scheduleबिहिवार बैशाख १२ गते, २०७६

म्यासेन्जर, इन्ट्राग्राम र ह्वाट्सऐपलाई एक बनाउँदै फेसबुक


काठमाडौं, १२ माघ । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सऐप र म्यासेन्जरमा आफ्नो सन्देश सेवालाई एकसाथ लैजानेबारे परामर्श सुरु गरेको छ ।

यी तीनै सोसियल मिडिया प्लेटफर्मले अहिले अलग-अलग मोबाइल ऐपको रुपमा काम गरिरहेका छन् । तर, यी तीनमध्ये एकबाट अर्कोमा सजिलै सन्देश पठाउन सक्नेगरी फेसबुकले जोड्नेगरी तयारी गरिरहेको खबर न्यूयोर्क टाइम्सले लेखेको छ ।

यद्यपि, फेसबुकका अधिकारीले बीबीसीसँग कुरा गर्दै यो एक लामो प्रक्रियाको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । यो योजना सफल भएमा फेसबुक चलाइरहेका कुनै पनि व्यक्तिले ह्वाट्सऐपमा पनि सन्देश पठाउन सक्नेछन् । तर, तत्काल यो काम गर्न असम्भव छ किनकी यी तीनले फरक फरक काम गर्छन् र यिनीहरुबीच कुनै साझा स्थान छैन ।

फेसबुकले यो अप्ठेरो काम भने सुरु गरिसकेको छ । यो वर्षको अन्तिम वा २०२०को सुरुमा यो अभियान पूरा हुने विश्वास लिइएको छ । प्रयोगकर्तालाई यी तीनैको उपयोगिता बढोस् र यसमा नै बढी समय बिताउन् भन्ने उद्देश्यका साथ मार्क जुकरवर्गले यो काम सुरु गरेको बताइएको छ ।

कस्तो योजना र कति महत्वपूर्ण ?
टेक वेबसाइट द वर्जका मकेना केलीका अनुसार अलगअलग प्लेटफर्ममा उपस्थित आफ्ना सबै प्रयोगकर्तालाई एकसाथ ल्याउने कम्पनीको कुल प्रयोगकर्ताको आंकडा त बढ्ने त छँदैछ, साथै गुगल र एप्पलको म्यासेज सेवासँग प्रतिष्पर्धा गर्ने उसको तयारी पनि गज्जब हुनेछ ।

एक कुराकानीले फेसबुकले भनेको छ, ‘हामी म्यासेज सेवामा प्रयोगकर्तालाई उपयोगी अनुभव दिन चाहन्छौं ताकि उनीहरु छिटै, सरलताका साथ र आफ्नो निकटता कायम गर्दै एकअर्कोसँग सम्पर्क गर्न सकून् ।’
उसले अगाडि भनेको छ, ‘हामी आफ्नो म्यासेज सेवामा इण्ड टु इण्ड एन्क्रिप्सन पनि ल्याउँदैछौं र प्रयोगकर्ता अलगअलगत प्लेटफर्ममा आफ्नो साथी र नातेदारसँग सम्पर्कमा रहन सकून् भन्ने प्रयास पनि गरिरहेका छौं ।’

यी तीनै प्लेटफर्मलाई एकआपसमा जोड्नु फेसबुकका लागि एक ठूलो परिवर्तन हुनेछ किनकी अहिलेसम्म तीनवटै प्लेटफर्ममा प्रयोगकर्ताहरु स्वतन्त्ररुपले काम गर्न मात्र सक्षम छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob