scheduleमगलवार पौष ३ गते, २०७५

सरकारविरुद्ध भट्टराई र मिश्रको ‘कडा’ विरोध

काठमाडौं, १४ मंसिर । नेपालमा जारी एशिया प्यासिफिक समिटमा नेपाल सरकारको भूमिकाबारे व्यापक आलोचना भइरहेको छ । यही आलोचना गर्नेहरुको लाइनमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि उभिएका छन् । नेता द्वयले शुक्रबार सामाजिक सञ्जालमार्फत् यस्तो कडा टिप्पणी गरेका हुन् ।

डा. बाबुराम भट्टराईले समिटमा सरकारको भूमिकालाई नैतिक दरिद्रता भन्दै कडा टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘त्यसै त विश्व रंगमंचमा गुम्दैगएको नेपालको छवी ‘राष्ट्रवाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुर्‍याउने भए ।’

उनी अगाडि लेख्छन्, ‘आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न। दुई दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है ।’

त्यसैगरी पूर्वपत्रकार समेत रहेका विवेकशील साझाका संयोजक मिश्रले पनि कडा शब्दमा सरकारको हैसियतमाथि प्रश्न उठाएका छन् ।

उनी लेख्छन्-

राजनीति जानेका राजकाज नजानेकाहरूले बारम्बार गल्ती गरिरहन्छन् ।

१. कुनै एक अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरले मुलुकको सबै निकायलाई सञ्चालन गरिदिएझैं देखियो — पूर्वराजदूत दिनेश भट्टराई। के सरकारको स्तर यही हो ?

२. धर्मको विषय यति पेचिलो बनिरहेको समयमा ईशाइ धर्म प्रचारक भनिएको संस्थाको कार्यक्रममा सरकार स्वयंको यति ठूलो संलग्नता किन ? त्यो पनि आमरूपमा विरोध हुँदाहुँदै।

३. सन्सारमा सरकार प्रमुखहरूको औपचारिक भ्रमणमा विमानस्थलमा स्वागत गर्न सामान्यतया मन्त्री/राज्यमन्त्री जान्छन्। गैर सरकारी संस्थाको निम्तामा आएका ‘प्रधानमन्त्री सरह’का नेताको भ्रमणमा समेत देशका उपप्रधानमन्त्री आफैं विमानस्थल पुग्नु यो कस्तो कुटनीतिक मर्यादा हो !

४. देशको भ्रमणमा आएका उच्च पदस्थ पाहुनाको सुरक्षा व्यवस्था गर्नु सरकारको जिम्मेवारी हो तर गैर सरकारी संस्थाको निम्तामा पाहुना आउँदा जोर-बिजोर प्रणाली लागू गरेर जनतालाई सास्ती दिनु अधिकारीहरूको मुर्खता हो।

विकशित देशका ट्र्याफिक व्यवस्थापन निकायहरूसँग सिके हुन्छ, उच्च पदस्थहरूको भ्रमणमा अत्यन्तै व्यस्त ट्र्याफिक हुने ठाउँमा पनि कसरी चुस्त-दुरूस्त ढंगबाट ट्र्याफिक व्यवस्थापन गरिन्छ भन्ने कुरा।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob