scheduleमगलवार बैशाख १० गते, २०७६

काँग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी काँग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले डा. गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित गरेको हो। सत्तारुढ नेकपामा सांसदहरुले बहुमत पुर्‍याउँदै विधेयक पारित गरेका हुन्।

काँग्रेसले भने डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपर्ने भन्दै विपक्षमा मत दिएको छ ।

बहुमतका आधारमा पास भएको प्रतिवेदनमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । साथै आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थालाई सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ । यो डा. केसी र सरकारबीच १० साउनमा भएको सहमति नै हो ।

प्रतिवेदनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भनिएको छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको छ । उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ ।

समितिको यो निर्णय डा. केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिस विपरित हो ।

माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने सिफारिस गरेको थियो भने सरकार र डा. केसीबीच पनि त्यही सहमति भएको थियो । तर, यो सहमतिले उपत्यका बाहिर पनि ८–९ वर्ष मेडिकल कलेज नखुल्ने अवस्था आएको भन्दै सत्तारुढ नेकपाका सांसदहरुको तर्क छ ।

यो प्रतिवेदनअनुसार विधेयक संसदले पास गरेमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नै उपत्यका बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिन सक्नेछन् ।

प्रतिवेदनमा सरकारले एउटा चिकित्सा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उल्लेख छ । सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा ऐन प्रारम्भ भएको ५ वर्षभित्र सरकारले मेडिकल कलेज सञ्चालन गर्नुपर्ने पनि भनिएको छ ।

उता डा. केसीले उपसमितिको प्रतिवेदन आएलगत्तै सहमति विपरीत विधेयक निर्माण भएको भन्दै अनसन बस्ने घोषणा गरिसकेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob