scheduleशुक्रवार भाद्र ६ गते, २०७६

युवती सामूहिक बलात्कारका अभियुक्तलाई पाँच वर्ष कैद

सांकेतिक तस्बिर

नानीमैया कटवाल/अरुणकुमार यादव/सप्तरी, १२ मङ्सिर । बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले बलात्कार गरेको कसुरमा १७ र १४ वर्षीय दुई जनालाई साढे दुई वर्ष र सामूहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष गरी पाँच वर्ष कैद सजायको फैसला गरेको हो । आरोपितहरु बालक रहेकाले बालसुधारगृहमा राखिने न्यायाधीश ढुङ्गानाले बताए ।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ रूपनगरस्थित विष्णु सामुदायिक वनभित्र ०७४ साल असार १७ गते आरोपितहरुले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले सोही दिन आरोपितहरूलाई पक्राउ गरी कारवाही थालेको थियो ।

पक्राउ परेपछि दुवै बालकले गाई चराउन जङ्गल गएकी १८ वर्षीया युवतीले नै फोन गरी बोलाएर यौनसम्पर्क गर्न लगाएको र उनकै मोबाइलबाट भिडिओ खिच्न लगाएको बताउँदै आएका छन् । भिडिओ सार्वजनिक भएपछि पीडितकी आमाले आफूहरुमाथि झुटा उजुरी दिएको दोषीले बताएका छन् ।

त्यसैगरी, एकल महिला हत्या आरोपमा पक्राउ परेका उनकै दुई साथी आज धरौटी राखी तारेखमा रिहा भएका छन् ।

राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालयसँग जोडिएकै घरमा एक्लै बस्दै आएकी आशादेवी देवको हत्या आरोपमा एक महीनाअघि पक्राउ परेकी उनकै छिमेकी ३० वर्षीया चनरदेवी मेहतर ३५ हजार धरौटीमा र ३५ वर्षीया मुन्नीदेवी साह २५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा उनीहरु धरौटी राखी तारेखमा रिहा भए भने हत्या घटनामा प्रत्यक्ष संलग्न रहेका राजविराज नगरपालिका–६ का ३२ वर्षीय शङ्कर राउत र २६ वर्षीय सुरज राउत पुर्पक्षका लागि कारागारमा थुनामा परेका छन् ।

इँट्टा टाउकामा प्रहार गरी हत्या गरेको अवस्थामा देवको रक्ताम्य शव उनकै कोठाको ओछ्यानमा दशैँको टीकाका दिन फेला परेपछि प्रहरीले चारै जनालाई गिरफ्तार गरी गत कात्तिक ११ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो । रिसिइवीकै कारण मुन्नीको निर्देशनमा चनरदेवीले शङ्कर र सुरजलाई हत्या गर्न पठाएको प्रहरीले जनाएको थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage