scheduleमगलवार जेष्ठ ७ गते, २०७६

शिक्षामा व्यापारिकणको अन्त्य गर्ने कि मलजल गर्ने ?

सन्तोष रायमाझी

विद्यार्थी आन्दोलन नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनको एक महत्वपूर्ण साधनको रुपमा परिचित हुँदै अघि बढिरहेको छ । नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ । २४० वर्षे राजतन्त्र फाल्न एउटा अग्र मोर्चा सम्हाल्ने सीपाहीको रुपमा विद्यार्थी आन्दोलनले अहम् भूमिका निर्वाह गरेको हो ।

अहिले व्यवस्था फेरियो । समय फेरियो । राजनीतिक उद्देश्य फेरियो । तर, त्यस अनुरुपको नयाँ सोच र संस्कार परिवर्तन गर्न विद्यार्थी संगठनहरु असमर्थ साबित हुँदै आइरहेका छन् । मूलतः नेपालको ऐतिहासिक संबिधानसभाबाट नेपालको संविधान बनेसंगै विद्यार्थी संगठनहरुले आफू र आफ्ना संगठनलाई ब्यापक रुपान्तरण गर्दै अगाडिको बाटो तय गर्नुपर्ने आवश्यकता स्वयम् विद्यार्थी संगठनहरुले पनि महसुश गरेका छन् ।

यदि विद्यार्थी संगठनहरुले आफूलाई रुपान्तर गर्दै नयाँ गन्तव्य पहिचान नगर्ने हो भने यो आन्दोलन विघटनको दीशातिर जाने खतरा रहन्छ । त्यसैले यो चुनौती पुर्ण घडीमा बदलिनु र बदल्नु सामान्य कुरा हैन । यसका लागि पहिले आफैंबाट सुरु गर्नु पर्छ ।

राजनीतिक परिवर्तन भय तापनि नेपालको संविधानमा उल्लेख गरिएको निःशूल्क आधारभुत शिक्षा तथा अनिवार्य माध्यमिक तहको शिक्षा कार्यान्वयन हुन सकेको छैन । यसको सफल कार्यान्वयन सामान्य ढंगबाट सम्भव नहुने कुरा सबैले बुझेकै छन् । वर्षौंदेखि सरकारको लगानी रहेको सार्वजनिक शिक्षालय कमजोर पार्दै व्यापार गर्न पल्केकाहरु खाइपाइ आएको दाना उम्कन यसै दिनेवाला छैनन् ।

राज्यको नितीनिर्माण तहमा शैक्षिक व्यापारीहरुको उपस्थितीले यसलाई अझै मलजल गरेको छ ! तर पछिल्लो समय जब उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरेको ७ बर्ष भित्रमा सबै निजी शैक्षीक संस्थाहरु गैरनाफामुलक संस्था अथवा गुठीमा बदल्ने कुरा ऐतिहासिक एवं स्वागत योग्य कदम हो । तर, यो कार्यान्वयन हुनेमा प्रशस्त शंका छ ।

हिसान, ब्याप्ब्सन, एनप्याब्सन जस्ता शिक्षाका दलाल संस्थाहरु, केही दलाल पुजिपतिहरु र केही ठुला मिडिया हाउसहरु यो प्रस्ताव हटाउन प्रयास गरिरहेका छन् । यो परिस्थितिमा सबै विद्यार्थी संगठन एकजुट भएर प्रस्तावको पक्षमा आवाज उठाएर सरकारलाई प्रस्तावको पक्षमा दवाव दिनु अनिवार्य छ ।

सन्तोष रायमाझी

यो त विद्यार्थी आन्दोलनको महत्वपूर्ण माग सरकार स्वयम् पुरा गराउने बाटोमा लम्कनु विद्यार्थी आन्दोलनको महत्वपूर्ण उपलब्धि हो तर बिडम्बना बिध्यार्धी संगठन स्वयम् यसप्रति खुलेर यसको स्वामित्व लिन तयार देखिदैनन् ।

केही समय अगाडी शिक्षा मन्रालय मा आयोजन भएको एक समारोहमा जिम्मेवार विद्यार्थी संगठनका अध्यक्ष स्वयम् यस निर्णय को विपक्षमा देखिनु एकदमै दुखलाग्दो बिषय हो । यसको पछाडी धेरै खेलहरु होलान् । तर, साँचै सबैका घोषणा पत्रहरु हेर्दा शिक्षामा भएको व्यापारिकरणको खुलेर बिरोध गरेको पाइन्छ ।

यस्ता भनाइ र गराइ को फरक हुदै जाँदा नेपाली समाजले के अपेक्क्षा गर्लान् त ? भोलिका पीडीले यो सोच्न आवश्यक छ । नत्र आउँदो पिँढीको लागि पनि दुर्भाग्य हुनेछ । देशमा असल राजनीतिक नेतृत्व पाउने आशा मरेर जानेछ । त्यसैले आसन्न स्ववियू निर्वाचनका लागि यो एउटा अवसर पनि हो विद्यार्थी संगठनको लागि गुम्दै गाएको छवि सुधार गर्ने ।

सार्वजनिक शैक्षिक संस्थाहरु सुधार गर्ने र निशूल्क शिक्षाको जुन नारासहित जुर्मुराएको विद्यार्थी आन्दोलन फेरि पुनर्गठनको बाटोमा लम्किन आवश्यक छ । यसमा विद्यार्थी संगठनहरुले ध्यान दिउन् । विद्यार्थी संगठनहरुले सोच्नु जरुरी छ कि अब शिक्षामा व्यापारिकणको अन्त्य गर्ने कि मलजल गर्ने ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob