scheduleमगलवार पौष ३ गते, २०७५

संघीयताबारे डा. भट्टराईको धारणा– बच्चाले फोहोर गरे फोहोर फालौं, बच्चा नफालौं

पार्टी गोत्र होइन, विचारको वाहक हो

ओखलढुंगा, २० मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपालमा संघीयता भर्खरै अभ्यास भएकोले यसको सफल कार्यान्वयनमा जोड दिएका  छन् ।

बिहिबार खोटाङको हलेसी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘साना नानीबाबुले फोहोर गर्दा फोहोर फाल्ने हो, बच्चा नै फाल्ने मूर्खता गर्ने होइन,’ उनले भने, ‘संघीयता र अधिकारसम्पन्न स्थानीय तह भर्खर जन्मिएको बच्चा हो, यसमा फोहोर हुनसक्छन्, घाउ लाग्न सक्छ, सफा गर्दै, उपचार गर्दै यसलाई उन्नत बनाउनुपर्छ ।’

संघीयताको सफल अभ्यास गर्ने काम स्थानीय जनप्रतिनिधिको काँधमा आएको भन्दै उनले यसको महत्वपूर्ण अभिभारा नभुल्न जनप्रतिनिधिलाई आह्वान गरे । ‘अभ्यासक्रममा देखिएका सामान्य कमजोरीहरुलाई देखाएर संघीयताविरोधीहरुले यसलाई नै फाल्न गर्ने षड्यन्त्रहरुलाई तपाईंहरुले नै चिर्नुपर्छ,’ उनले बताए ।

उनले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने संघीयताको विकृत अभ्यास हुँदा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुग्ने सम्भावना बढिरहेको भन्दै जनप्रतिनिधिहरुलाई जनताप्रति पूर्ण जिम्मेवार भएर काम गर्न आग्रह गरे । ‘सिंहदरबारको राम्रो कुरा सिक्नुहोस्, नराम्रो कुरा नसिक्नुहोस्’

लोकतन्त्रको लागि लामो लडाईं लड्यौं । यी सबै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग भनेको स्थानीय तह हो ।

एउटै भाषा, एउटै भेष होइन, सबै जातजाति, भाषा र धर्मको साझा नेपाल बनाउन संघीयता ल्याइएको उनले स्पष्ट पारे । नयाँ संविधानले समानुपातिक र समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको भन्दै दलित, महिला, जनजात सबैको प्रतिनिधित्व गराएर समावेशी लोकतन्त्र ल्याएको उनले बताए । नेपाली लोकतन्त्र अहिले विश्वमा प्रचलनमा आएकामा मध्ये उन्नत लोकतन्त्र भएको उनको बुझाई थियो ।

नेपालको संविधानलाई संशोधन गरेर प्रतिनिधिले प्रधानमन्त्री छान्नेभन्दा जनताले प्रत्यक्ष राष्ट्रप्रमुख छान्ने व्यवस्था ल्याउनुपर्ने उनको धारणा थियो ।

संघीयता भनेको पञ्चायतमा अभ्यास गरिएको विकेन्द्रीकरण मात्रै नभएको उनले बताए । ‘शासकहरुले अधिकार केन्द्रमा राखेर तल केही निगाहमा दिने व्यवस्था थियो त्यो, अहिले त अधिकारकै प्रत्यायोजन हो,’ उनले भने, ‘उक्त अधिकारलाई जनतामै फर्काउनु र जाति, भाषा, भूगोलको विविधतालाई सम्बोधन गर्दै संघीयताको मर्म हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक डा. भट्टराईले जनप्रतिनिधिलाई उत्पीडनमा परेका नागरिकको अधिकार र हितको पक्षमा लाग्न आग्रह गरे । उनले संघीयतालाई नचाहनेहरुको नेतृत्वमा संघीयताको कार्यान्वयनको अभिभारा पुगेको भन्दै जनप्रतिनिधिलाई सचेत रहन आग्रह गरे ।

नगरसभामा उपस्थित जनप्रतिनिधिले स्थानीय तहदेखि नै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकासहितको पूर्ण सत्ताको अभ्यासको अधिकार पाए पनि उक्त अधिकार स्थानीय तहबाट खोसिने भय पैदा भएको भन्दै असन्तुष्टि जनाए ।

पार्टी गोत्र होइन, विचारको वाहक हो

संयोजक डा. भट्टराईले बहुदलको अभ्यास गरेको धेरै नभएकोले नेपालमा राजनीतिक पार्टीलाई विचारको वाहकभन्दा धर्म, जाति र गोत्रजस्तो मान्ने परम्परा फेरिनुपर्ने बताए । ‘पार्टी भनेको विचारको वाहक हो, यो कुनै धर्म, जाति वा गोत्र होइन,’ उनले भने, ‘हजुरबा कांग्रेस वा कम्युनिष्ट भएकोले म पनि यस्तो भन्ने पिछडिएको परम्परा फेर्नुपर्छ ।’

स्थानीय तहमा विकास र समृद्धिको काममा विचारका आधारमा एकले अर्काको खुट्टा तान्नुभन्दा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । संविधान निर्माणको क्रममा स्थानीय तहमा गैरदलीय आधारमा निर्वाचन हुनुपर्ने आफ्नो प्रस्ताव पारित हुन नसकेको स्मरण गरे ।

बिहिबार बिहान डा. भट्टराईले चर्चित त्रिधार्मिक स्थल हलेसीको अवलोनात्मक भ्रमण गरे । नेपालको एक प्रसिद्ध हिन्दू, बौद्ध र किराँतहरुको तीर्थस्थल हो । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवम् विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले झकिझाउ हलेसी धाममा विशेषत महादेव, बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा रहेका छन् । धाममा आयोजित स्वागत समारोहमा उपस्थित हजारौं नागरिकलाई सम्बोधन गर्दै हलेसी धामले धार्मिक सहिष्णुताको महत्वपूर्ण सन्देश दिइरहेको भन्दै यसको विकासमा आफूले यथासक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob