scheduleसोमवार माघ ७ गते, २०७५

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा

काठमाडौं, १२ पुस । गैरआवासीय नेपाली संघ(एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही २९ र ३० डिसेम्बर २०१८ मा युगान्डाको राजधानी शहर कम्पालामा हुँदैछ । कम्पाला शहरको आकासिया मलमा आयोजना हुन लागेको बैठकको तयारी पूरा भएको एनआरएनएले जनाएको छ ।

बैठक अफ्रिकी क्षेत्रमा रहेका नेपालीहरुले त्यहाँको सरकारी एवं अन्य विभिन्न क्षेत्रको अनुभव आदान प्रदान गर्नेमा केन्द्रीत हुने बताइएको छ । बैठकको उदघाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्नेछन् । बैठकको बन्द सत्रमा युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजी क्षेत्रका प्रतिनिधिले समेत सहभागिता जनाउनेछन् । बैठकमा युगान्डाको आर्थिक विकास, उद्योग, पयर्टन, वैदेशिक रोजगार र नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्रहरु प्रस्तुत हुनेछन् । यसका साथै बैठकमा गैरआवासीय नेपाली विज्ञहरुद्वारा अफ्रिकी क्षेत्रका ठूला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत गर्नेछन् ।

त्यस्तै बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी तथा विकासका अनुभव सट्न सकिने विषयमाथि समेत छलफल हुने एनआरएनएले जनाएको छ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरुद्वारा ट्रान्जीटमा अफ्रिका पुर्‍याइएका नेपालीका समस्याहरु बारेमा पनि गहन छलफल गरिनेछ ।

बैठकमा कायरोस्थित नेपाली दूतावासका राजदूत झविन्द्र अर्याल, संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरु, अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा प्रतिनिधिहरु, विभिन्न मुलकका गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु र गैरआवासीय नेपालीहरुका साथै संचारकर्मीहरुको उपस्थिती रहने भएको छ ।

गैरआवासीय नेपालीहरुले विश्वका विभिन्न राष्ट्रमा नेपाललाई चिनाउन व्यक्तिगत तथा सामूहिक रुपमा विविध कार्यहरु गरिरहेका छन् । यसले नेपालको आर्थिक तथा पर्यटन, विकासमा थप टेवा पुगिरहेको दाबी गरिएको छ । यसर्थ पनि यो बैठक नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउनका साथै पर्यटन प्रवद्र्धन र नेपालको कला संस्कृति अफ्रिकी क्षेत्रमा प्रस्तुत गर्न कोसेढुङ्गा साबित हुनेमा संघ विश्वस्त रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob