scheduleसोमवार श्रावण ६ गते, २०७६

मधेसः मिटर ब्याजमा यसरी हडपिन्छ दलितको सम्पत्ति

राजेश विद्रोही


सप्तरी, १६ पुस । सप्तरी खड्क नगरपालिका ३, गरुराहाका रवीन्द्र मोचीले कान्छी छोरीको विहे गर्न स्थानीय साहुसँग ऋण लिगे । ऋण लिँदा उनले तीनबर कपाली तमसुकसहित १४ धुर मूल्यवान जग्गा खड्क नगरपालिका-५ कै लालबाबु चौधरी कलवारलाई पास गरिदिए । मूल्यवान जग्गाबाट उनले केवल एक लाख पैसट्ठी हजार ऋण लिएका थिए ।

जग्गा राखेर निकालिएको ऋणबाट छोरीको विहेमा बाइक किनेर ज्वाईंलाई दाइजो दिए । हातमा राजमिस्त्रीको सीप भएकाले उनले विदेशमा खटेर महाजनको ऋण तिर्ने र जग्गा फिर्ता गराउने योजना बनाए । उनले चिनजानकै एजेन्ट शिबनन्दन चौधरीको प्रलोभनमा परी पासपोर्ट पनि दिए । विदेश जान पटकपटक गरी महाजन लालबाबुसँग पटकपटक गरी ९० हजार ऋण लिएर एजेन्टलाई दिए ।

एजेन्टले चार वर्ष कुरायो तर, पनि उनी विदेश जान पाएनन् । एजेन्टले न त पास्पोर्ट दिए न त पैसा नै । बरु सबै परिवार लिएर एजेन्ट विदेशतिर भाग्यो ।

पाँच वर्षमा रविको विदेश जाने उमेरले पनि डाँडा काटिसक्यो । उनले महाजनलाई दिएको जग्गा पनि गुम्ने खतरामा छ । २०७० सालमा महाजन लालबाबु चौधरीको श्रीमती जीवछी चौधरी जैसवालको नाममा जग्गा पास गरेर लिएको तीन लाख ४६ हजार ऋणमध्ये ०७३ र ०७४ मा एक/एक लाख गरी दुई लाख तिरे ।

अहिले दुःखसुख गरे रविन्द्र मोचीले महाजन लालबाबु चौधरीसँग आफ्नो जग्गा फिर्ता गराउन खोज्दा एक वर्षदेखि जालझेल गरिरहेको दुखेसो गर्छन् ।

‘तीन लाख छयालीस हजारमा दुई लाख तिरिसकेको छु । महाजनले ५ वर्षमा बाँकी रहेको एक लाख छयालीस हजारको सावाँ ब्याज गरी १६ लाख मागिरहेको पीडित मोची बताउँछन् । उनी भन्छन्, ‘तीन रुपैयाँ ब्याजले पनि महाजनको एघार लाख चानचुन हुन्छ । मैले उचित पैसा तिरेर आफ्नो जग्गा फिर्ता गराउन खोजेको छु । तर महाजनले मानेको छैन् । एक वर्षदेखि महाजनको दैलो चहारेको छु । हिसाबको नममा अल्झाउँदै आएका छन् ।’

उनी दुःख बिसाउँदै अगाडि थप्छन्, ‘ब्याज भन्ने जोडेकै छन् । कानुनीरुपमा उसको हात अगाडि छ । मनपर्दी गरेका छन् ।’

यसबारे महाजन लालबाबु चौधरीलाई प्रश्न गर्दा ‘तपाईलाई के चासो छ ?’ भन्दै प्रतिप्रश्न गर्छन् । उनी झोक्किँदै थप्छन्, ‘मेरो त्यतिनै पैसा हो । मैले भनिसकेको छु । एक पैसा पनि छोड्दिनँ ।’

मिटर ब्याज असुलेको बारे ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठलाई प्रश्न गर्दा उनले यस्तो कामलाई अपराधको संज्ञा दिए । श्रेष्ठ भन्छन्, ‘यो अपराध हो । मिटर ब्याजमा यसरी गरिब दलितको सम्पत्ति हडप्न पाईंदैन । पीडितले उजुरी दिए तुरुन्त कार्वाही गर्छौं ।’

त्यसो त, यसअघि पनि रविन्द्र खाडी मुलुक कतारमा पाँच वर्ष बसेका थिए । त्यहाँ काम गरेर कमाएको पैसाले जेठी छोरीको बिहे गरे । साथमा, ट्याक्टर किनेर गाउँमै स्वरोजगार पनि बने । विदेशको चक्करमा लागेका उनले ट्याक्टर नै बेचेर रकम विदेश लैजाने एजेन्टलाई सुम्पिए । तर, एजेन्ट शिवनन्दन चौधरीले उनको सारा सपना चकनाचुर पारे । यता महाजनको गलत हत्कण्डाले जग्गा फिर्ता गर्नु भन्दा बेच्ने दबाब परेको छ ।

बैंकबाट कम ब्याजमा पैसा लिएर गरिबको सम्पत्ति हडप्नेगरी महंगो जग्गा सस्तोमा श्रीमतीको नाममा पास गराउने र तीनगुणा बढी कपाली तमसुक बनाएर गाउँघरमा पैसा लगाउने उनको नित्य कर्म नै बनेको छ । दिनदहाडै अशिक्षित गरिबको सम्पत्ति हडप्ने गरे पनि सम्बन्धित निकायको ध्यान नगएको स्थानीयको गुनासो छ । ‘उनले त प्रहरी प्रशासन पनि मिलाइरहेका छन्,’ एक स्थानीय भन्छन्, ‘जता गयो उसैको जीत हुन्छ । उनीमाथि लेनदेनको थुप्रै मुद्दा चलिरहेको छ तर, फैसला उनकै पक्षमा हुने गरेको छ ।’

संघीय गणतन्त्र नेपालको संरचनाअनुसार स्थानीय सरकार निर्वाचित भए पनि जनप्रतिनिधिले गरिब गुरुवाको समस्यामाथि ध्यान दिन सकेका छैनन् । ‘खुलम्खुला गरिब लुट्ने काम भइरहे पनि न्यायको अधिकारसहित आएको स्थानीय तहले गरिबको पक्षमा कुनै काम गर्न सकेको छैन,’ एक स्थानीय भन्छन्, ‘समाजमा यस्ता थुप्रै रविन्द्र मोचीहरु छन् । जसले न्याय नपाउँदा पारिवारीक जीवनको झमेलामा फसेर रक्सीको भट्टीहरुमा कुकुरको जीवन बाँच्न विवश छन् । न्याय यहाँ एकादेशको कथा भइरहेको छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob