आप्रवासी बालबालिकाको मृत्युका लागि डेमोक्रेट्स जिम्मेवारः डोनाल्ड ट्रम्प
एजेन्सी, १६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिरासतमा राखिएका आप्रवासी बालबालिकाहरुको मृत्युको जिम्मेवार विपक्षी डेमोक्रेट्सलाई ठहर्याएका छन् । उनले ती बालबालिकाको मृत्यु डेमोक्रेट्सको खराब आप्रवासी नीतिको परिणाम भएको बताएका छन् ।
उनले भने, ‘उनीहरुको लाचारी नीतिहरुका कारण आप्रवासीहरुलाई अमेरिकामा अवैध तरिकाले छिर्ने मौका मिल्यो । जसकारण यो समस्याले अब विकराल रुप लिइसकेको छ ।’
बच्चाको मृत्युको बहानामा उनले मेक्सिकोसँग जोडिएको दक्षिणी सीमामा पर्खाल लगाउने आफ्नो महत्वकांक्षी योजनाको पनि कुरा उठाए । उनले ट्वीटमा लेखेका छन्, ‘आज यदि मेक्सिको सीमामा पर्खाल हुने थियो भने अमेरिका प्रवेश गर्नेबारे आप्रवासीहरु सोच्न पनि सक्दैन्थे ।’ ट्रम्पको यो पछिल्लो बयान अमेरिकी सीमा सुरक्षा फौजको हिरासतमा ग्वाटेमालाका दुई बच्चाहरुको मृत्यु भैसकेपछि आएको हो ।
ती दुबै बच्चाहरु आफ्ना अभिभावकसँग अवैधरुपमा अमेरिका प्रवेश गर्ने क्रममा हिरासतमा लिइएका थिए ।
डेमोक्रेट्स नेताहरु मेक्सिको सीमा पर्खाल बनाउने योजनाको कडा विरोधमा छन् । उनीहरु यसलाई बेकार र अप्रभावी बताउँछन् ।