scheduleमगलवार चैत्र १२ गते, २०७५

बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्छ, कसैले रोक्ने स्थिति छैन : प्रचण्ड

काठमाडौं, २७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्ने भन्दै दिमागमा आशंका नलिन आग्रह गरेका छन् । गोरखाको आरूघाट गाउँपालिका–९ मा दोस्रो आरूघाट महोत्सव–२०७५ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

महोत्सवको उद्घाटनकाक्रममा उनले भने, ‘अब हामी कसैले पनि दिमागमा आशंका लिनुपर्दैन, बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्छ । यसलाई अब कहीं कसैले रोक्ने स्थिति छैन । त्यसकारण के हुन्छ भन्ने आशंका नराख्न म सबैलाई आग्रह गर्दछु ।’

अध्यक्ष प्रचण्डले बुढीगण्डकीबाट जलविद्युत्का साथसाथै बहु–आयामिक फाईदा हुने भएकाले यसलाई राष्ट्रिय गौरवको परियोजनामा राखिएको बताए ।

प्रचण्डले आयोजना अगाडि बढाउने शिलशिलामा मुआब्जा वितरणको काम ढिलासुस्ती भएको स्विकार गर्दै सरकारले यसै आर्थिक वर्षमा उक्त काम सम्पन्न गर्ने आश्वासन दिलाए ।

उनले भने, ‘मैले यहाँ आउनुभन्दा अगाडि सरकारबाट तथ्याँक लिएर आएको छु । मैले जे बोल्छु त्यो प्रमाणिक तथ्याँक हुन्छ । उर्जामन्त्री र सरकारबाट यही आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने पूरा गर्ने प्रतिबद्धता छ । तपाईले सरकारको तर्फबाट बोलिदिनोस् भन्नुभएको छ । मुआब्जा निर्धारण अबिलम्ब अगाडि बढ्छ ।’

उनले विशेषज्ञका अनुसार ७ देखि ८ वर्षभित्रमा जलाशय आरुघाटसम्म आइपुग्छ भन्ने मान्यता रहेको भन्दै सोहीअनुसार निर्माण अघि बढ्ने बताए ।

उनले वर्तमान सरकार प्रतिपक्षी काँग्रेससँग नै मिलेर नै देशको आर्थिक समृद्धिमा अगाडि बढेको भन्दै अबको १० वर्ष देशको समृद्धि र आर्थिक स्थायीत्वको लागि खर्चिने बताए ।

उनले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धिको निम्ति खर्चिने बताएका थिए । अध्यक्ष प्रचण्डलाई स्थानीयले बुढीगण्डकी परियोजना छिटो अगाडि बढाउने विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob