scheduleआइतवार भाद्र २९ गते, २०७६

काँग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम

काठमाडौं, ८ पुस । नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौंमा जारी काँग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

प्रस्तावनामा ‘…नेपाली काङ्ग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको विसं २०१५ को प्रथम संसदीय आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने सुअवसर प्राप्त…’ वाक्य थप गरिएको छ ।

‘नेपाली काँग्रेसको विधान, २०१७’ मा हालसम्म (विसं २०७२ फागुन २३ गते गरिएको आठौँ संशोधनसम्म) पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम मात्र उल्लेख गरी उनीहरूको योगदानबारे चर्चा गरिएको थियो ।

पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नाका साथै पार्टीलाई आर्थिकरूपमा भरमग्दुर सहयोग गरेका संस्थापक नेता सुवर्णको नाम उल्लेख थिएन । यद्यपि पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शम्शेरको नाम उल्लेख गरिन्छ र उनका योगदानलाई पनि सम्झिइन्छ ।

मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न काँग्रेसले गत भदौ ७ गते महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । गत मंसिर २९ गतेदेखि आजसम्म चल्ने महासमिति बैठकमा पार्टीको केन्द्रीय समिति बैठकबाट सर्वसम्मतले पारित विधान मस्यौदा शनिबार प्रस्तुत भएको थियो । उक्त विधान मस्यौदासहित अन्य सबै प्रतिवेदन बैठकले आज पारित गर्ने र त्यसपछि लागू हुनेछन् ।

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा काँग्रेसले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त गरी बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

त्यस्तै प्रस्तावनामा ‘नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट विसं २०७२ मा बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक कृतिमानप्रति गर्व गर्दै ’ वाक्य थप गरिएको छ ।

प्रस्तावनामा ‘पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गरी नागरिकका आकाङ्क्षाअनुरुप बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै’ पनि थप गरिएको नेता बडूले बताए ।

विसं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय काँग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली काँग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले योगदान गरेको काङ्ग्रेसको इतिहाँसमा उल्लेख छ ।

विसं २००३ मा स्थापित राष्ट्रिय काँग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो । आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र काँग्रेस स्थापनामा लागेका थिए । सोही अनुसार पछि दुवै काँग्रेसको एकीकरण र सशस्त्र युद्धले मात्र राणाशासन अन्त भई प्रजातन्त्रको स्थापना भएको हो ।

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बिपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गरे । त्यस बारेमा बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा धेरै कुरा उल्लेख गरी सुवर्णको भूमिकाको प्रशंसा गरेका छन् । उनको २०३४ सालमा निधन भएको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता सुवर्ण प्रवासमा जाँदा उहाँको कतिपय जग्गा जमीन तत्कालीन सरकारले हड्पेको थियो । केही सम्पत्तिपछि राष्ट्रियकरण गरियो । हालको नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास र प्रधानन्याधीशको निवास रहेको जग्गा एवम् घर उनकै थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage