scheduleशनिवार चैत्र ९ गते, २०७५

‘अलच्छिनी’ को रहेछ ओली कमरेड ?

सुदर्शन खतिवडा


नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार थियो । केपी ओली थिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष । २०७३ फागुन २९ गते भैरहवामा आयोजित एक कार्यक्रममा ओलीले पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्षको हैसियतमा भने, ‘यस्तो सरकार बनेको छ तपाईंहरुलाई थाहा छ, यो सरकार बनेको दिनदेखि गाडी नपल्टिएको दिनै छैन । उधूमै अलच्छिनी ।’ यतिसम्म कि ओलीले सवारी दुर्घटना पनि प्रचण्ड सरकारकै कारण भएको बताएका थिए ।

समय फेरिएको छ । त्यतिबेला ‘अलच्छिनी’ सरकारको नेतृत्व गरेका प्रचण्ड ओलीसँगै एउटै पार्टीको विमानमा ‘समाजवादी’ उडान भर्न को-पाइलटको भूमिकामा छन् । र, ओली प्रधानमन्त्रीको कुर्सीमा उक्लिएका छन् दुई तिहाई बहुमत बोकेर । तर, गाडी पल्टन रोकिएको छैन । सडक झनै शक्तिशाली एम्बुसमा बदलिएका छन् । अहिले अप्ठेरोमा छन् ओली । न उनले सहचालक प्रचण्डलाई अलच्छिनी भन्न सक्छन्, न आफैंलाई अलच्छिनी घोषणा गर्न सक्छन् न दुर्घटना नै रोक्न सक्छन् ।

शुक्रबार मात्रै दाङमा दुई दर्जन शिक्षक र विद्यार्थीको सडक दुर्घटनामा एकै चिहान भयो । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हो । ‘बाबा म फर्कन्छु’ भनेर बिदाईका हात हल्लाएका कलिला मूनाहरु निमोठिए । सन्तान छाडेर निस्किएका शिक्षक/शिक्षिकाहरु कहिल्यै नफर्कनेगरी बिदा भए । बिडम्वना, उनीहरु खराब व्यवस्था, नीतिहिनता, दण्डहीनता र सरकारी असक्षमताको शिकार भए । अब ओलीलाई के भन्ने ? भाग्यमानी कि अलच्छिना ?

त्यसो त, विज्ञानलाई मान्नेहरुले भाग्यवादमा विश्वास गर्दैनन् । अलच्छिनी जस्तो अन्धविश्वास जोडिएको मध्ययुगीन शब्दसँग विज्ञानलाई विश्वास गर्नेहरु सबैलाई घृणा लाग्छ । थुप्रै कमजोर र असहायहरुले यही शब्दको कलंक बोकेर एकबारको मानव जीवन कष्टसाध्य ढंगले बाँचेका छन् । टुहुरा बालबालिका र विधुवा महिलालाई ‘अलच्छिनी’ भन्ने अशिक्षित र असभ्यहरुको नेतृत्व कुनै कम्युनिष्ट पार्टीको नेता र पूर्वप्रधानमन्त्रीहरुले गर्नु आफैंमा दुःखलाग्दो कुरा हो । ओलीले तालीका लागि बोल्ने यस्ता अन्धविश्वास र मानव सभ्यतालाई नै जिस्काउने कलंकपूर्ण शब्दप्रति देखाएको आकर्षण निन्दनीय थियो र छ ।
यस्ता शब्दहरु सार्वजनिक मञ्चमा उच्चारण गर्दा हाम्रा नेताहरुलाई कुन राजनीतिक, दार्शनिक, आर्थिक र सांस्कृतिक पक्षले उत्प्रेरित गर्दो हो ? कुन राजनीतिक नैतिकता र चेतनास्तरले काम गर्दो हो ? यी प्रश्नहरुको उत्तर कहिले पाइएला ?


त्यसो त सडक दुर्घटना हाम्रो सन्दर्भमा कुनै नयाँ घटना होइन । दिनहुँजसो सडकमा मानवीय क्षति भइरहेको छ । आर्थिक वर्ष ०७०/०७१ देखि गत आर्थिक वर्ष ०७४/०७५ सम्मको यो पाँच वर्षको अवधिमा ४६ हजार ७ सय सवारी साधन दुर्घटनामा परेका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सडक दुर्घटना देखिन्छ । बर्सेनि नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गर्छ भने नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ ।

सडकले गाडी पल्टाएर मात्रै मान्छे मारिरहेको छैन । विश्व स्वास्थ्य संगठनले भन्छ- वायू प्रदूषणका कारण हुने विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष १० हजार मानिसको मृत्यू हुने गरेको छ । वायू प्रदूषणको एउटा प्रमुख कारण सडकजन्य धूलो र धुँवा पनि हो । प्रदूषणका कारण श्वासप्रश्वासलगायत मुटु रोग, स्ट्रोकको समस्या हुने चिकित्सक बताउँछन् । जनता पीडित छन् तर यसलाई न्यूनीकरण गर्ने सरकारी प्रयास शून्यप्रायः छ । ओलीले केवल भाषण दिन्छन् ।

केही दिनअघि कलंकी-नागढुंगा सडकबारे प्रधानमन्त्री ओलीले नै भ्रमपूर्ण अभिव्यक्ति दिए । तर, यहाँको अवस्था उस्तै छ । जनताले सास्ती पाइरहेकै छन् । बयोवृद्धवृद्धादेखि भर्खरै जन्मिएका अवोध शिशुहरुले पनि हानिकारक श्वास फेर्दै आयु घटाइरहेका छन् । सिधै भन्दा, सरकारले जनतालाई तत्कालको सास्ती मात्र होइन, नजानिदोगरी मृत्यू उपहार दिइरहेको छ ।

यो देशमा एउटा भीड छ जो माओवादी जनयुद्धको बेला मारिएका १७ हजार मानिसको लासको व्यापार गर्न रुचाउँछन् । सरकारी तथ्यांकअनुसार पनि उक्त संख्याको २/३ भन्दा बढी हत्या राज्यपक्षबाट भएको थियो । त्यसो त, सरकारी असक्षमताका कारण बिनाकारण ज्यान गुमाउनेको संख्या हिसाब गरी साध्य छैन । कुपोषणका कारण वार्षिक हजारौं बालबालिका यहीँ मर्छन् । सुत्केरी हुनेबेला उपचार नपाएर मर्ने आमा र बच्चा बेहिसाब छन् । हात धोएर खाना खानुपर्छ भन्ने नजानेरै मर्नेहरुको तथ्यांक त्यत्तिकै भयावह छ ।

यी सबै लासहरुको पहाडमाथि उभिएर जनतालाई शासन गरिरहेका मानिसहरु कति ‘लच्छिन’का होलान् ? सडक दुर्घटना दिनानुदिन भइरहेकै छन् । मानिसहरु मरिरहेकै छन् । लोकतन्त्रले मुट्ठीभर मानिसहरुलाई फेरेको छ । आम नागरिक जस्ताको तस्तै छन् ।

अग्रज पत्रकार विजयकुमारको भनाई याद आउँछ- ‘हामीले हाम्रो औकातअनुसारको नेता पाउँछौं ।’ निर्वाचनले यही कुरा पुष्टि गर्‍यो । हामीले हाम्रो औकातअनुसारको नेता छान्यौं । उनीहरुले आफ्नो औकातअनुसारको पार्टी बनाएका छन् । औकातअनुसारको सरकार पाइरहेका छौं । अहिले हामीले हाम्रो औकातअनुसारको जीवन भोगिरहेका छौं । अब हामीले कसलाई गाली गर्ने ‘अलच्छिनी’ भनेर ? ओलीलाई कि आफैंलाई ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob