scheduleबिहिवार बैशाख १२ गते, २०७६

समृद्विमा लाग्नुपर्ने बेला विरोधमा समय सकिँदै गएको भन्दै काठमाडौंका मेयरको चिन्ता

काठमाडौं, १३ माघ । शहिदको सपना पूरा गर्न समृद्वि र नागरिक स्वाधीनताका लागि काम हुनुपर्नेमा विरोधले समय सकिँदै गएको भन्दै काठमाडौंका महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चिन्ता व्यक्त गरेका छन् । शहिद सप्ताहका कार्यक्रमअन्तर्गत आइतबार धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको काठमाडौंस्थित सिफलमा आयोजना गरिएको स्मृति सभामा बोल्दै मेयर शाक्यले राजनीतिमा विरोध गर्ने संस्कृति हावी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

संघीय संसदमा भएको चर्काचर्कीदेखि महानगरले काम गर्न खोज्दा जसरी पनि बिरोध गर्नेले अपेक्षित उपलब्धी प्राप्त गर्न नसकेको उनको भनाइ छ । ‘शहिद त धरै छन् तर नाम भन्ने बेला चार शहिदको नाम आउँछ किनभने उहाँहरुले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर सामूहिक समृद्विका लागि ज्यानको बाजी लगाउनु भयो । त्यो बाटो हामीले अनुसरण गर्नुपर्छ ।’ मेयर शाक्यले जोड दिए ।

सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले, पदीय दायित्वबमोजिमको जिम्मेबारीले मात्र शहिदको सपना पूरा हुनेमा जोड दिए । सभामा बोल्दै माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेमा स्वार्थ त्यागेर काम गरे मात्र शहिदको सच्चा सम्मान हुने धारणा राखे ।

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर माथेमालाई प्राणदण्ड दिइएको थियो । वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मेका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई प्राणदण्ड दिएका थिए ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी प्राणदण्ड दिइएको थियो ।

शहिद धर्मभक्त माथेकाको शालिक अहिले राखिएको स्थानभन्दा करीब ५ मिटर पूर्वतर्फ थियो । त्यो शालिक २०५३ माघ १३ गते नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले अनावरण गरेका थिए । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि साविकभन्दा पश्चिमतर्फ सारिएको हो । यस क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको शालिक बनाइएको थियो । यो बर्ष शालिकमा शालिकलाई भण्डारेश्वर धार्मिक सेवा समितिले सुनौलो रङ्ग लगाएको, समितिका अध्यक्ष रमेश महर्जनले बताए । अध्यक्ष महर्जनले धर्मभक्तका नाममा आउँदो शनिवार शिव आरती गरिनेसमेत जानकारी दिए ।

धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob