scheduleमगलवार पौष ३ गते, २०७५

दुई हजार नदिएकै झोकमा कुटपिट गरी हत्या

रुकुम, २० मंसिर । रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् ।

व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको  दुई हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा दुई हजार नदिएकै झोकमा विकले सार्कीलाई कुटपिट गरेको खुलेको प्रमुख नायब उपरीक्षक खड्काले बताए ।

सार्कीको उपचारका क्रममा गत मङ्सिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मङ्सिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला अदालतबाट म्याद थपी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob