scheduleसोमवार भाद्र २ गते, २०७६

गाउँपालिकालाइ पाँच रोपनी जग्गादान

सल्यान, २४ पुस । भाडामा सञ्चालन भइरहेको सल्यानको त्रिवेणी गाउँपालिकालाई स्थानीयले पाँच रोपनी जग्गादान दिएका छन् । त्रिवेणी–६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् ।

भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाई सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गादान गरिएको डम्बर शाहले बताए । ‘गाउँपालिकाको आफ्नै भवन होस् । सेवाग्राहीले सरल तरिकाले सेवा पाउन सकुन् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।

२५ लाख बराबरको पाँच रोपनी जग्गादान प्राप्त भएपछि गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले खुसी व्यक्त गर्दै पाँच जना दानवीरले गाउँपालिकालाई ठूलो गुण लगाएको बताएका छन् । उनले भने, ‘जग्गा अभावमा गाउँपालिकाको भवन बनाउन समस्या भइरहेको अवस्थामा अव भने सहज भएको छ ।’

जीवनमा केहि गरौँ भन्ने भावना अनुसार गाउँपालिकालाई जग्गादान दिएको जनाउँदै दान दाता रेमु श्रेष्ठले गाउँपालिकाले उक्त जग्गालाइ उपयोग गरेमा सबै पालिकाबासीको हित हुने विश्वास व्यक्त गरे ।

त्रिवेणी गाउँपालिकाले अब थप पाँच रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडि बढाउने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले यस वर्ष दान प्राप्त भएको जग्गाको माटो परिक्षण तथा डिजाइन स्टमेट गर्ने र अर्को वर्षदेखि भवन निर्माण कार्य थालनी गर्ने जानकारी दिए । ‘अर्को वर्ष भवन निर्माणका लागी बजेटको व्यवस्था हुन्छ,’ उनले भने, ‘भवन निर्माणपछि गाउँपालिकासहित विषयगत कार्यालय कुनै पनि भाडामा सञ्चालन हुनुपर्ने छैन ।’

अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयहरुको भाडा वापत वार्षिक १२ लाख रुपैयाँ खर्च भइरहेको डाँगीले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage