scheduleशनिवार चैत्र ९ गते, २०७५

नयाँ मोडको प्रतीक्षामा छ देश

डम्बर खतिवडा

यात्रानुभव

देशका लागि केही गर्छु भन्नेहरुले देश बुझिरहनु पर्छ । देश एकपटक बुझेर हुँदैन, बारम्बार रिफ्रेस हुनुपर्दछ । देशका धरातलीय यथार्थहरु बारम्बार बद्लिरहन्छन् । अपडेट भइरहन आवश्यक हुन्छ । विशेषतः गत चुनावपछि, कम्युनिष्ट गठबन्धन र त्यसको करिब दुईतिहाईको सरकार बनेपछि, मधेसी दलहरु फोरम सरकारमा सामेल र राजपाले कम्युनिष्ट सरकारलाई समर्थन दिएपछिको राजनीतिक धरातल कस्तो के कस्तो छ ? त्यो बुझ्न पनि देश घुमिरहनु पर्छ । मंसिरको पछिल्लो दुई हप्ता र पुसको पहिलो हप्ता गरिएको देश यात्राका अनुभूतिहरुलाई म केही केस स्टडीहरुमा, तृणमुल मान्छेका शब्द र अभिव्यक्तिमार्फत् व्यक्त गर्ने प्रयास गर्ने छु ।

नयाँ शक्ति पार्टी, नेपाल यतिखेर संगठन विस्तार तथा सुदृढीकरण अभियानमा छ । यो अभियानलाई हामीले ठोस र मूर्त शब्दमा ५ महिना, ५ काम, ५ परिणामअभियान भनेका छौं । ५ महिनाभनेको मंसिर, पुष, माघ, फाल्गुन र चैत्रलाई भनिएको हो ।  त्यसमध्ये पहिलो महिना मंसिर बितेको छ । दोस्रो महिनाको मध्यतिर छौं अहिले । मंसिर आन्तरिक तयारी बैठक र जनशक्ति योजनाको अवधि थियो । आजका मितिसम्म आईपुग्दा ६० जिल्लामा यो काम पुरा भएको छ । प्रारम्भिक समीक्षा गरेर हेर्दा ५ महिनामध्येको पहिलो महिनामा अपेक्षित सफलता हासिल भएको छ ।

५ कामभनेको वैचारिक प्रशिक्षण चलाउने, संगठनलाई जिल्लाबाट तल झारेर ७५३ स्थानीय तह र ६७४२ वडासम्म पुर्‍याउने, बहुपक्षीय राजनीतिक संवाद र ध्रुविकरणलाई तीव्र पार्ने, जनसरोकारका सवालमा जनआन्दोलन विकास गर्ने र व्यवस्थापन सम्बन्धी काम गर्ने भन्ने हो । यी ५ काम अहिले समानान्तररुपमा चलिरहेका छन् । कतिपय प्रदेश र जिल्लामा गाउँ/नगर स्तरीय भेला र कमिटी गठन प्रारम्भ भइसकेको छ । यो अभियानको अन्त्यमा तत्तत् क्षेत्रमा ५ वटा परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ । यो उपलब्धिको जगमा आउँदो बर्ष हामी प्रत्यक्ष लोकतन्त्रमा आधारित प्रथम पार्टी महाधिवेशन आयोजना गर्नेछौं ।

डम्बर खतिवडा

यही अभियानको क्रममा साथीहरु देशभरि छरिने योजना बन्यो । नयाँ शक्ति पार्टीको इतिहासमा पहिलोपटक पार्टी अभियन्ताहरु साँच्चै आआफ्नो प्रदेश र जिल्लामा मिहिन ढंगले परिचालित भएका छन् । यसअघि पनि पार्टीले घरघरमा नयाँ शक्तिभन्ने अभियान डिजाइन गरेको थियो । त्यो चलेन । कागतमा मात्र सीमित भयो । अहिले ५ महिने अभियान जसरी चलिरहेको छ, त्यो घरघरमा नयाँ शक्ति अभियान त्यसरी नै चलेको भए, सायद हाम्रो पार्टीको संगठनात्मक अवस्था आज भिन्नै हुन्थ्यो । तर, त्यतिखेर पार्टी केन्द्रमा टिम स्प्रिट बनेन् । अनेक अवसरवादी, महत्वाकांक्षी तत्वहरुले पार्टी केन्द्रलाई गाँजेर राखे । जायज नाजायज किचलो सृजना गरेर टिम स्प्रिट उत्पन्नै हुन दिएनन् । आजको मितिसम्म आईपुग्दा पार्टीको केन्द्रमा, नेतृत्व पंक्तिमा अभूतपूर्व एकता, एकरुपता र टिम स्प्रिट निर्माण भएको छ । त्यसको प्रभाव प्रदेश र स्थानीय तहको संगठनमा पनि देखिएको छ ।

हामी ५ जनाको टिम बनाएर प्रदेश १ तिर लागेका थियौं । परशुराम खापुङ्ग, पदमबहादुर राई, प्रभुराम श्रेष्ठ, दलमर्दन कामी र म । साथीहरु थपिने, घटने क्रम जिल्लैपिच्छे चलिरह्यो ।  मंसिर १९ गते खोटाङ्ग हुँदै काठमाडौंबाट निस्किएका थियौं । उदयपुर, सुनसरी, मोरङ्ग, तेह्रथुम, धनकुटा, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, सोलुखुम्बु र ओखलढुंगा गरी १२ जिल्ला पुगियो । रुट नमिलेको कारण प्रदेश १ को भोजपुर र संखुवासभा भने पुग्न सकिएन ।

कम्युनिष्टहरुको बुर्जुवाकरण, बुर्जुवाहरुको कम्युनिष्टकरण

पाँचथर फिदिमको बैठकमा जनम राई फालेलुङ्ग भन्ने गाउँबाट आएका थिए । उनको कुराले मलाई केहीबेर स्तब्ध बनायो । उनी भन्दै थिए,फालेलुङ्गबाट फिदिम ७ सय ट्याक्सी भाडा तिरेर आएको । फर्किन अर्को ७ सय लाग्छ । बाटोको खाजा, भात र फिदिमको एक रात बसाईको खर्च समेत जोड्दा ३ हजार पुग्छ । मेरी श्रीमति गाउँको निजी स्कुलमा मासिक २ हजारको जागिर खान्छिन् । उनको महिना दिनको तलबभन्दा बढी रकम मैले एउटा मिटिङका लागि खर्च गरेँ । वैकल्पिक पार्टी निर्माण गर्ने शर्तमा । यदि यो अभियानलाई तपाईहरुले हिजोका केही साथीहरुले जस्तै धोका दिनुभयो भने तपाईहरु त नेता हो, ठगीले नछोला, मलाई मेरी श्रीमति र बालबच्चाहरुको पाप लाग्छ ।

बिर्खबहादुर लोवा अर्को गाउँ हिलिहाङ्गबाट आएका थिए । स्थानीय समाजमा नवीन वर्गको उदयबारे उनले बढो रोचक शुत्रिकरण गरे । भनेका थिए,हिजो म कम्युनिष्टमा थिए । गाउँका हुनेखाने सबै कांग्रेस र राप्रपा थिए । कम्युनिष्टहरु गरिब कहाँ पुग्थ्यौं । आज गाउँका हुनेखाने सबै कम्युनिष्ट छन् । नयाँ शक्ति गरिबका घरआँगनमा पुग्नु परेको छ । कम्युनिष्टहरु धनी  भए तर आज पनि गाउँमा गरिबदुःखीको भने कमी छैन ।

बिर्ख बहादुरको भनाईमा बदलिँदो स्थानीय वर्गसंरचनाको राम्रो चित्रण छ । विगत ३० वर्षमा नेपालका कम्युनिष्टहरुको व्यापक बुर्जुवाकरण भएको, देशमा नयाँ शासक, नयाँ शोषक, नयाँ बुर्जुवा वर्गको जन्म भएको, वर्गसंघर्षको स्वरुप र चरित्र बद्लिएको बुझ्न हिलिहिङ्ग गाउँको यो यथार्थ गतिलो प्रमाण हो । तर हामीले यो बुझ्ने गल्ती गर्नु हुँदैन कि कम्युनिष्टहरुको मात्र बुर्जुवाकरण भएको छ । देशका बुर्जुवाहरुको कम्युनिष्टकरण पनि उत्तिकै भएको छ । राष्ट्रिय तहमा हेर्दा गोल्छा, दुगड, खेतान, चौधरी आदि खान्दानहरु कम्युनिष्टकरण भएका छन् । स्थानीय तहमा हेर्दा निजी स्कुलका सञ्चालक, छोटा जमिन्दार, ठेक्केदार, यातायात क्षेत्रमा सेन्डिकेटवालाहरु, सहकारीका नाममा फाइनान्स कम्पनीको सुविधा उपयोग गर्ने साना वित्तपति वा सुदखोरहरु उत्तिकै कम्युनिष्ट भएका छन् । यो दोहोरो प्रक्रियाले स्थानीय विकास र जनमुखी शक्तिहरुको निर्माणलाई उल्लेखनीय अवरोध गरेको छ । सामाजिक विकासको गतिलाई अवरोध गरेको छ ।

पूर्वपञ्चहरुको धरातलीय बदलाव

यसपटकको यात्रामा मलाई गहिरो अनुभति के भयो भने आउने चुनावमा नभए अर्को चुनावसम्म हिजो गोर्खा परिषद हराएजस्तो राप्रपा धारको लगभग अन्त्य हुने रहेछ । मैले यो पूर्वाग्रहले भनेको हैन । गहिरो अध्ययन गर्दा ग्राउण्ड रियालिटी नै त्यस्तो देखियो । हरेक जिल्लामा जाँदा हामीले कांग्रेसकम्युनिष्टको जस्तै यो धारको अवस्था पनि बुझ्न खोजेका थियौं । त्यही क्रममा यो यथार्थ सामुन्ने आएको हो ।

हिजो २०३६२०४६ बीचमा स्थानीय समाजमा प्रभावशाली रहेका, रापंस, जिल्ला पञ्चायत सभापति, प्रधानपञ्च आदि रहेका व्यक्तिव्यक्तित्वहरु हरेक जिल्लामा थिए । सत्तामा रहिसकेका हुनाले उनीहरु धनी पनि थिए । चुनावमा पैसा खर्च गर्न पनि सक्थे । त्यो पुस्ता लगभग सकिएछ । पाँचथरमा पद्मसुन्दर लावती छैनन् । ताप्लेजुङ्गका विष्णु मादेन, धनकुटाका सुयबहादुर थापा, सुनसरीका दिलबहादुर श्रेष्ठ, मोरङ्गका जनक कार्की, सोलुखुम्बुका छिरिङ्ग तेन्जिङ्ग लामा बितिसके । अरु कयौं जिल्लाका प्रभावशाली भनिएका पूर्वपञ्चहरु जिल्लाको राजनीतिमा सक्रिय छैनन् । जस्तो कि उदयपुरका हरिबहादुर बस्नेेत आदि ।

यी सबै घटनाले राप्रपा धारको स्ट्रेन्थलाई उल्लेखनीयरुपमा घटाएको छ । भएका पनि अरु पार्टीमा जाँदै छन् । जस्तो कि सुनसरीका कृष्णकुमार राई, रमेश श्रेष्ठ, रोहित कार्कीहरु कम्युनिष्टतिर गए । ताप्लेजुङ्गका प्रकाशप्रताप हाम्राङहरु कांग्रेसतिर गए । धनुकुटामै सूर्यबहादुरका छोरा सुनिललाई कांग्रेसतिर जान अन्यथा राजनीति छोडे हुने दबाब परेको देखेँ । राजनीतिक संकट आउँदै गएपछि मान्छेलाई आआफ्नो धारका टिक्न गाह्रो हुँदोरहेछ । तसर्थ, नेपाली राजनीतिको एउटा धरातलीय यथार्थ सबैभन्दा संकटमा राप्रपा धार देखियो ।

कांग्रेसः आशा  छैन, आशा छ

यो यात्रामा नेपाली कांग्रेसको धरातलीय यथार्थको चित्र झनै रमाइलो लाग्यो । उनीहरुको अवस्था कुनै समयको ईश्वर बल्लभको कविता आगोका फूलहरु हुन, आगोका फूलहरु हैनन्भनेजस्तै छ । जस्तो कि झापामा मान्छे भन्थेकृष्ण सिटौला र विश्वप्रकाश शर्मा झापामा जन्मिनु नै उनीहरुको राजनीतिक दुर्भाग्य हो । यहाँ कम्युनिष्टहरुको यति बलियो सञ्जाल छ, सिटौला र शर्मा त के बीपी कोइराला आफै उठे पनि हार्थे । कम्युनिष्टहरुको यो बलियो जालो तोड्न कांग्रेसले कुनै सार्थक अभियान गर्ला भन्ने विश्वास कांग्रेस कार्यकर्तामा छैन । तर पनि उनीहरु कांग्रेस रुङ्गी बस्न चाहन्छन् । कांग्रेस राम्रो होला भन्ने आशा छैन, तर कम्युनिष्टहरुले यसरी नै नराम्रो गर्दै गए कम्युनिष्टहरुसँग मतदाताले रिस फेर्न काँग्रेसले त्यसै भोट पाउने दिन आउने छ, तसर्थ कांग्रेसप्रतिको आशा बाँकी नै छ । कांग्रेसले यसरी जीवन गुमाएको छ । सक्रियता गुमाएको छ । आशा र सपना गुमाएको छ । तथापि उनीहरु आशाहिनतामा संयोगिक भवितव्यको प्रतीक्षामा छन् ।

मधेसमा तेस्रो चरण

प्रदेश १ मा परे पनि मोरङ र सुनसरी मधेश आन्दोलनका मुख्य जिल्लामध्ये हुन् । मधेश आन्दोलन ताकाको विराटनगर र इनरुवाको राप अहिले देखिन्न । सुनसरीमा अधिकांश फोरमका कार्यकर्ताहरु कांग्रेसतिर पलायन हुने मनस्थितिमा देखिन्छन् । विजय गच्छदारको कांग्रेस फिर्तीले उनीहरुलाई सजिलो बनाइदिएको छ । तर गच्छदारसंगै कांग्रेस फर्किन नचाहनेहरु पनि थुप्रै छन्, जो यतिखेर मौन छन् । कुनै नयाँ विकल्पको खोजीमा छन् ।

उपेन्द्र यादवले गृहजिल्ला सुनसरी छोडेर आफ्नै निर्वाचन क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोग गर्नुले पनि उपेन्द्र फोरमलाई नराम्रो प्रभाव परेको छ । फोरम ओली सरकारमा सामेल हुनुलाई मधेश राजनीतिमा दोस्रो युगको अवसान भने मान्छेहरुले । २०४६ यताको मधेस राजनीतिमा गजेन्द्र नारायण सिंह र सद्भावना पार्टीको उदय पहिलो चरण थियो । गज्जुबाबुको सत्ताराजनीतिसंगै त्यो युगको अन्त्य भयो । दोस्रो चरणमा उपेन्द्र यादव र फोरम आयो । ओली सरकारमा उपेन्द्रको सामेली र राजनीतिक मुद्दाहरुको पेन्डिङ मधेस राजनीतिमा फोरम युगको अन्त्यको संकेत हो । यो जटिलता बीच मधेस नयाँ विकल्पको खोजी र सीके राउतको विखण्डनवादी राजनीतिको दोसाँधमा देखिन्छ । यो दुविधा छिनोफानो भएको दिन मधेश राजनीतिमा तेस्रो युगको शुरुवात हुनेछ ।

वैकल्पिक राजनीति

भेटघाटमा अधिकांश मानिसहरुले देशमा वैकल्पिक राजनीतिको अपरिहार्य आवश्यकतालाई स्वीकार गरे । तर, उनीहरुको तर्क छवैकल्पिक भनिएका पार्टी, शक्तिहरु दीगो हुन्छन् भन्ने के ग्यारेन्टी छ ? उनीहरु दीगो नहुने हो भने दिन्दिनै पार्टी फेर्दै हिड्न सकिन्नँ । तसर्थ, नयाँलाई अझै केही समय परख्ने हो । विशेषतः नयाँ शक्तिका बारेमा मान्छेले यो मिसनलाई दीगो बनाउन, नछोड्न, साना असफलताबाट निराश नहुन, छिटो सफलताको आशा नगर्न, दीर्घकालीन रणनीतिहरु अख्तियार गर्न र आक्रमक पार्टी क्रियाकलापहरु बढाउन सल्लाह दिए । पुराना राजनीतिक पार्टीका स्थानीय कार्यकर्ताहरुमा नयाँ शक्तिप्रति विशेष आकर्षण र झुकाव देखिन्छ भने मूलतः कांग्रेस प्रभावित परिवारका युवाहरुले विवेकशील साझालाई विकल्प मानेको पाइयो । तसर्थ, वैकल्पिक राजनीतिका दुईधारहरु समुन्नत समाजवादसमृद्ध पुँजीवादअर्थात् र्‍याडिकल डेमोक्रेसीपरोपकारी लोकतन्त्रबीच मनोवैज्ञानिक सीमारेखा कोरिइसकेको प्रतीत हुन्छ ।

भय राजनीति

समग्र राजनीतिक परिदृष्यमा विप्लव नेतृत्वको नेकपाको चर्चा पनि कम देखिँदैन । त्यसका मुख्य तीन आयाम छन् । हिजो माओवादी आन्दोलनमा लागेको एउटा पंक्तिले प्रचण्डबाट विश्वासघात भएको ठान्दछ । दोस्रो कारणविप्लव समूहमा गरिबी, बेरोजगारी र अपमानको जिन्दगी बाँचिरहेका युवाहरु होलटाइम राजनीतिक कार्यकर्ता हुने, राज्य र समाजको संस्थापन पक्षसँग प्रतिशोध साँध्न सकिने सम्भावना देख्छन् । तेस्रोभय राजनीतिको आयाम कायमै छ । केही समय अगाडि बाग्लुङ पुग्दा नयाँ शक्तिको कुनै सामाजिक कार्यक्रमका लागि ५०० सहयोग गर्न हिचकिचाइरहेका एउटा निजी स्कुलका संचालकले विप्लव कार्यकर्ताहरु पुग्ने बित्तिकै हतारहतार ५० हज्जारको चेक काटेर दिएको घटना सुनिएको थियो । नेपाली समाज अहिले पनि एजेण्डाबाट हैन सत्ता, शक्ति र भयबाट प्रभावित छ । पूर्वतिर पनि यस्ता घटना सुनिए । एजेण्डाकेन्द्रित राजनीतिको महत्व सर्वसाधारणमा एजुकेट गर्न नसकुन्जेलसम्म सभ्य लोकतान्त्रिक समाजको अपेक्षा सहज छैन ।

नयाँ शक्तिको सहज पक्ष

 

नयाँ शक्ति बाजेसँग खतिवडा

देशमा प्रगतिशील, लोकतान्त्रिक, क्रान्तिकारी र वास्तविक समाजवादी विकल्पको निर्माण नयाँ शक्ति अभियानको प्रमुख पक्ष हो । त्यसका लागि व्यवहारिक सहजता बढ्दै गएको देखिन्छ । हिजो चुनावताका एमालेमाओवादी गठबन्धनलाई एकपटक मौका दिने मनोविज्ञान प्रवल थियो । आजको विन्दूमा आईपुग्दा मान्छे कम्युनिष्ट सरकारसँग निरास छन् । सोलुखुम्बुको कुलुङ गाउँमा गत चुनावमा वाम गठबन्धनलाई सहयोग गरेका एक मित्रले भनेका थिए,नयाँ शक्ति सबैका लागि सहज विकल्प हो । बाबुरामको नेतृत्वमा भएको हुँदा यो कम्युनिष्टहरुका लागि सहज हुन्छ । कम्युनिष्ट नाम हटेको हुँदा यो कांग्रेसहरुका लागि पनि सहज हुन्छ । समावेशी लोकतन्त्रमा विश्वास गर्ने हुँदा यो मधेसी र जनजाति आन्दोलनका अभियन्ताहरुका लागि पनि सहज हुन्छ । नयाँ र प्रगतिशील भएको हुँदा नयाँ पुस्ताका लागि पनि सहज हुन्छ । यस्तो सहजता नेपालका अरु धारले एकअर्काप्रति राख्दैनन् । तसर्थ, सिद्धान्तको कुरा आफ्नो ठाउँमा होला, व्यवहारिक हिसाबले पनि नयाँ शक्ति एक सहज विकल्प हो ।

 

तेह्रथुमको म्याङलुङमा अमरबहादुर कन्दङवालाई स्थानीयहरुले नयाँ शक्ति बाजेभन्दा रहेछन् । ८४ बर्षको उमेरमा उनको जिल्लाभरि नयाँ परिचय बनेको छनयाँ शक्ति बाजे । उनी गाउँ/टोल घुमिरहन्छन् र मान्छेहरुसंग नयाँ पार्टी किन चाहिन्छ भनेर छलफल चलाइरहन्छन् । मान्छेहरु के भन्छन् त ? बाजेको जवाफ थियो– ‘नयाँ त अब चाहिने नै भो बाजे भन्छन् ।स्थानीय तहमा यस्ता अनेक प्रेरक व्यक्तित्व भेटिन्छन् जसले देशको बदलिँदो राजनीतिक परिदृष्यको संकेत गरिरहेको छ ।

नयाँ क्रान्तिको प्रतीक्षा

हरेक जिल्लामा पुग्दा हामीले केही अनौपचारिक भेटघाट गरेका थियौं । स्थानीय समाज, अन्य दलका कार्यकर्ता र सञ्चारकर्मीहरुसँग पनि । अधिकांशको निष्कर्ष के थियो भने देश एउटा नयाँ क्रान्तिको प्रतीक्षामा छ । नेपाल हरेक १० वर्षमा नयाँ राजनीतिक मोड लिने इतिहास भएको देश हो । आउने चुनावसम्म देशले एउटा अर्को मोड लिनुपर्ने हुन्छ । त्यो नयाँ क्रान्तिको नेतृत्व जसले गर्न सक्छ, त्यो नै नयाँ शक्ति भएर आउने हो । हामीले पनि मनमनै प्रतिज्ञा गर्‍यौंनेपालमा एउटा नयाँ राजनीतिक मोड निकट भविष्यमा छ, त्यसको नेतृत्व लिएर नै नयाँ शक्ति पार्टी वास्तविक नयाँ शक्तिका रुपमा स्थापित हुनेछ ।

(नयाँ शक्ति पार्टीका प्रवक्ता तथा प्रशिक्षण विभाग प्रमुख रहेका खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश)

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob