scheduleसोमवार भाद्र २ गते, २०७६

धर्म प्रचारमा बालबालिका प्रयोग


काभ्रेपलाञ्चोक, ७ पुस । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ ।

विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन् ।

बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको बताउँछन् । ‘ल हेनुहोस्, अङ्कल यो किताब पढ्नुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए,’ उनले भने । केही नबुझ्ने बालबालिकालाई किन प्रचारमा पठाइएको होलान्, उनको प्रश्न थियो ।

आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले ‘चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनू’ भनेर पठाएको बताए । उनीसँगै पनौती र काठमाडौं इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए । ‘यी किताब बाँडिसकेपछि अङ्कलले चक्लेट किनिदिनुहुन्छ,’ साइमन नाम गरेका अर्का बालकले खुशी हुँदै भने ।

बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे ।

यस विषयमा बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरुले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको बताए । ‘बच्चा आफैँले पुस्तक निकालेर आफुखुशी बाँडेका हुन्, हामीले प्रयोग गरेका होइनौँ,’ उनले भने । जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिना जिल्लामा पछिल्लो समय धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद् भएको बताउँछन् । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage