scheduleबुधवार भाद्र ४ गते, २०७६

तीन कक्षा पास गरी तीनमै

चितवन, २९ मंसिर । प्रदीप चेपाङले तीन कक्षा पास गरिसके तर चार कक्षा पुगेका छैनन् । अहिले पनि तीन कक्षामै पढ्छन् । पुरानै किताब सुमसुम्याउँछन् ।

इच्छाकामना गाउँपालिका २, भोटेगाउँ । यहाँको राष्ट्रिय आधारभूत विद्यालयबाट ३ कक्षा पास गर्ने कमैले उपल्लो कक्षा पढ्न पाउँछन् । पढ्नै परे २ घन्टा पैदल धाउनुपर्छ । खोला तर्नुपर्छ । जंगल छिचोल्नुपर्छ । प्रदीपका साथीले स्कुल टाढा भएकैले पढाइ छाडे । उनको चाहिँ रत्तिभर मोह घटेको छैन । त्यसैले बेला–बेला पुरानै स्कुल छिर्छन् । पुरानै कक्षा पस्छन् । अनि पुरानै किताब पढ्छन् ।

‘नआऊ भन्न भएन, आउँछन् पुरानै कुरा पढ्छन् । यो यहाँको बाध्यता हो,’ प्रधानाध्यापक नीमबहादुर बुढाथोकीले भने । भोटेगाउँको स्कुलमा शिशुदेखि कक्षा ३ सम्म पढाइ हुन्छ । कक्षा ४ पढाउने विद्यालय नजिक छैन । काउलेको जनप्रिय मावि पुग्नुपर्छ । ‘यहाँ भोटेगाउँका मात्रै हैन हपनी, मायाटार, हुर्केस, बाँसपुर, मैतेस, फैदल, थापाथली र धादिङको कोटबाट विद्यार्थी आउँछन्,’ जनप्रियका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले भने ।

यी गाउँ विद्यालयबाट कम्तीमा सवा घण्टादेखि २ घण्टा टाढा छ ।

स्थानीय जनप्रतिनिधि दुर्गमका यी विद्यार्थीको समस्यासँगै राम्रै परिचित छन् । उनीहरूलाई सहजै विद्यालय पुर्‍याउने प्रभावकारी योजना भने बनाइसकेका छैनन् ।

‘टाढाका विद्यार्थीलाई पढ्न समस्या नहोस् भनेर आवासीय स्कुल खोल्न लागेका छौं,’ इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले भनिन्, ‘विद्यार्थी संख्या, घरधुरी सबै विचार गरी कक्षा र शिक्षक दरबन्दी थप्ने तयारी गरेका छौं ।’ टाढाका विद्यार्थीलाई सुविधा दिन छात्रावास पनि बनाउने सोच रहेको उनले बताइन् । कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage