scheduleमगलवार चैत्र १२ गते, २०७५

अपराधीको नाममा दर्जनौं महिलाले जेलभित्रै पठाए प्रेमपत्र ? होश उडाउने यस्ता छन् कारणहरु

एजेन्सी, २२ पुस । अमेरिकाको कोलराडोमा बस्ने क्रिस्टोफर वाट्सको पछिल्लो वर्षको अगस्ट महिनामा अचानक गर्भवती श्रीमती र दुई छोरीहरु वेपत्ता भएको खबर आयो । तर पछि प्रहरीले ती तिनैजनाको वेपत्ता हुनुको पछाडी वाट्सकै हात भएको पत्ता लगाए र वाट्सले पनि अपराध स्वीकार गरे ।

प्रहरीले बच्चाहरुको शव तेलका एउटा ट्यांकबाट र श्रीमतीको शव एउटा खाडलबाट बरामद गर्यो । वाट्सले अपराध स्वीकार गरेको केही हप्तापछि उनलाई आजीवन जेल सजाय सुनाइयो ।

क्रिस्टोफर वाट्स अपराधी भएको साबित भएपछि मिडियाहरुमा उनको निकै आलोचना भएको तर त्यसपछि एकाएक अचम्मका घटनाहरु श्रृंखलाबद्धरुपमा घट्न थले । उनी जेल परेको केही दिनपछि उनको नाममा प्रेम पत्रहरु आउन थाले । एउटा/दुईटा पत्र मात्र नभएर दर्जनौं प्रेम पत्रहरु उनको नाममा जेल आउन थाले ।

वाट्सलाई लेखिएका पत्रहरुमा अधिकांश महिलाहरुले लेखेका हुन्थे, ‘म तपाईकै बारेमा सोचिरहन्छु । मैले तपाईको अन्तर्वार्ता देखें र तपाईप्रति आकर्षित हुन थाले कतै न कतै मलाई लाग्छ तपाई एउटा राम्रो मान्छे हुनुहुन्छ ।’

ती सम्पूर्ण तस्वीरमा महिलाहरुले आफ्ना तस्वीर पनि पठाउने गर्थे । एकजनाले त आफ्नो बिकिनी तस्वीर पनि पठाएकी थिइन् ।

वाशिङटन पोस्टमा प्रकाशित एक रिपोर्टको अनुसार ती पत्रहरुमा एक महिलाले हैशट्याग प्रयोग गर्दै टिमक्रिस र लभहिम जस्ता शब्दहरु पनि प्रयोग गरेकी थिइन् ।

त्यस्तै एउटा अर्को महिलाले प्रेम पत्र लेख्दा आफू निकै डराएको किनभने त्यो आफ्नो जीवनको पहिलो प्रेम पत्र भएको उनले लेखेकी थिइन् ।

वास्तवमा क्रिस्टोफर वाट्स मात्र पहिलो हत्यारा वा अपराधी होइन जसको नाममा यस्ता किसिमका प्रेम पत्रहरु लेखिएका छन् । यस्तै उदाहरण यस अघि धेरै पाइएका छन् ।

७० को दशकमा टेड बण्डी नामका एकजना व्यक्तिमाथि तीसवटा हत्याका आरोपहरु थिए उनलाई फाँसीको सजाय पनि सुनाइएको थियो । तब टेडको नाममा कुनै एकजना अज्ञात महिलाले प्रेम पत्र लेखेकी थिइन् । यस्तै लस एन्जलसमा एउटा परिवारको हत्या गर्ने गिरोहको नेता चाल्र्स मैनसनको नाममा पनि धेरैवटा प्रेम पत्रहरु लेखिएका थिए ।

यस्तोमा प्रश्न उठ्छ कि आखिर हत्याराहरुप्रति महिलालाई किन प्रेम पलाउँछ

यसको एउटा प्रमुख कारण ‘हाइपरफीलिया’ हुनसक्छ । हाइपरफीलिया भएका महिलालाई त्यस्ता पुरुषहरुप्रति यौन आकर्षण हुनथाल्छ जसमाथि हत्या, हिंसा वा अपराधको आरोप लागेको हुन्छ । तर अपराधीको नाममा प्रेम पत्र लेख्ने सबै महिलालाई हाइपरफीलिया नै भएको हुन्छ भन्ने पनि हुँदैन ।

हाइपरफीलियाको माध्यमबाट सम्बन्धहरु बनेको घटना एकदमै कम छन् । अपराधीप्रति महिलाहरुको आकर्षण हुनुको पछाडी अन्य धेरै कारणहरु पनि छन् ।

‘वुमन अव मेन हु किल’ र ‘अमेन्डो ए क्रिमिनल’ जस्ता पुस्तककी लेखिका शीला इसनबर्ग यस मामिलामा भन्छिन्, ‘यो आकर्षणको एउटा कारण अपराधीको प्रसिद्धिप्रति महिलाको आकर्षण हुनसक्छ । मिडियामा भैरहेको लगातारको चर्चा र कवरेजको कारणले त्यस्ता महिलाहरु ती पुरुषहरुप्रति आकर्षित हुनसक्छन् ।’

इसनबर्गको अनुसार अपराधी चाहे कति नै घिनलाग्दो अपराधको भागिदार किन नहोस् तर उसले चर्चा कुनै सेलिब्रेटीले भन्दा कम पाएको हुँदैन ।

इसनबर्ग उदाहरणको साथमा स्पष्ट पार्दै भन्छिन्, ‘यदि कुनै महिलाले कुनै ठूलो सेलिब्रटीलािई पत्र लेख्छ भने उसलाई थाहा हुन्छ उसले त्यस पत्र पढ्दैन भनेर यदि उसले त्यही प्रेम पत्र कुनै अपराधीलाई लेख्छ भने उसले पढ्छ पनि र सम्भवत त्यसको जवाफ पनि दिनसक्छ । यति मात्र होइन त्यस्ता महिलाले पनि धेरै थोरै चर्चा बटुल्नसक्छन् ।’

आफ्नो पहिलो पुस्तक लेख्न अघि इसनबर्गले त्यस्ता तीसभन्दा धेरै महिलाहरुसँग कुरा गरिन् जसले हत्याका अपराधीहरुसँग यौन सम्बन्ध बनाएका थिए ।

ती सम्पूर्ण महिलाहरुमा एउटा समान कुरा के थियो भने ती सबैले आफ्नो परिवार वा पार्टनरबाट कुनै न कुनै प्रकारको हिंसाको सामना गरेका थिए । इसनबर्गको अनुसार महिलाहरु ती अपराधी जेलमा रहेको कारण तिनीहरुले आफूलाई कुनै हानी नपुर्याउने सोच्ने र एउटा सुरक्षित सम्बन्धको रुपमा हेर्ने गर्छन् ।

यस्ता प्रकारका आकर्षण र सम्बन्धलाई लिएर पेनिसिल्वियास्थित डिसेल्स विश्वविद्यालयकी प्राध्यापक कैथरीन रैम्सल्याण्ड महिलाहरुमा कुनै पनि व्यक्तिलाई बदल्नसक्ने विशेष प्रवृति हुने धारणा राख्छिन् । त्यस्ता महिलाहरु आफ्नो प्रेमको माध्यमबाट त्यस्ता व्यक्तिहरुलाई नयाँ जीवन दिनसक्ने विश्वास राख्ने बताउँछिन् । कैथरीन यस्ता मामिलाहरुको पछाडी जीव विज्ञान पनि एउटा कारण रहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘अनुसन्धानको अनुसार स्तनधारी जीवका मादाहरु त्यस्ता नरप्रति आकर्षित हुन्छन् जुन बढी स्वभावमा आक्रामक हुन्छन् । यही कुरा मानिसमा पनि लागू हुन्छ उनीहरु सामान्य पुरुषभन्दा आक्रामक पुरुषहरु प्रति धेरै आकर्षित हुन्छन् ।’

इसनबर्ग शक्तिशाली पुरुषप्रति यस्तो आकर्षण हुनुको पछाडी सामाजिक कारण औल्याउँछिन् ।

उनी भन्छिन्, ‘हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्छ । यस्तो धरातलमा महिलाहरु ती पुरुषलाई चयन गर्छन् जसको उनीहरुको रक्षा गर्न सक्षम हुन्छ र धेरै ताकतिलो हुनछन् । अब तपाई नै भन्नुहोस् एउटा हत्यारा भन्दा धेरै शक्तिशाली को देखिन्छ र ?’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob