scheduleबिहिवार बैशाख १२ गते, २०७६

हुम्लाको तापक्रम पुनः माइनसमा, भारी हिमपातले यातायात बन्द

हुम्ला, ११ माघ । मौसममा बद्ली भएपछि हुम्लालगायत कर्णाली प्रदेशका अन्य जिल्लामा पुनः हिमपात शुरु भएको छ ।

हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । सिमकोट विमानस्थलमा हिउँ पन्छाउने कार्य प्रभावित भएको छ । गएको सोमबारदेखि लगातार परेको हिउँ पग्लन नपाउँदै पुनः हिमपात हँुदा यहाँको दैनिकीमा समस्या भएको स्थानीय राजबहादुर बोहराले बताए । हिमपातका कारण सवारी साधन अवरुद्ध छ । बजार पनि सुनसान बनेका छन् । पाँच दिनदेखि हवाई सेवा सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामानको समस्या देखिन थालेको सिमकोटका व्यापारीले बताएका छन् ।

हिमपातले हुम्लाको तापक्रम पुनः माइनसमा झरेको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँमा जनजीवन बढी प्रभावित बनाउनुका साथै स्थानीयलाई घरबाट बाहिर निस्कनसमेत समस्या बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले जिल्लाको दक्षिण गाउँपालिकाका सरकारी तथा गैरसरकारी कार्यालय आज दिनभर बन्द भयो ।

तीन जिल्लाको यातायात बन्द

त्यसैगरी, सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहुँदा यातायात बन्द भएको छ ।

दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन । दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका यातायात साधन बैतडीको खोड्पेमा जाममा परेका छन् ।

जयपृथ्वी राजमार्गको खोड्पे, ढोल्यामोड र श्रीभावर र दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ, बजारलगायत क्षेत्रमा करीब छ इञ्च बाक्लो हिउँ जमेको छ । राजमार्गमा जमेको हिउँ हटाउन राति हिउँ लगातार पर्ने गरेकाले सडक खुलाउने पहल भएपनि लगातारको पानी र हिमपातले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

चार दिनदेखि बैतडी जिल्ला सदरमुकाममा बिजुली नभएकाले जनजीवन प्रभावित भएको छ । टेलिफोन अवरुद्ध भएको र मोबाइल फोन चार्ज गर्न समस्या भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob