scheduleआइतवार भाद्र ८ गते, २०७६

‘यहाँबाट निस्किएपछि कोही पनि बेरोजगार बस्नुपर्दैन’

करण प्रताप साह, सञ्चालक- शेफर्ड कलेज

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सन् २००२ बाट पत्रकारिता अध्यापन सुरु गरेको शेफर्ड कलेजले १६ वर्षको यात्रा तय गरिसकेको छ । पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको अगुवाईमा सुरु भएको यस कलेज हाल नयाँ व्यवस्थापनमा सञ्चालन भइरहेको छ । यसको व्यवस्थापकीय नेतृत्वमा आएका छन् एकजना युवा । उनी हुन् करण प्रताप साह । अध्ययनको क्रममा केही समय विदेशमा रहेर नेपाल फर्किएका साहले कुराकानीको सुरुवात आफूले पत्रपत्रिका पढ्दा गरेको अनुभवबाट सुरु गरे ।

उनले आफ्नो अनुभवहरु उप्काउँदै भने, ‘जस्तो म बीबीसीका समाचार पढ्छु, समाचार गहिराईमा लेखिएको हुन्छ । कारण, प्रभाव र समाधानबारे धेरै मेहनत गरिएको पाइन्छ । त्यहाँ हरेक प्रश्नको जवाफ पाइन्छ ।’ उनी भन्छन्, ‘यहाँ हाम्रोमा हेरौं, मैले आफ्नो यहाँको आलोचना गर्न लागेको होइन, तर त्यो तहको गहिराई हुँदैन जुन आवश्यक हुन्छ । मेरो निश्कर्ष के हो भने नेपाली पत्रकारितामा अझै गुणस्तरीय जनशक्ति छैन । यसमा हामी विकास होस् भन्ने चाहन्छौं ।’

साहको विचारमा नेपाली पत्रकारितामा प्रतिभाहरुको केन्द्रीकरण भएको छैन । उनको ठम्याई छ– नेपालमा पत्रकारिता शिक्षामार्फत पत्रकारिताको अभ्यासलाई नै नयाँ मोड दिनुपर्छ । विकास र समृद्धि चाहिरहेको नेपालीको सपनालाई विपनामा रुपान्तरण गर्न पत्रकारिता क्षेत्रले विशेष योगदान दिन सक्ने र सक्नुपर्छ भन्ने उनको मान्यता छ । नेपाली समाजमा जकडिएर रहेका समस्याहरुको उत्खनन् र समाधानको उपाय खोज्न हाम्रो पत्रकारिता क्षेत्र चुक्न नहुने र यसको लागि गुणस्तरीय जनशक्ति चाहिने उनको स्पष्ट बुझाई छ ।

‘म अध्ययनको लागि केही समय बाहिर बसेँ । अन्तको भन्दा नेपालको शिक्षा प्रणाली एकदमै फरक छ । बाहिर शिक्षा विस्तृत छ,’ उनी अगाडि भन्छन्, ‘यहाँ एकदमै साँघुरो, केवल कापी, किताब र घोक्ने आदि । यहाँबाट हामी पढ्न बाहिर जाँदा धेरै पछाडि पर्र्छौं । यसकारण शिक्षामा सुधार गर्नुपर्छ भनेर हामीले यस क्षेत्रमा लगानी गर्ने सोच बनायौं ।’

साहको विचारमा पत्रकारिता एकदमै व्यापक र फराकिलो पेशा हो । उनी अगाडि थप्छन्, ‘तर, हाम्रोमा अभ्यास र बुझाईको संकिर्णताले यसको महत्व मानिसहरुले बुझ्नै सकेका छैनन् ।’

कुरा सबैले गर्छन् । अमूर्त कुरा गर्न सजिलै हुन्छ । तर कुरालाई काममा बदल्न त गाह्रो हुन्छ नि ? यी सबै कुरा कसरी गर्नुहुन्छ ? साह ढिला नगरी भन्छन्, ‘हामी पहिला बुझ्न चाहन्छौं कि विद्यार्थीले के सिक्न चाहन्छन् ? हामी हाम्रो समाजलाई कस्ता जनशक्ति चाहिएको छ, त्यो पनि अध्ययन गर्छौं । तदनुरुपको संरचना, पूर्वाधार र पाठ्यक्रमको विकास गर्छौं । हामी विद्यार्थीको रुचि अनुसार विशिष्टिकरण गर्दै विभिन्न विधामा योग्य जनशक्ति तयार गर्न चाहन्छौं । आवश्यक परे प्रतिष्ठित विश्वविद्यालयबाट सम्बन्धन पनि ल्याउँछौं । यसरी हामीले आजको युगलाई चाहिने पत्रकार नेपालमै उत्पादन गर्न सक्छौं ।’

भनिन्छ, पुरानो सुगालाई नयाँ कुरा सिकाउन मुस्किल र असम्भवप्रायः हुन्छ । नेपाली समाजले कोल्टे फेर्न लागेको बेला पत्रकारितामा नयाँ पुस्ता नयाँ सोच लिएर आउनुपर्ने उनको बुझाई छ । उनी भन्छन्, ‘म खासगरी यो क्याम्पसमा युवा विद्यार्थीहरु आऊन् भन्ने चाहन्छु । नयाँ पुस्ता नआएसम्म कुनै इन्नोभेसन हुँदैन । मैले पुरानो पुस्तालाई अपमान गर्न लागेको होइन तर मलाई आशा र विश्वास नयाँ पुस्ताप्रति छ । हामी नयाँ पुस्तालाई सिकाउन चाहन्छौं र हामीलाई विश्वास छ, उनीहरुले नै समाज रुपान्तरण गर्नेछन् ।’

सजिलो छ त यसरी काम गर्न ? साहको बुझाईमा पनि यो काम सजिलो छैन । तर, सही दृष्टिकोण र निरन्तरको मेहनतबाट यसलाई व्यवहारमा बदल्न सकिने उनको बुझाई छ । ‘म जुन सोचका साथ काममा खटिरहेको छु, मेरो भिजनलाई व्यवहारमा बदल्न संघर्ष गरिरहेछु, मलाई लाग्छ कुनै पनि नयाँ काम गर्नु सजिलो छैन । हरेक कुराले समय लिन्छ, धैर्य हुनुपर्छ,’ उनी अगाडि थप्छन्, ‘तपाईं परिवर्तन/रुपान्तरण चाहनुहुन्छ भने केही समय कुनै पर्छ । यसको लागि लामो समयको भिजन हुनु नै पर्छ । चार पाँच वर्ष लाग्छ सक्छ । मान्छे खोज्नुपर्छ ।’

आफ्नो नयाँ योजना लिएर निरन्तर नयाँ पुस्तामा पुग्ने साहको योजना छ । ‘हामी नयाँ पुस्तामा गएर यसको स्कोपबारे कुरा गर्छौं । कतिपयलाई पत्रकारिताको गहिराई, महत्व र शक्ति नै थाहा छैन,’ आजको पुस्ताबारे उनको बुझाई छ, ‘अहिलेका विद्यार्थीहरुलाई कसैलाई डाक्टर बन्नुछ, कसैलाई इञ्जिनियर बन्नुछ, यस्तै यस्तै अरु के के बन्नुछ । तर, पत्रकार बन्न रुचि नै छैन । अब पत्रकारितामा प्रतिभा र क्षमताहरुको केन्द्रिकरण हुनुपर्छ । जब हामी यो कुरा बुझाउँछौं, मानिसहरु यहाँ आउनेछन् ।’

नेपालमा पत्रकारिता पढ्न विद्यार्थीहरुलाई धेरै विकल्प छन् । शेफर्डमै किन पढ्न आउने ? साह आफ्नो सोच साट्दै भन्छन्, ‘सामान्यतः विद्यार्थीहरु कलेजभित्र बस्दा सिलेबस हेरेर सरले आज यो पढाउनुहुन्छ, भोलि यो पढाउनुहुन्छ भन्ने सोच्छन् । तर, अब शेफर्ड कलेजभित्र पस्दा विद्यार्थीले आज केही नयाँ कुरा सिक्छु भन्ने सोच बनाउनेछन् । विद्यार्थीहरु हरेक दिन नयाँ उत्साहका साथ कलेजको गेटभित्र पस्नेछन् । ‘यो कुरा कसरी हुन्छ’ भनेर व्यवहारिक कामहरु गरेर शिक्षा लिनेछन् । हामी कक्षाकोठालाई रमाइलो बनाउँछौं, जहाँ विद्यार्थीले रमाइलोसँग सिक्न सकून् र विद्यार्थीलाई पनि कलेज आउन मन लागोस् ।’

यसका लागि शेफर्डमा कम्प्युटर ल्याब, इलाइब्रेरी, अडियो–भिडियो स्टुडियोहरु र अन्य सबै पूर्वाधार तयार भइसकेको उनले बताए । उनले अगाडि थपे, ‘यहाँ आएर अब विद्यार्थीले आफूले चाहेको गतिविधि गर्न सक्छन् । चाहेजसरी नै प्रयोगात्मक र व्यवहारिक कक्षाबाट सिक्न सक्नेछन् ।’

४८ विषय पढाई हुने शेफर्डमा पढेर पत्रकारिता नै गर्नुपर्छ भन्ने छैन भन्छन् साह । ‘यहाँ पढेर पत्रकारिता नै गर्नुपर्छ भन्ने छैन । अन्य क्षेत्रमा अब्बल बन्न पनि यहाँ पढ्नुपर्छ । हामीले यही सोचलाई मूर्तरुप दिनेगरी पाठ्यक्रम र प्रयोगात्मक सिकाईको नीति र विधि बनाएका छौं ।’

यस्तो कसरी सम्भव हुन्छ ? साहको सहज जवाफ छ, ‘अहिलेको जमानामा पत्रकारिता कुनै मिडिया हाउसमा छिरेर मात्रै गर्न सकिन्छ भन्ने छैन । फिल्म मेकिङ र डकुमेन्ट्रीको मात्रै कुरा गर्न खोजेको होइन, सूचना प्रविधिको विकासले भिब्लग्स, यूट्यूब, न्यू मिडिया र सामाजिक सञ्जालहरुले धेरै सम्भावनाका ढोका खोलेका छन् । हामीले पछिल्लो समय बजारको माग र विद्यार्थीको चाहनाअनुसार मल्टिमिडिया स्टडीमा पनि जोड दिइरहेका छौं ।’ साहले गहिरो विश्वास व्यक्त गर्दै भने, ‘यहाँबाट निस्किएपछि कोही पनि बेरोजगार बस्नुपर्दैन । बिएमटी पढिरहेकै विद्यार्थीका लागि जब अफर आइरहेको छ । यो किन पनि सम्भव छ भने हामी सिद्धान्त मात्र पढाउँदैनौं, व्यवहारबाटै सीप पनि सिकाउँछौं । सीप सिकेको मान्छे संसारमा बेरोजगार बस्नुपर्छ र ?’

शेफर्डमा ६५ जना शिक्षकले अध्यापन गराईरहेको र उनीहरु नेपालका राम्रा र ठूला मिडियाहरुमा आवद्ध रहेको जानकारी साहले दिए । ‘यहाँ पढ्ने विद्यार्थीका लागि रोजगारीको अवसर सामान्य कुरा बनिसकेको छ । एक दुई सेमेस्टर पढ्नासाथ काम गर्न थाल्नुहुन्छ,’ उनी भन्छन् ।

स्वदेशका विद्यार्थीहरु लाखौं/करोडौं लगानी गरेर विदेश पढ्न जानुपर्ने अवस्था रोक्न नसकेसम्म नेपालको समृद्धिको सपना पूरा नहुने उनको बुझाई छ । ‘यहाँ सबैजना बाहिर जान्छन् । हामी विश्वस्तरकै सुविधा र अवसर यहीँ दिन्छौं । गुणस्तर यहीँ दिन्छौं भने मानिस किन बाहिर जान्छन् ? हामीले त मानिसको मानसिकता परिवर्तन गर्नुछ ।’

नेपालमै सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको साहको दावी छ । ‘विदेशमा ४०/५० लाख खर्च गर्छन् तर यहाँ २/३ लाखमा पढाइरहेका छौं । विदेशको भन्दा राम्रो कोर्ष हामीले पढाइरहेका छौं । विदेश पढ्न जाने लगानीमध्ये थोरै यहाँ पढ्न लगानी गर्नुहोस्, बाँकी रहेको ठूलो हिस्सा नेपालमै लगानी गरेर उद्यमशील बन्नुहोस् । यो हाम्रो विशेष आह्वान हो ।’

वैज्ञानिक, व्यवहारिक र गुणस्तरीय शिक्षा लिनबाट नचुक्न युवाहरुलाई साहको सन्देश छ । उनी भन्छन्, ‘नयाँ पुस्ताका लागि उपयुक्त शिक्षा एकदमै आवश्यक छ । हाम्रो साक्षरता कम छ । यसैको कारण हामी पछाडि परिरहेका छौं । विकसित देशका लागि शिक्षित नागरिक हुन आवश्यक छ । अमेरिकामा १८ वर्षसम्म पढ्नु अनिवार्य नै छ । यसकारण म युवा पुस्तालाई शिक्षालाई कमजोर नसोच्न अनुरोध गर्दछु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage