scheduleबुधवार कार्तिक २७ गते, २०७६

आगोको भरमा बित्छ चेपाङको रात


चितवन, २१ पुस । पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताएका छन् ।

जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छन् । उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भर पर्नुपरेको हो । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउँछन् । आठ सन्तानका बाबु बुद्धिबहादुरले भने, ‘आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ ।’

चिसोले बालबच्चाको शरीर सुन्निएको र ज्यान काप्ने गरेको उनले बताए । कालिका नगरपालिकाको वाग्सुराङका रामचन्द्र चेपाङले आगो बाल्न दाउरासम्म पाउन मुस्किल भएकाले बालबालिका जोगाउन कठिन भएको बताए । लगाउने कपडा नहुँदा जाडो मौसममा सधैँ आगो ताप्नु पर्दा काम गर्न पनि नसकिएको उनले पीडा सुनाए ।

सोही क्षेत्रकी रेस्मीका चेपाङले गाउँमा साना बालबालिका र वृद्धवृद्धा बचाउन मुस्किल परेको जानकारी गराउँदै मौसममा कतिपयको जाडोले ज्यान लिने गरेको बताए । सिराइचुरीका भीमबहादुर चेपाङ आफ्ना दुई सन्तान जोगाउन मुस्किल परेको बताउँछन् । लाउने, ओढ्ने कपडा र खाने अन्न पर्याप्त नहुँदा समस्या परेको उनको गुनासो छ ।

राजबुकका भक्तबहादुर चेपाङले भने, ‘आगो तापिरहन्छौँ, जतिबेला निन्द्रा लाग्छ त्यही सुत्छौँ, आगो निभेपछि ब्युँझन्छौँ ।’ रातमा उठेर फेरि आगो फुक्ने र केटाकेटी तताउने गरेको उनले पीडा व्यक्त गरे ।

गाउँमा यतिबेला अलिअलि मकै, कोदो, सुन्तला र सागपात मात्रै छ । बस्तीका चेपाङहरु पैसा भए शहरबाट चामल किनेर ल्याउने गर्दछन् । चेपाङ बाहुल्यता भएको इच्छाकामनाका अध्यक्ष गीता गुरुङ सबैको उस्तै समस्या रहेको बताउँछन् । गाउँपालिकामा २५ हजार जनसङ्ख्या भएकामा नौ हजारभन्दा बढी चेपाङ जाति रहेको उनले बताए । साह्रै नै गाह्रो भएकालाई बाँड्नका लागि स्थानीय प्रशासनले १५० थान कम्मल पठाएको उनले जानकारी दिए । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage