scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

दुई ‘पागल’सँग पाँच दिन

सुदर्शन खतिवडा

मंसिरको तेस्रो हप्ता अर्थात् मंसिर १९ गते । चिसो छिप्पिइरहेको थियो । मदन राईले खोटाङ यात्राबारे अघिल्लै दिन सप्रसङ्ग व्याख्यासहित कडा निर्देशन दिइसकेका थिए ।

७ दशक समय बाँचिसकेका कृषि विज्ञ राईले जीवनमा दुःख र सुखको उत्कर्षानुभूति व्यहोरिसकेका छन् । पैदलै हिंडेर नेपाल त डुले नै, उनले उडेर र गुडेर विश्वका ७० भन्दा बढी देश घुमेका छन् । ९ वर्षमा कखरा सिकेका उनले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा पढे । नेपालमा सरकारी कर्मचारी बनेका उनी संयुक्त राष्ट्र संघीय परियोजनाहरुमा काम गर्दा विश्वलाई एक हदसम्म व्यहोरे । उनीसँग यात्रा गर्न उत्साह बढिरहेको थियो ।

‘समय, समानता, स्वतन्त्रता र समावेशितालाई आफ्नो जीवनमा लागू नगर्ने मानिस कहिल्यै सफल हुन सक्दैन । झन् नेता त बन्नै सक्दैन ।’ बुढ्यौली चढिसकेका मदन दाईले अघिल्लै दिन गहन विश्वासका साथ व्यक्त गरेको हरफले मलाई ४ बजे नै आँखा खोलिदियो । पौने ५ बजे कोटेश्वर पुग्न निर्देशन जो दिइएको थियो ।

हतार–हतार तयारी सकेँ । ट्याक्सीमा डबल भाडा तिरेर कोटेश्वर पुग्दा ४ः४५ भएको थियो । वास्तवमा म ‘डेनिस टाइम’ भन्दा अगाडि नै पुगेको थिएँ । मदन दाईको टोलीले मलाई ३० मिनेट कुराईदियो । सम्भवतः मान्छे जम्मा गर्दागर्दै उनलाई ढिलो भयो कि ! मदन दाई र मलाई डा.बाबुराम भट्टराईको टोलीले अर्को आधा घण्टा कुराइदियो ।

हाम्रो देशमा समयलाई पछ्याउने मान्छे ‘पंगू’ बनिदिन्छ । कुरिरहँदा चिसोले जिस्क्यायो । घरबाट प्रतिभाजीले प्रेमपूर्वक दिएको ‘तातो कफी’ नपिई दौडिएको थिएँ । चिसोले तर्साईंरहँदा उनको माया र कफीको तातो दुवै मिस गरेँ । कुराउनेको लाइनमा अरु पनि थिए तर, मदन दाईले ‘थप कुर्न नसकिने’ निर्णयसहित यात्रा अगाडि बढाए ।

यात्राअगाडि विश्वदीपजीसँग कुरा भएको थियो । ‘राई, भट्टराई, परशुराम खापुङ । बुढ्यौलीको लय समाउँदै गरेका डम्बर खतिवडा । बुढैबुढा । एक हप्ता सँगै हिड्दा म पनि पाँच वर्ष बुढो हुन्छु कि ?’

उनको जवाफ थियो, ‘राई र भट्टराईसँग हिंड्दा पाँच वर्ष बुढो होइन, १० वर्ष तन्नेरी भएर फर्कनुहुन्छ ।’ उनको निश्कर्ष सही निस्क्यो । उमेर त्यस्तै हो, तर सोच र जीवनशैलीमा बद्लाव ल्याउनुपर्छ भनेर नयाँ प्रतिवद्धता यात्राको क्रममा बलियो बन्यो ।

हाँस्ने बाबुराम

‘लौ मदनजी, यो यात्राभरीको कमाण्डर तपाईं है,’ डा. भट्टराईले निर्णय सुनाए । डा. भट्टराई, मदन दाई र मलाई एउटै सिटमा राखिदिए भट्टराईका नयाँ स्वकिय सचिव रोशन पोखरेलले । संघर्ष, अनुभव र ज्ञानका हस्तीहरुको बीचमा केहीबेर म निसास्सिएँ । कच्ची बाटोमा थचारिँदा मर्यादा बिथोलिँदो रहेछ । यात्रामा जीवनका प्रसंगहरु उप्किँदै गर्दा सहजता थपिँदै गए ।

अंग्रेजीमा एउटा भनाई छ, ‘पर्सेप्सन इज ग्रेटर द्यान रियालिटी ।’ बाबुराम भन्ना साथ मनभित्र चित्र बनेको छ– एक अन्तरमुखी स्वभाव भएका नेता । धेरै बोल्दैनन् । हाँसेको हेर्नु त दुर्लभ नै छ ।

तर त्यस्तो रहेन यसपालीको यात्रा । ‘रियालिटी’ स्वयम्ले व्यहोरेपछि ‘पर्सेप्सन’ क्षणभरमै बदलिँदो रहेछ । बाबुराम बाल्यकालका कुरा गर्न लागे । प्रधानमन्त्री केपी ओलीको प्रसंग आउनासाथ उनले सुनाउन थाले निदुली बाहुनको लोककथा । कथा सक्दै गर्दा उनी यसरी हाँसे कि झण्डै आँखाबाट आँसु नचुहिएको ।

खुलेर हाँस्दा मान्छे सुन्दर देखिन्छ । बाबुराम हाँस्दा धेरै सुन्दर देखिने रहेछन् । मान्छेको मुस्कानै मिठो । उनी किन अपवाद हुन सक्थे र !

झिनामसिना प्रसंगहरुले उनलाई नछुने रहेछ । जब ज्ञान, विज्ञान र राजनीतिका गहन प्रसंगहरु आउँछन्, त्यस्तो बेला बाबुरामको ‘अन्तरमुर्खी’को ‘पर्सेप्सन’ गल्र्यामगुर्लुम्म भत्कने रहेछ । सामाजिक सञ्जालमा पनि देखिन्छ उनको यो स्वभाव । उनी ‘कम्फर्ट जोन’मा बसेर भीडको ताली बटुल्नभन्दा सत्य बोलेर गाली बटुल्न तयार देखिन्छन् ।

सडकजस्तै जीवन र जीवनजस्तै सडक

सिन्धुलीको खुर्कोटमा हामी समयमै पुग्यौं । त्यहाँ नगर विकासबारे स्थानीय तहका पदाधिकारी र स्थानीयसँग अन्तरसम्वाद सकेर सिन्धुलीबाट मध्यपहाडी लोकमार्ग हुँदै खोटाङका लागि बाटो सोझ्यायौं । बाटामा थुप्रै कार्यक्रमको चाँजोपाँजो मिलाएका रहेछन् मदन दाईले । डा. भट्टराईको आगमनको खबरले खुसी रहेछन् विकटका नागरिकहरु । बाटामा जनप्रतिनिधिहरुदेखि स्थानीय नागरिकसम्म चोक चोकमा थुप्रिएका भेटिए । हातमा माला र मनमा आशा र विश्वास बोकेका स्थानीयहरुको आँखा पढिरहेको थिएँ ।
मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको एक योजना । टुहुरोजस्तै भएको रहेछ । संघीय सरकारको नजरमा नपरेको जस्तो । अभिभावक गुमाएको बालबालिकाजस्तै । योजना छ, प्राथमिकता छैन, बजेट छैन । धनबहादुर नाम भएका गरिबजस्तै ।

गाडीमा दाहिनेतिर थिए डा. भट्टराई । देव्रेतिर थिए राई दाई । उनीहरुको जीवनकथा पनि मध्यपहाडी लोकमार्ग जस्तै लाग्यो । जीवन अर्थात् संघर्ष । सत्यप्रति प्रतिवद्ध रहँदा भोग्नुपर्ने संघर्ष, दुःख, कष्ट र स्वभाविक अलगावहरु ।

सरकारले राष्ट्रिय गौरवको योजना चिन्न सकेन । सडकहरु अलपत्र छन् । डोजरले हरेक गाउँका हरेक भित्ताहरु कोपरिरहेछन् विकासका नाममा । डोजर ड्राइभर र डोजर साहू जनप्रतिनिधिहरुको नक्सांकनमा देश चलिरहेको छ । प्राथमिकतामा पार्नुपर्ने योजना सरकारले चिन्दैन ।

उमेरले बुढ्यौली कटिसकेका राई र भट्टराईहरु पनि उस्तैउस्तै लागे । समयले नचिनेका पात्रहरु ।

बाटामा समय र अनुशासनमा मदन दाई खरो उत्रिए र सफल पनि भए । आखिर कमाण्डर सफल हुँदा टोली नै सफल हुने न रहेछ ।   उदयपुरको घुर्मीमा आयोजित जनसभा पनि समयमै सकियो । ओखलढुंगाको हर्कपुरमा पार्टीले आयोजना गरेको जनसभा सम्बोधन गरेपछि टोली समयमै हलेसिका लागि प्रस्थान गर्‍यो ।

‘हेर्नुहोस् है डा. सा’ब, समयसँग मैले सम्झौता गरेको छैन नि,’ मदन दाईले घडी देखाउँदा डा. भट्टराई मुसुक्क हाँसिदिन्थे मात्र ।

सगरमाथा वरिपरि, सगरमाथा सँगसँगै
कच्ची सडक, नागबेली संरचना, अग्ला पहाडहरु नाघ्दै जयराम घाट पुग्दा भोकले थलिएका थियौं । मदन दाईले झोलाबाट खाजा झिक्नुभयो । भुटेको मकै र भटमासको बास्नैले अघाइने । स्कूले जीवन सम्झिएर नोस्टाल्जिक बनियो । ‘मकै त मलाई नि खुब मन पर्छ,’ डा. भट्टराईले सुरु गरे । हामी सबैले मकै भटमास चपाएर कालो चियासँगै पिउन थाल्यौं ।

बाहिरसँगै मकै खाँदै भट्टराईका पिएसओ धिरेन्द्र थपलिया । मैले सोधेँ, ‘धेरै नेताहरुसँग हिंड्ने गर्नुहुन्छ, कस्तो लाग्छ डा. भट्टराईसँग हिंड्दा ?’ उनले हाँस्दै जवाफ दिए, ‘खाजा चाहिँ यस्तै हो, ज्ञानगुनका कुरा चाहिँ अद्वितीय ।’

मलाई रमाइलो लाग्यो उनको प्रतिक्रिया । बाटामा ठेकेदारहरु स्वागतका लागि मिठो खाजा तयार गरेर बसेका थिएनन् । जयरामघाटमा स्थानीय क्लबका अध्यक्षले कालो चिया खुवाए र विकासका समस्याहरु बाँढे ।
खानपिन, लेखपढ, योगअभ्यास आदिमा पनि अनुकरणीय जीवनशैली रहेछ उनको । सधैं उनीसँग बस्ने सबैले सिक्छन् कि सिक्दैनन् ? अधिकांशतः प्रभावित नै पाएँ ।

फर्कंदा बाबुरामका धिरेन्द्रले डा.भट्टराईसँग सगरमाथालाई पर्दा बनाएर तस्बिर खिचे र सामाजिक सञ्जालमा पोष्ट गरे, ‘सगरमाथा वरिपरि, सगरमाथा सँगसँगै ।’

ओखलढुंगाको हर्कपुरमा पार्टीको कार्यक्रमसहित अन्य आधा दर्जन कार्यक्रम र भेटघाट सक्दै खोटाङ हलेसी पुग्दा घाम पश्चिमी डाँडामाथिबाट ओझेल परिसकेको थियो । हामीले त्रिधार्मिक केन्द्र हलेसीमा दुई दिन एक रात बितायौं । डा. भट्टराईले मिहिनरुपमा स्थानीय विविधताको अध्ययन गरे र स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्यमा रणनीतिक योजना बनाए । बुढेसकालमा बाबुरामको मेहनत र कामप्रतिको लगावले मलाई जिस्काइरह्यो । प्रश्नहरुले चिमोटे– मान्छे उमेरले युवा हुन्छ कि सोच र जीवनशैलीले ?

टुहुरा जनप्रतिनिधि, संकटमा संघीयता
बाटोमा जनप्रतिनिधिहरुले डा. भट्टराईलाई भव्यतापूर्वक स्वागत गरे । उनीहरुले भट्टराईसँग मनको कुरा खोले अविभावकको रुपमा, दुःखसुखको कुरा गरे । स्थानीय तहको विकास र समृद्धिको खाका कोर्न अनुरोध गरे । बाटामा जनप्रतिनिधिहरुबाट केन्द्रले संघीयतालाई माया गर्न नसकेको जस्ता धेरै गुनासाहरु सुन्नु पर्‍यो डा. भट्टराईले ।

सातै प्रदेशमा भन्दा सिंहदरबारमा बढी बजेट छ । जनप्रतिनिधिहरु यस्तैयस्तै तथ्यांकसहित भावनाहरु पोख्न आए ।

कतै संघीयताका वर्तमान अभिभावकहरु यसलाई रुचाउँदैन कि ? माया गर्दैनन् कि ? सफलता चाहँदैनन् कि ? नेकपा र कांग्रेसका जनप्रतिनिधिहरुको जीवन्त भोगाईसहितका आशंका स्वभाविक नै लागे मलाई ।

हलेसिपछि किराँतहरुको आदिम भूमि तुवाचुङ डाँडा (तुवाचुङ जायजुम) उक्लियौं । ठाडो उकालोमा डा. भट्टराई र ७ दशक काटेका मदन राई उत्साहपूर्वक उक्लिए । झण्डै डेढ घण्टाको उकाली ओरालीमा निकै थाकियो । पहिला डाँडा काडा चहारेकै ज्यान हो । लाग्यो, काठमाडौंमा नराम्रोसँग बिग्रिएछु !

डाँडामा तयामा खीयामाले कपडा बुनेको तानढुङ्गा खोक्चिलिपाको थान रहेछ । उक्त ठाउँलाई किराँत संस्कृतिको उद्गम स्थल या आदिमभूमि मानिँदो रहेछ । त्यहाँ किराँत चेली तायामा खियामाले धागो बनाई कपडा उत्पादनको लागि तान बुन्न शुरुवात गरेकी थिइन भन्ने किंबदन्ती रहेछ ।  एमाले, माले, संघीय समाजवादी फोरम हुँदै नयाँ शक्तिमा प्रवेश गरेका अनुभवी नेता सूर्य राईले मिहिन ढंगले उक्त स्थान र त्यसको ऐतिहासिक महत्वबारे बुझाउनुभयो । शालीन स्वभावका बौद्धिक नेताको शैली असाध्यै लोभलाग्दो लाग्यो । साथमा थिए मेयर, उपमेयरसहितका स्थानीय जनप्रतिनिधिहरु । उनीहरुले गाउँ नगरपालिकाको सीमा क्षेत्रसम्म पुगेर हार्दिकपूर्वक बिदाई गरे । छोटो बसाईमै पनि सम्बन्धको लामै डोरी बाटिइसक्ने रहेछ । भारी मनले छुट्टियौं ।

झण्डै १७०० मिटरको उचाईमा रहेको मदन–शुभद्रा फाउण्डेसनद्वारा सञ्चालित ‘शुभम् फाउण्डेसन’मा हाम्रो टिम त्यहाँ पुग्दा साँझ छिप्पिइसकेको थियो ।

प्रयोगात्मक तथा वैकल्पिक शिक्षाको अवधारणामा अभ्यासमा आएको खुल्ला स्कूलका नानीबाबुहरु हाम्रो स्वागतका लागि फूलका गुच्छा लिएर उभिए । आतिथ्यको अनौठो अभ्यास थिएन त्यो तर, हार्दिकताको मात्रा मनले अनुभूत गर्ने कुरा रहेछ ।

मदन दाईले डा. भट्टराईसहितलाई राखेर विद्यालयमा पालना गर्नुपर्ने अनुशासन र नियमका कुरा सञ्चार गरे । तीन दिनको कार्यतालिका सुनाए ।

कमाण्डर मदन दाई, भाँडा माझ्दै भट्टराई
पाँच बजेपछि जागरण गीतले झक्झक्याउन थाल्यो । ६ बजे मैदानमा उत्रिनुपर्ने । विद्यार्थीहरु शारीरिक व्यायाम र आ–आफ्नो काममा निस्किसकेका । भान्छा विभागका विद्यार्थीहरु भान्छा, पशु विभागका विद्यार्थी पशुगोठमा ।

कमाण्डरको आदेशअनुसार डा. भट्टराई समयमै आइपुगे । केही वरिष्ठ नेताहरु आइपुगेनन् । ‘सधैं कुर्नुपर्ने !,’ मदन दाई कड्किए, ‘नेता भनेको समयको पालना पनि हो । समय पालन नगर्नेलाई कसले नेता मान्छ, कसरी नेतृत्व गर्न सक्छन् ?’

‘बाबुरामजी, समय र अनुशासनमा पक्का । यस्ता नेताप्रति झन् सम्मान जाग्छ ।’ उनले अगाडि भने, ‘पूर्वप्रधानमन्त्री र दुनियाँले मानेको विद्वान नेता समयमा आउने, अनुशासन पालना गर्ने, आफूले खाएको भाँडा माझ्ने, टेबल पुछ्ने, तर … !’ समय पालना नगर्नेप्रति उनको स्वभाविक गुनासो थियो ।

हामी तीन दिनसम्म विद्यालयको संस्कार र शैलीसँग जोडिन खोज्यौं । हरेक क्रियाकलापहरु नजिकबाट नियाल्यौं । छलफल गर्‍यौं ।

पाठ्यपुस्तकमा सीमित रहेनछ विद्यार्थीको सिकाई प्रक्रिया र जीवन । सानै उमेरमा ट्याक्टरले खेत जोत्न त सक्छन् विद्यार्थीहरु, बिग्रिएको ट्याक्टर बनाउन पनि सक्दा रहेछन् ।

तरकारी बारीमा ज्ञान मात्र होइन, गणित पनि सिक्छन् विद्यार्थीहरु । प्रयोगशालामा बच्चाका सपनालाई सुत्रमा बदलिरहेका हुन्छन् । उनीहरु आफै फलाउँछन्, आफैं भान्छामा पकाउँछन् । खेतबारीको माटोमा मात्र होइन, प्रयोगशालाहरुमा मात्र होइन, उनीहरु कम्प्युटरमा पनि रमाउँछन् । इन्टरनेटमार्फत् संसारसँग जोडिन्छन् पनि ।

पुस्तक रगहिन छ । जीवन रंगीन छ । पुस्तकबाट मात्र कसरी सिक्न सक्छ मान्छेले ?

लगाउन मात्रै आउँदैन, सिलाउन पनि आउँछ । खान मात्रै आउँदैन, फलाउन र पकाउन आउँछ । सवारी चढ्न मात्रै आउँदैन, बिग्रँदा बनाउन मात्रै होइन, चलाउन पनि आउँछ ।

के-के सीप सिक्छन् त यहाँ विद्यार्थीले ?

सूचि लामो बन्छ जसले एकजना मानिसलाई पूर्णरुपमा आत्मनिर्भरोन्मुख बनाउँछ ।

बाटोमा हिंड्न मात्रै होइन, बाटो बनाउन पनि आउँछ । घरमा बस्न मात्रै आउँदैन, घर बनाउन पनि आउँछ । १० कक्षा पास गर्ने अंकसहित उनीहरुले १८ वटा जीवनपयोगी सीप सिकिसकेका हुने रहेछन् । कम्प्युटरदेखि कुटो, पुस्तकदेखि प्रकृति, आँगनदेखि अँगेनो, घोडादेखि कार, बोटदेखि नोट, आँसुदेखि अठोट । सिकाउन चाहे कतिधेरै सिक्न सक्दा रहेछन् भविष्यका कर्णधारहरु !

खोटाङको मदन शुभद्रा फाउण्डेशन नपुग्नुजेल मैले मदन राईलाई चिन्न सकेको रहेनछु । किनकी आदर्शका गफ दिनेहरुको कोलाहलमा बाँचिरहँदा असल र खराब मान्छे छुट्याउनै मुस्किल छ । नेता र धर्माधिकारीहरु दुवै उस्तै बनेका छन् । धर्म एजेण्डा र राजनीति विश्वास बनिरहेको समाजमा एक दुईपटक कुरा गर्दैमा, भेट्दैमा मानिसहरुलाई पत्याइहाल्न मुस्किल छ ।

तीन/चार दिन फाउण्डेसनमा बस्दा, विद्यार्थीको जीवनशैलीसँग जोडिँदा अल्लारेलयमा जनवादी शिक्षाको नारा लगाएका दिनहरु याद आए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नेगरी भइरहेको जीवन्त शैक्षिक अभ्यासले शिक्षालाई सजिलै बुझाइदियो । किताबका पाउलो फ्रेरे र गिजुभाईहरु फाउण्डेसनमा मदन राईको अवतारमा काम गरिरहेका रहेछन् खेतमा, प्रयोगशाला, पुस्तकालयमा, भान्सामा, गोठमा, खोरमा, पोखरीमा, जंगलमा …।

इन्द्रेणी स्कूल
सुभम स्कुलमा अहिले ३ कक्षादेखि डिग्रीसम्मका १५० बढी आवासीय विद्यार्थीहरु अध्ययनरत रहेछन् । रुकुमका जीवन बिकदेखि सर्लाहीका प्रिन्सकुमार यादवसम्म, सिराहाका अभिशेख रामदेखि दोलखाका मनिष थामीसम्म, डोल्पाका खिमबहादुर शाहीदेखि धादिङ्गकी सञ्जिता चेपाङ्गसम्म १४ जातिको इन्द्रेणी शुभमको काखमा हुर्किरहेको । विविधताको समागमबाट निस्कने नयाँ संस्कार मानव सभ्यताको सुन्दर उपहार हो ।

शुभम्को आँगनवरिपरि रंगीचंगी फूलहरु फुलिरहेका छन् । सँगसँगै विविध पहिचान बोकेका मानिसहरु पनि फुलिरहेका छन् । मदन दाईले हुर्काएको समावेशिताको संसार सिंगो राष्ट्रभरी सामान्यीकरण गर्न सके !

त्यसो त, मदन दाईको सपना छ कि ३६ जिल्लाका ४६ जातजातिको अहिलो उपस्थिति अझै फराकिलो होस् । मदन दाई ओठले मात्रै आदर्श गाउँदा रहेनछन्, उनी जीवनशैलीमा आदर्श उतार्न प्रतिवद्ध रहेछन् । ओठले मात्रै ‘सयौं थुंगा फूलका हामी’ गाउँदा रहेनछन्, उनले त व्यवहारमा गाउँदा रहेछन् ।

दुःख सिकाउने स्कूल

मदन दाई भन्छन्, ‘यो दुःख सिकाउने स्कूल हो ।’ उनी यसलाई गुहु, मूत र पसिनाको विद्यालय भन्न पनि रुचाउँछन् ।

‘दुःख नै नभन्ने कि ?’ डा. भट्टराईको नोट अफ डिसेन्ट रहन्छ ।
‘केटाकेटीलाई सुविधासम्पन्न जीवन मात्र दियाे भने असुविधामा चरम दुःख पाउनेछन्,’ मदन दाई भन्छन्, ‘असुविधाहरू जीवनकाे अभिन्न पाटाे हुन् ।’ दुःखको औचित्य पुष्टि गर्ने उनले प्रयत्नले शब्दमा संशोधन हुने कुनै छाँटकाँट मैले देखिनँ ।

दुःख समुद्र न हो जहाँ छालहरु आउँछन्, कहिले उतार्छ, कहिले डुबाउँछ । कहिले शान्त हुन्छ कहिले उम्लन्छ । जे होस् यसले पौडन सिकाउँछ । यसले जीवन बाँच्न सिकाउँछ ।

पुरानो शिक्षा प्रणालीबाट निराश भएर कृषिविज्ञ मदन राईले सुरु गरेको शुभम्मा काम मात्रै हुँदैन, खेलकूद र नाँचगान पनि हुन्छ । मदन दाई भन्दैथिए- यसपाली सबैलाई नचाउँछु ।
‘मलाई त नाँच्न आउँदैन,’ भट्टराईले भने । मैले समस्या साझा भएको बताएँ ।
‘लौ त्यसोभए म कसैलाई छाड्दिनँ,’ मदन दाई हौसिए ।
नभन्दै भोलिपल्ट विद्यार्थीसँग छमछमी नाँचे भट्टराई । म क्यामेरा बोकेर उभिएँ । हैट, कसो नाँच्नु परेन !

यी सबै गतिविधिसँग जोडिएका विद्यार्थीको प्रतिवद्धता हुन्छ- म निरोगी बन्छु । म निष्पक्ष बन्छु । म निडर बन्छु ।

विद्यालयभित्र उल्झन र ईर्ष्या होइन, सिर्जना र सहयोगको संस्कार रहेछ । विविधताको अपूर्व संगम पनि ।

शुभम्को शिक्षा नीतिको मेरुदण्ड रहेछ अर्थतन्त्र शिक्षा । स्कूलीय वातावरणमा कृषि, उद्योग, व्यापार र सेवा क्षेत्र अर्थतन्त्रका खास खम्बाको रुपमा अभ्यासरत छन् विद्यार्थीहरु ।

कृषिलाई खास जोड दिइएको रहेछ । झण्डै तीनरचार घण्टाको वरिपरि फैलिएको छ शुभम् जहाँ खाद्यवाली, तरकारी खेती, वन, फलफूल र पशुपालनको जीवन्त अभ्यास गर्छन् विद्यार्थीहरु । फलफूल खेतीको लागि पूर्वाधार बन्दै छ ।

किबीको बिरुवा हुर्कँदैछ । पशुपालन अभ्यास नै भइरहेको छ । ‍औद्योगिक शिक्षाका लागि वर्कशपहरु बनिसकेका छन् । ग्यारेज, मेटल वर्कशप र स-मिलमा रुचिका साथ काम गरिरहेका विद्यार्थीहरु देख्दा लाग्छ- विद्यार्थीहरु पुस्तक अलिअलि र जीवन धेरै बढी सिकिरहेका छन् ।

अर्को दिन उकालो चढेर बायो डाइभर्सिटी केन्द्रमा पुगियो जहाँ मदन राईको ‘ड्रिम प्रोजेक्ट’ सञ्चालन हुनेछ । त्यहाँ उनले ‘सेभेन स्टार’ होटेल र ‘गल्फ मैदान’ बनाउने सपना साँचेका छन् । त्यहाँ खाएका अर्गानिक खानेकुराले सम्झिँदै मुख रसाउँछ ।

रम्बाको पानीमा उनले ट्राउट सेन्टर खोलेका छन् । रुपाकोट डाँडाको काखमा करिब २२०० मिटर उचाइमा छ यो ट्राउट प्रजनन केन्द्र । माछापालनको ज्ञान र सिप दिन यो खुल्ला स्कुलको एउटा कक्षा हो ।

मदन राईले आफ्नो शिक्षा नीतिलाई विभिन्न सुत्रहरुमा बुनेका छन् । विद्यालयभित्र क्रान्ति छिराएका छन् उनले तीन ‘क’ को रुपमा । त्यो हो कोदालो क्रान्ति, कलम क्रान्ति र कम्प्युटर क्रान्ति । अर्थात् गर्दै सिक्ने, सिकेको कुरा लेख्ने, र, सिकेको कुरालाई संसारभर फैलाउने । त्यसैले दिनभरी खेतबारी र प्रयोगशालामा काम गर्ने विद्यार्थी बेलुका डायरी लेख्छन् र इन्टरनेटमार्फत् संसारसँग जोडिन्छन् ।

हरेक नेपाली ‘ग्लोबल सिटिजन’ हुनुपर्छ भन्छन् मदन राई । त्यसैले उनले विद्यालयमा नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा पढाउँछन् । यसमा आफ्नो एक स्थानीय भाषा थप्दा सुनमा सुगन्ध हुने उनको विश्वास छ ।

कस्तो कक्षाकोठा, कस्तो शिक्षा ?

सबैभन्दा रोचक त मदन राईको कक्षाकोठा हो । मदन राईको शिक्षक र शिक्षाबारे गज्जबको संश्लेषण छ । उनी भन्छन्, ‘मास्टरले किताब पढाउन थालेपछि किसान र खेती ध्वस्त भयाे, नेताले मास्टर पढाउन थालेपछि मास्टर शिक्षक भए । शिक्षा नाश भयाे ।’ यो गल्तीबाट सिक्न र बदल्न चाहन्छन् उनी ।

त्यसैले शुभम्को कक्षाकोठा कोठाको चारभित्तामा मात्र सीमित छैन । उनले ‘लर्निङ पिरामिड एप्रोच’ लागू गरिरहेका रहेछन् । मान्छेले सुनेर ५ प्रतिशत, पढेर १५ प्रतिशत, श्रव्यदृश्यबाट ३० प्रतिशत, गरेर ६० प्रतिशत र अरुलाई सिकाएर ९० प्रतिशत सिक्छ । यसलाई उनले ‘सम्पूर्ण शिक्षा’को रुपमा पनि व्याख्या गर्छन् । यो विधिमा सबै शिक्षक विद्यार्थी र सबै विद्यार्थी शिक्षक पनि ।

जहाँ तलबी शिक्षक खासै चाहिँदैनन् र शिक्षक र विद्यार्थीको विभाजन पनि छैन । माथिल्ला कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई सिकाउँछन् । डिग्रीका विद्यार्थीले बाहिरका सरकारी कलेजमा भर्ना गरेका हुन्छन् । तर, उनीहरु खुल्ला स्कुलमा नै स्वअध्ययन गर्छन् । जाँच दिन मात्र जान्छन् ।

विद्यार्थीहरु आफूले उत्पादन गरेको कृषिउपज बोकेर दिक्तेलको हात बजारमा पुग्छन् । उत्पादनलाई बजारसँग जोड्न तरकारीदेखि सुंगुरको पाठोसम्म बोकेर विद्यार्थी आफैं बजारमा उत्रँदा रहेछन् ।

कामलाई वर्गीकृत गर्ने अहंकारी अभ्यासविरुद्ध मदनको गज्जबको सोच र कर्म रहेछ यो । विस्तारै विद्यार्थीहरु आत्मनिर्भर हुँदै गइरहेको मदन दाईको अनुभव छ । महंगो संरचनालाई उनी उत्पादनसँग जोडेर पूर्ण आत्मनिर्भर बनाउन चाहन्छन् । उनको चाहना यथार्थमा रुपान्तरण पनि भइरहेको छ ।

उनले निशुल्क शिक्षालयको अवधारणा र सपना यसरी साटे, ‘यहाँ विद्यार्थीहरु खाएर मात्र बस्दैनन् । अभ्यास पनि गर्छन्, अभ्याससँगै काम हुन्छ र उत्पादन पनि हुन्छ । अहिले नै हामी दूध र तरकारीमा आत्मनिर्भर छौं । केही वर्षभित्र खाद्यान्न बालीमा पनि आत्मनिर्भर हुन्छौं । उद्योगले पनि आम्दानी दिन्छ । व्यापार, सेवा र होटल रेस्टुराँपछि बचतमा जान सक्छौं । अहिले त घाटा नै छ ।’ घाटा पूर्ति गर्न उनले आफ्नो जीवनको कमाई र सम्पर्कलाई सदुपयोग गरिरहेको बताए ।

उनको व्याख्या र वचनहरु एक दुईपटक सुन्दा लाग्छ- उनी एक पागलपन भएका मानिस हुन् । उनी आफैं स्वीकार्छन्- ‘तत्वज्ञानले जगत र जीवनको ज्ञान सिकाउँदो रहेछ । सम्पत्ति, स्वार्थ सबै बेकार छन् ।’ उनको जीवन भोगाई र सिकाईको निष्कर्ष छ- ‘मानिसकाे समस्या तत्व हाे । समाधान तत्व ज्ञान ।’

‘म गुहुकाे थुप्राेमा, मुत र पसिनाकाे ड्रममा संसार देख्छु । तत्वज्ञान नहुनेहरुले ममा पागलपन देख्न सक्छन्,’ उनको बुझाई छ ।

युरोप अमेरिकादेखि गाउँबेसीमा

केही समयअगाडि युरोप र अमेरिकामा वैज्ञानिक, विद्वान र विश्वविद्यालय चहारेर डा. भट्टराई पुनः दुर्गम गाउँ पस्दैछन् । मध्यपहाडी लोकमार्ग अभियानको वैज्ञानिकताबारे यही यात्रामा बाबुरामको विश्वास बाक्लिएको मैले पाएँ । फलस्वरुपः उनी सिक्किमसँग सीमा जोडिएको पाँचथरको चिवाभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुङ्गिने १ हजार ७ सय ६० किमी लामो मध्यपहाडी लोकमार्गमा लङ्ग मार्च गर्दैछन् । माघ १५ देखि फागुन १५ सम्मको यो यात्रामा उनले बदलिँदो समाजको बदलिँदो आवश्यकता जाँच्नेछन् र एउटा निष्कर्ष निकाल्नेछन् । राजनीतिक जीवनमा अर्को क्रमभंगको लार्भाले यही अभियानमा परिपक्वता प्राप्त गर्नेछ सम्भवतः ।

०६५ मा अर्थमन्त्री हुँदा बजेट बक्तव्यमा भट्टराईले यसलाई ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ नामाकरण गरी बजेट समेत विनियोजन गरेका थिए । यो ‘लङ्ग मार्च’मा राष्ट्रिय गौरवको एउटा योजनासँगै राष्ट्रिय गौरवको राजनीति ब्युँताउन मेहनत गर्नेछन् ।

दुई पागलसँग पाँच दिन

घर फर्कँदै गर्दा बाटामा बाबुरामले मदनलाई सम्झिए । भट्टराईले यात्रानुभूति बाँढ्ने क्रममा निष्कर्ष सुनाए, ‘हलेसी धाम त्रिधार्मिक तीर्थस्थल । मदन फाउण्डेसन शैक्षिक तीर्थस्थल ।’ उनी रोकिएनन्, ‘हामीले जनयुद्ध भरी जनवादी शिक्षा भनेर नारा लगाइयो, अभ्यास त मदन राईले यता गरेका रहेछन् ।’ गहिरो आत्मस्विकारोक्तिपछि फुर्ने भट्टराईको हाँसो साह्रै उदात्त र सुन्दर लागे मलाई ।
भट्टराई गुनगुनाउँदै थिए, ‘ केही नयाँ काम गर्न मान्छेमा अलिकति पागलपन त चाहिने नै रहेछ । जर्ज बर्नार्ड शाले- संसार नै पागल बन्दा कसैले पागलपनलाई बुद्धिमत्तापूर्वक स्वीकार्नुपर्छ । अन्ततः त्यही पागलपनलाई संसारले नै स्वीकार्छ भनेका छन् । मैले समाजले कोल्टो फेर्दैछ, कि पार्टीहरु नयाँ हुनुपर्छ कि नयाँ पार्टी विकल्पको रुपमा आउनुपर्छ भन्दा संसारले बाबुराम बहुलायो भने । अलिअलि पागलपन त म सँग पनि छ कि !’

यसो सोचेँ, शिक्षामा मदन राईजस्तै राजनीतिमा बाबुराम पनि धेरथोर पागलपन भएको व्यक्ति हुन् नै । मूल सडककै दायाँ बायाँ तर्किएर होइन, ८ दशक लामो राजनीतिक आन्दोलनले जकडिएको राजनीतिक संस्कार फेर्ने जुवा बाबुरामले पनि खेलिरहेका छन् ।

दुई तिहाईको कम्युनिष्ट सरकार छ । बाबुराम बाहिर बसेर वैकल्पिक राजनीतिको बिरुवा हुर्काइरहेका छन् । बोर्डफस्ट बाबुरामले राजनीति रोज्दा होस् वा युद्धमा होमिँदा होस्, पागलपनलाई माया नै गरेका हुन् जुन अहिले पनि निरन्तरता दिइरहेका छन् ।

बुढेसकाल लागेको मान्छे, त्यसमा पनि ‘मोटर लाग्ने’ समस्या । तर पनि बाटामा बाक्लै गफियौं । विकासको असमान वितरणविरुद्ध यात्राभरी उभिए । गाउँमा छरिएका बस्ती र अभाव देख्दा गान्धीको स्वराज र आधुनिकीकरणको फ्युजनको मोडेलबारे कच्ची बाटोमा पक्की सपना बाँढ्न छाडेनन् उनले । दर्शन र विज्ञानलाई जोड्न उनले दिएको जोड, समाज विकासको नियम पर्गेल्दै राजनीतिमा दिन चाहेको नयाँ मोड । उनको प्रतिवद्धता थाहा पाउँदा मलाई लाग्यो- मध्यपहाडी कच्ची सडकजस्तै उनको मष्तिष्कमा नयाँ विचारको कच्ची गोरेटो कोरिँदै छ ।

उता, समाजवाद उन्मुख संविधान कार्यान्वय गर्ने सपना बाँडिएको देशमा निजीकरण फस्टाइरहेको छ । मदन वैकल्पिक र जीवनपयोगी शिक्षामा जीवनभरीको ऊर्जा र आर्जन लगानी गरिरहेका छन् । यी दुवै पात्र धेरथोर पागलपन भएका व्यक्ति हुन् । दुई ‘पागल’हरुसँग पाँच दिन बिताएर घर फर्कंदा साँझ छिप्पिँदै थियो, साथमा चिसोपन पनि । तर, मनभित्र भने तापक्रम बढिरहेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob