scheduleआइतवार आषाढ़ १ गते, २०७६

नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

काठमाडौं, १० पुस । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भएको भेटवार्तामा उनले सहयोगको आश्वासन दिएका हुन् ।

उनले आपसी व्यापार बढाउन नेपाल–भारत सीमा क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिँदै नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता दोहोर्याएको महासंघले आज जनाएको छ ।

गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने बताउँदै मुख्यमन्त्री योगीले नेपालगञ्ज–कैलाश मानसरोवर तीर्थयात्राको विकास र धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउने आश्वासन दिए ।

अध्यक्ष राणाले दुई मुुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उत्तर प्रदेश सरकारबाट निरन्तर सहयोग हुने आशा व्यक्त गरे । ‘नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रको विकासमा उत्तर प्रदेश सरकारको सक्रिय सहयोगको अपेक्षा गरेका छौँ,’ अध्यक्ष राणालाई उद्धृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र उत्तरप्रदेशबीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन महासंघको प्रतिनिधिमण्डल उत्तर प्रदेशको राजधानी लखनउ पुगेको हो ।

प्रतिनिधिमण्डलमा एफएनसीसीआईका कार्यसमिति सदस्य कृष्ण प्रसाद श्रेष्ठ, एफएनसीसीआई सुदूरपश्चिमका अध्यक्ष शंकरबहादुर बोगटी, एफएनसीसीआई प्रदेश ५ का उपाध्यक्ष दिपककुमार पौड्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, होटल संघ नेपालका कार्यकारी सदस्य असित समशेर जबरा, एफएनसीसीआईका सहायक निर्देशक अरुणकुमार श्रेष्ठ तथा अन्य उद्योगी व्यवसायी र मिडियाकर्मीहरु रहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob