scheduleसोमवार आषाढ़ २ गते, २०७६

द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न : ‘खै न्याय ?’

काठमाडौ, १३ पुस । ‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको थियो ।’ दश वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिन् ।

‘सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थें, न बस्न सक्थें,’ उनले भक्कानिदै सुनाइन्, ‘कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरें तर, मुखबाट आवाज निस्केन ।’

बाटोमा हिँडिरहेका बेला नेपाली सेनाका दुई जवान आएर च्याप्प पाखुरा समातेको उनलाई याद छ । स्वीटरको गोजीबाट रुमाल निकालेर आँशु पुछ्दै उनले भनिन्, ‘बन्दूकको नाल छातीमा टाँसेर ‘कसैलाई भनिस् भने मारिदिन्छु’ भन्दै दुवैले पालैपालो बलात्कार गरे ।’

बाँच्न त उनी बाँचेकी छिन् तर, बाबुआमाको ममतामा खेल्ने र पढ्ने उमेरमै उनको सपना चकनाचुर भयो । आफ्ना पीडा सुनाउँदा उनी धेरै पटक बोल्नै नसकेर भक्कानिन् । निकै बेरको मौनतापछि सम्हालिँदै उनले आक्रोशपूर्ण स्वरमा भनिन्, ‘म अबोध बालिकाको के दोष थियो ? मैले के गल्ती गरेको थिएँ र मैले कलिलो उमेरमै अकल्पनीय यातना भोग्नुपर्यो ? कहाँ छ सरकार ? अहिलेसम्म उसले बलात्कार पीडितको पीडा महसुस गरेन ।’ उनको बालक कालमै पाठेघर खसिसकेको छ । तर अहिलेसम्म घटनाका बारेमा कसैलाई भनेकी छैनन् । उनलाई घरपरिवार र समाजको डर छ ।

‘समाजले त्यो बालिकामाथि यत्रो बज्रपात भयो भनेर माया, दयाको दृष्टिले हेर्दैन, सोच्दैन, उल्टै घृणा गरेर घरबाट निकाल्छ,’ उनले भनिन् । यस्तै पीडा भोगेका धेरैलाई समाजले छिःछिः र दूरदूर गर्ने गरेको उनले देखेकी छन् । त्यसैले जति पीडा भए पनि उनी अहिलेसम्म आफ्नो पीडा कसैलाई सुनाउने साहस गरेकी छैनन् । उनको सरकारसँग ठूलो माग केही छैन । स्वास्थ्य उपचारका लागि खर्च दिए पुग्छ भन्छिन् ।

सशस्त्र द्वन्द्वको सययमा बलात्कारको पीडा भोग्ने उनी एक्ली होइनन् । यस्ता धेरै अबोध बालिकाले बलात्कारजस्तो जघन्य अपराध सहनुपर्यो । द्वन्द्वकालका बलात्कृत महिलाको पीडा अकल्पनीय छन् । अर्की किशोरीको पीडा पनि त्यतिकै दर्दनाक छ । धारामा नुहाइरहेको अवस्थामा नेपाली सेनाको गस्ती आइपुग्यो । हात समातेर जबर्जस्ती उनलाई लगे छाउनीमा । ‘पेटिकोट लगाएर नुहाइरहेकी थिएँ, आर्मी आएर आँखामा पट्टी बाँधेर जबर्जस्ती हात तानेर लगे,’ उनले भक्कानिदै भनिन्, ‘व्यारेकमा लगेर एउटा सानो कोठामा राखे । छ जना आर्मी थिए, पालैपालो बलात्कार गरे । एउटा पेटिकोटमा ३३ दिनसम्म मलाई त्यहीँ थुनेर राखे । हरेक दिन आएर बलात्कार गर्थे । म बोल्न, उठ्न सक्ने थिइनँ ।’ उनलाई खाना त्यहीँ ल्याएर जबर्जस्ती खुवाउँथे । कसैलाई भनिस् भने मारिदिन्छु भनेर उनीहरुले बन्दूकको नाल तेर्स्याउँथे । उनलाई त्यही कोठामा दिसापिसाब गर्ने भाँडो राखिदिएको थियो । तँ माओवादी होस् भनेर बन्दूकको नालले घोच्थे । तेत्तीस दिनपछि आफूलाई जङ्गलमा लगेर छाडिदिएका र त्यसपछि घर गएको उनले सुनाइन् । कसैलाई केही भनिनन् । आफन्तकामा गएर बसेको बहाना बनाए । आमाबुबा र अरु कसैलाई भनिस् भने मारिदिन्छु भनेका घरिघरि सम्झन्थिन् । घटना भएको छ वर्षपछि उनको विवाह भयो । दुई छोरा जन्मिए । ‘कता कताबाट गाउँलेलाई घटनाबारे थाहा भएछ,’ उनले भनिन्, ‘आर्मीले बलात्कार गरेकी भनेर घृणा गर्छन् । परिवार, समाजमा बस्न गार्हो छ । मर्न पनि सकिँदैन ।’ दुबै हातले आँशु पुछ्दै उनले भनिन्, म निर्दोष मान्छे । गल्ती के थियो र मेरो चरित्रमाथि प्रश्न उठाउन ?’ उनलाई समाजमा आत्मसम्मानपूर्वक बस्न मन छ । सरकारसँग उनको यही माग छ ।

तेह्र वर्षको उमेरमा बलात्कारको पीडा भोग्न बाध्य अर्की बालिकाको पीडा पनि सुन्नै नसकिने छ ।

सबै परिवार सुतिरहेका बेला राति घरमा ढोका ढक्ढकाएको आवाज सुनियो । बाबुले ढोका खोले । ‘चारजना मान्छेले ‘बुबाआमालाई बोलिस् भने मारिदिन्छु’ भनेर मलाई हात समातेर ‘क्रान्तिका लागि हिँड’ भन्दै जबर्जस्ती तानेर लगे,’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘अँध्यारोमा आँखाले देख्न नसकिने, हिँड्नै नसकिने, जङ्गलको बीचमा एउटा ओडारजस्तो भेटियो । त्यही भात पकाएर खाए । मलाई पनि जबर्जस्ती खुवाए ।’

उज्यालो भयो भने सेनाको गस्ती आउँछ भनेर उनीहरुले सबै सामान झोलामा राखेको उनलाई सम्झना छ । उनीहरुसँगै लैजालान् भन्ने उनलाई लागेको थियो तर, उनले कल्पना नगरेको घटना भयो । ‘चारजनाले मलाई पालैपालो बलात्कार गरे, म बेहोश भएछु, मरे तुल्य बनाएर जङ्गलको बीचमा छाडेर गएछन्,’ त्यो घटना सुनाइरहँदा उनको गला अवरुद्ध भयो र विस्तारै उनले भनिन्, ‘होश आउँदा म रगतमा डुबेको थिएँ । शरीरमा कुनै कपडा थिएन ।’

जङ्गलको बाटो उनलाई थाहा भएन । हिँड्ने शक्ति पनि थिएन । उनले भनिन्, “पीडाले म रातभर बेहोश भई लडिरहें । उज्यालो भएर घाम लागिसकेछ । गाउँका एक व्यक्तिले परबाट मलाई देखेर अस्पताल लगेछन् ।’

घरमा उनलाई बाबुआमाले खोजिरहेका थिए । अस्पतालमा सामान्य उपचार भएपछि उनी आफैं विस्तारै घर गइन् । बाबुआमालाई पनि घटना सुनाइन् । शरीर पूरै दुःखेको थियो, ज्वरो आयो भनेर म केही दिन सुतें तर, अहिलेसम्म पनि त्यो घटना कसैलाई पनि भनेको छैन, मैले न्याय पाउने आशामा पहिलो पटक मुख खोलेकी हुँ,’ उनलाई त्यो घटना सम्झँदा अहिले पनि आङ सिरिङ् हुन्छ । उनले पीडा सहेरै एसएलसीसम्म पढिन् । घटना भएको सात वर्षपछि घरमा बिहेको कुरा आयो र बिहे भयो । उनको एउटा छोरो छ ।

‘त्यो घटना भएपछि मेरो पाठेघर खसेको थियो तर, मैले त्यो कुरा कसैलाई भनेको छैन, पाठेघर भनेको थाहा नपाउँदै खस्यो, तै पनि म सहेर चुपचाप बसें, अहिलेसम्म बसेको छु,’ उनले भनिन् । घटना थाहा पाएमा परिवार तहसनहन हुने पीर छ उनलाई ।

त्यो घटनापछि उनलाई धेरै मान्छे भएको ठाउँमा बस्न मन लाग्दैन । रुन मात्र मन लाग्छ । अरु हाँसीखुशी हिँडेको देख्दा पनि उनलाई आफ्नो जीवन देखेर धिक्कार्न मन लाग्छ । कुर्ताको सलले आँशु पुछ्दै उनले पीडा पोखिन्, ‘कति आँशु बग्यो, त्यो आँशु कस्ले देख्यो ? आँशुको मूल्य कति हो ? यतिका वर्षसम्म सरकार कहाँ छ ?’

उनलाई छोरो पढाउने र स्वास्थ्य उपचार गर्ने व्यवस्था सरकारले मिलाइदिए हुन्थ्यो भन्ने आशा छ ।

द्वन्द्वका बेलामा खासगरी नेपालको पश्चिम भेगमा बालिका बलात्कारका दर्दनाक घटनाहरु भए । अर्की एक बालिकाले पनि द्वन्द्वमा यस्तै अमानवीय पीडा सहनुपर्यो । कालीकोट नेपाली सेनाको गस्ती गाउँमा गयो । ती किशोरी, दुई शिक्षक र विद्यालयका अरु दुई दाइलाई अपरहण गरेर लग्यो । त्यो बेला उनी ११ वर्षकी थिइन् ।

उनकै अगाडि चारजनालाई सेनाले गोली हानेर मार्यो । उनको शरीर डरले कामिरहेको थियो । आफ्नो पीडा सुनाउँदै उनले भनिन्, ‘शिक्षक र दुई दाइलाई गोली हानेको देखेर डरले मेरो होश हराइसकेको थियो, आठ जनाले पालैपालो बलात्कार गरे । म बेहोश भएँ ।’ निकै बेर उनी निःशब्द भइन् । गला अवरुद्ध भयो । उनले विस्तारै आवाज निकालेर भनिन्, ‘बलात्कारपछि मलाई मर्न खोजेका रैछन् । मेरी ठूली आमाले ‘यो बच्चीलाई किन मार्छस्, मलाई मार’ भनेको सुन्दा मेरो होश खुल्यो ।’

घटनापछि उनी ठूली आमासँग घर फर्किन् । तर, उनले भोगेको त्यो अमानवीय यातना त्यतिमै सीमित भएन । उनले भनिन्, ‘नेपाली सेनाको गस्ती फेरि गाउँमा आयो । मलाई परिवारकै अगाडि बलात्कार गरियो । बाबुआमालाई बोलिस् भने गोली हादिन्छु भनेका थिए, डरले केही बोलेनन् ।’

घटनाका चारवर्षपछि उनको बिहे भयो । एक वर्षसम्म श्रीमान्सँगै बसिन् । तर त्यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन । उनी निकैबेर भक्कानो छोडेर रोइन् । पीडा भन्ने र सुन्ने दुवैलाई सहनै नसक्ने थियो । निकैबेर पछि साहस बटुल्दै उनले भनिन्, ‘श्रीमान्लाई आर्मीले बलात्कार गरेको भन्ने कुरा कसैले भनिदिएछ, त्यसपछि उनमा अमानवीय व्यवहार मात्र हैन, छिःछिः र दूरदूर गरेर घरबाट निकाले ।’ उनी त्यो बेला दुई महिनाकी गर्भवती थिइन् । श्रीमान्बाट छुट्टिए । उनलाई त्यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्यो । उनी जिल्लै छाडेर सुर्खेत गइन् ।

बाल्यकालमै सुनौला भविष्यका सपना चकनाचुर भयो । अहिले काम गरेर जीवन निर्वाह गर्न उनलाई कष्टकर भएको छ । ‘पाठेघर खसेको छ, भारी बोक्न मिल्दैन, अरुको भाँडा माझेर छोरो पाले, पढाउन सकिनँ,’ उनले भनिन् । उनले छोरोको जन्म दर्ता गर्न सकेकी छैन ।

द्वन्द्वपीडित साझा चौतारीले गत मङ्सिर र यही पुसमा सिराहा, कैलाली र पोखरामा मानवअधिकार उल्लङ्घनका घटनामाथि आयोजित द्वन्द्वपीडितहरुको ‘सत्यको बयान’ कार्यक्रममा बलात्कृत महिलाहरुले यसरी आ–आफ्ना कथाव्यथा पोखेका हुन् । गोप्य रुपमा उनीहरुलाई आफ्नो भोगाइ अभिव्यक्त गर्ने व्यवस्था आयोजकले मिलाएको थियो ।

कलिलै उमेरमा द्वन्द्वमा बलात्कारको पीडा भोगेका महिलाकोे पीडा दर्दनाक छ । त्यो पीडा पोख्ने ठाउँ उनीहरुले पाएका थिएनन् । राहत र सहयोगका नाममा एक रुपैयाँ पाएका छैनन् । विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बित्यो तर, उनीहरुको पीडामा मल्हम लगाउने काम भएन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अनुसार यस्ता पीडामा ३०८ जना महिला परेका छन् । ‘आयोगमा दर्ता भएका द्वन्द्वमा बलात्कृत महिलाको सङ्ख्या ३०८ छन्, उनीहरुले अहिलेसम्म केही राहत पाएका छैनन्,’ आयोगका सदस्य मञ्चला झाले भने, ‘आयोगले परिपूरणका लागि सिफारिश गर्छ । उनीहरुको परिपूरण तथा राहतको व्यवस्था सरकारले मिलाउँछ ।’

बलात्कारपीडित महिलालाई समाजमा घृणाका दृष्टिले हेर्ने गरेको अधिकाँश बलात्कृत महिलाको गुनासो छ । उनीहरु सम्मानपूर्वक बाँच्न चाहन्छन् । निर्दोष बालिकामाथि बलात्कार हुनु उनीहरुको दोष होइन । यो समस्यालाई सरकारले मानवीय ढङ्गले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भने, ‘बलात्कारपीडित महिलाका समस्यालाई सरकारले सम्बोधन गर्छ । कुन प्रक्रियाबाट उनीहरुको मागको सम्बोधन हुन्छ भनेर सरकारले आन्तरिक गृहकार्य गरिरहेको छ ।’ मन्त्री ढकालका अनुसार बलात्कारपीडितको मागप्रति सरकार गम्भीर छ ।

सरकारले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगको कार्यकाल पनि आगामी माघ २६ मा सकिँदैछ । आयोगमा उजूरी दिएका बलात्कारपीडित महिलाको स्वास्थ्य उपचार तथा जीविकोपार्जनमा राज्यबाट यथासम्भव सहयोग हुनुपर्छ भन्दा अतिशयोक्ति हुँदैन । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob