ने चिज कहाँ भेटिएला ?

किसुनजीहरुलाई सम्झेर अहिलेको राजनीतिको विश्लेषण गर्दा आँखा रसाउँछन् । कस्तो बिडम्बना छ यहाँ । यहाँ त लोकतन्त्रको नारा लगाउनेबाटै लोकतन्त्र बलात्कृत छ । राजनीतिक नैतिकता अपहरित छ ।

विधिगत र नीतिगत नैतिकताको समष्टि हो राजनीतिक नैतिकता । न आज नीतिको सर्वोच्चता छ न त विधिको । बिचौलियाको भूमिकामा देखिएका सीमित सम्भ्रान्तहरुको मुट्ठीभित्र निसास्सिइरहेको छ यो आजकल ।

आफ्नो लागि सम्मानले हाम्रो नैतिकतालाई मार्गनिर्देश गर्छ भने अरुप्रतिको सम्मानले हाम्रो शिष्टाचारलाई मार्गनिर्देश गर्छ । मलाई कहिलेकाँही शक्तिशाली प्रश्नहरुले लखेट्छन्- के हाम्रो देशका नेताहरु आफूलाई नै सम्मान गर्छन् ? आफ्नो बोलीलाई सम्मान गर्न सक्छन् ?

भनिन्छ- संसारलाई ढाँट्न सके पनि आफूलाई ढाँट्न सकिन्नँ । यसरी नाप्दा त हाम्रा नेताहरु आफूले आफूलाई नै पत्याउँदैनन् । किनकी उनीहरु हजार झुटहरुको अदृश्य जेलमा छन् । उनीहरु आफैंसँग हारिरहेका हुन्छन् । तर, बिडम्बना ! नैतिकताको धरातल छाडेका नेताहरुका लागि ज्यान फाल्न तयार छन् यहाँ कार्यकर्ताहरु । लाग्छ, यो देश केही कार्यकर्ताहरुले चलाइरहेका छन् । जहाँ कार्यकर्ताको हालीमुहाली हुन्छ, त्यहाँ नागरिकको भूमिका नै नहुने पो हो कि ?

राजनीतिमा नैतिकताको प्रश्नसँग आर्थिक सवाल पनि जोडिन्छन् । राजनीति दुई प्रकारबाट गरिँदो रहेछ । कोही राजनीतिलाई नै पेशा बनाएर आर्थिक समस्या समाधान गर्ने र अर्कोथरी आफूसँग भएको पैसा सकेर राजनीति गर्ने गर्छन् । अर्थात् कसैको राजनीति गरेपछि आर्थिक सुधार हुँदै जाने, कसैको राजनीति गरेपछि आर्थिक हैसियत बिग्रँदै जाने ।

मैले कहिल्यै पनि राजनीतिबाट आर्थिक सुधार गर्ने सोच बनाइनँ । त्यसैले पेशा पनि साथसाथै लैजानु परेको थियो । पेशा व्यवसायबाट कमाएको पैसा राजनीतिमा खर्चिन्थेँ, पार्टीका साथीभाइहरूलाई सहयोग पुर्‍याउथेँ । त्यसैले होला मलाई राजनीतिकर्मी मात्र नभई व्यवसायीको रूपमा पनि चित्रण गर्दछन् । विना व्यवसाय आर्थिक स्रोत जुट्दैन ।

मेरो परिवारको भरणपोषणको साथसाथै राजनीति गर्नको लागि आधार हुँदैनथ्यो । विरोधका लागि विरोध गर्नेहरूले मलाई ठेकेदार भन्न रुचाउँथे । मलाई भने ठेकेदार भनेको पटक्कै मन पर्दैनथ्यो । त्यसैले यो पेशा छोड्नु नै मैले उत्तम ठानेँ र मेरो ‘क’ वर्गको ठेकेदारी इजाजतपत्र नै खारेज गरिदिएँ ।

मैले आजसम्म कुनै पनि नेतासँग खर्चको लागि पैसा मागेको छैन । हात थापेको छैन । कुनै एक कार्यक्रम गर्न धेरै नेतासँग खर्च जुटाएर नाफा गर्ने उद्देश्य मैले कहिल्यै लिइनँ । ‘मसँग खर्च छैन, बेखर्ची भइयो’ भन्दै नेताको घरदैलो चहारेको भए नेताको नजिक पनि भइने रहेछ, पैसा पनि पाइँदो रहेछ । अनि नेताले पनि यो मेरो पक्का मानिस भन्ने सोच्दा रहेछन् तर, यसो चाहिँ गर्न सकिएन । यसै कारण कुनै पनि नेताको नजिकको प्रिय पात्र म बन्न सकिनँ । यसैमा मलाई सन्तोष छ । मैले आफ्नो स्वाभिमानलाई कहिल्यै बन्धक बनाइनँ ।

आन्दोलन, संघर्ष, समर्पणमा मैले बिताएका ती दिनहरू प्रजातन्त्रकै लागि निष्ठामय त्यागका क्षणहरू थिए । राजनीतिमा क्रियाशील बन्दै गर्दा म आफूभित्र लाभको पद धारणा गर्ने कुनै लोभ पलाएन । कसैले संगठनमा आफूभन्दा माथि पुगेर केही गर्ला कि भन्ने इर्ष्याको तापले पनि म कहिल्यै जलिनँ । राजनीति त मेरो जीवनसँग गाँसिएको प्रथम प्रेमिका जस्तै बन्यो, जसलाई मैले कहिल्यै त्याग्न सकिनँ र मैले निरन्तरता दिई नै रहेँ । त्यहाँबाट केही लिएको छैन । यसैमा मेरो सन्तोष र गौरव पनि छ ।

धादिङमा सम्पन्न पछिल्लो नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा मलाई प्रमुख अतिथिको रुपमा बोलाइयो । म सहभागी पनि भएँ र अधिवेशनको उद्घाटन पनि गरेँ । उद्घाटन मन्तव्यमा मैले अबबाट कुनै पनि पदमा दावी नगर्ने प्रतिवद्धता व्यक्त गरेँ । अहिले हाम्रोमा राजनीति गर्न पद नै चाहिन्छ भन्ने छ । समाजको सेवा गर्न कुनै पनि पदमा बस्नुपर्दैन । मेरो आशय यही हो ।

नैतिकता, समानुभूति, मूल्य-मान्यता, दया जस्ता कुराहरु विद्यालयमा वा राजनीतिक दलको प्रशिक्षण कार्यक्रममा पढाइने कुरो होइन । यो त कामले पढाउने कुरा हो । चुरोट खाने मानिसले अरुलाई ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर पढाएर कसले पत्याउँछ ? यसकारण, रअसल राजनीति गर्न राजनीतिकर्मी आफैं नैतिकवान हुनुपर्छ ।

जीवनका अन्तिम घडीहरुमा मैले केही प्रतिवद्धता गरेको छु । सामान्य नागरिकको रुपमा समाज सेवामा क्रियाशील हुन चाहन्छु । आफ्नै जीवनको गहिरो र निर्मम समीक्षा गरेर अनुभूत गरिएका कमजोरीहरु सच्याउने र ‘रियल जीवन’का भोगाईहरुलाई ‘रिल’मा उतार्न चलचित्र क्षेत्रतिर पनि क्रियाशील हुने निर्णय गरेर यसैमा क्रियाशील भइरहेछु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob