scheduleबुधवार मंसिर ४ गते, २०७६

धेरै ढिला भइसक्यो, अब नेता र जनता दुवैले आँखा खोलौंः डा. भट्टराई

फाइल फोटो

तेह्रथुम, १७ माघ । नयाँ शक्ति पार्टी, नेपालका सं‌योजक डा. बाबुराम भट्टराईले नेपालका नेता र जनताले आँखा खोल्न ढिला भइसकेको बताएका छन् । संसारले विकास र समृद्धिमा उल्लेख्य प्रगति गरिसकेको भन्दै नेपालले पर्याप्त सम्भावना भएर पनि प्रगति गर्न नसकेकोमा उनको दुःखेसो थियो ।

‘संसार कहाँ पुगिसक्यो, हामी नेपाली पार्टीलाई जाति प्रथाजस्तै विश्वासको रुपमा लिइरहेका छौं,’ उनले भने, ‘अब धेरै ढिला भइसक्यो, नेता र जनताले पनि आँखा खोल्नुपर्‍यो ।’

विहीबार तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग बजारमा आयोजित जनसम्बाद कार्यक्रममा बोल्ने क्रममा उनले मुलुक भ्रष्टाचारका काण्डै-काण्डमा फसेको समेत बताए । ‘कांग्रेस पनि ठूला ठूला काण्डमा फस्यो, मनमोहनपछि एमाले पनि भ्रष्टाचारमा फस्यो,’ उनले भने, ‘जनयुद्ध लडेकाहरु पनि गुलियोमा झिंगा लट्पटिएजस्तै लट्पटिए, दुई तिहाई बहुमतको सरकार पनि काण्डै काण्डमा रुमल्लियो, हुँदाहुँदा दुई तिहाई बहुमतको सरकार त चर्पी काण्डमा समेत मुछिएको छ ।’

जेल बसेको र दुःख गरेको भनेर ब्याज खाने परिपाटी गलत भएको र राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा उनको जोड थियो । ‘असल राजनीतिले मात्रै मुलुकमा समृद्धि आउँछ । हामी हिजो व्यवस्था फेर्न लडेकाहरुको मात्रै क्षमताले समृद्धिको नेतृत्व गर्न सकिँदैन,’ उनले भने, ‘राजनीति भनेको सेवा हो, सक्छौं सेवा गरौं नसके छाडिदिउँ र राजनीतिको नाममा जनता लुट्ने काम भनेको जनताप्रति धोका हो ।’

विकासको प्रतिफल सबै समक्ष पुर्‍याउनु पर्ने डा. भट्टराईको तर्क थियो । ‘केही मानिस धनी त जुन व्यवस्थामा पनि हुन्छन् । तीव्र उत्पादनसहित तीव्र आर्थिक वृद्धि र त्यसको वितरण पनि न्यायपूर्ण हुनुपर्‍यो र यसका लागि समावेशी विकास हुनुपर्छ’, उनले भने ।

पहाडमा विकास नभएपछि दक्षिणतिर बसाइसराइ भएकाले  र पहाडको विकासकै लागि मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेको उनको भनाइ थियो । ‘म अर्थमन्त्री र हिसिलाजी भौतिक योजना मन्त्री हुँदा हामीले मध्यपहाडी लोकमार्ग सुरु गरेर त्यसको नामाकरण पुष्पलाल लोकमार्गको रुपमा गर्‍यौं,’ उनले विगतको स्मरण गर्दै भने, ‘पछि म प्रधानमन्त्री हुँदा यो लोकमार्गलाइ राष्ट्रिय गौरवको योजना बनाइयो ।’ सडकले समृद्धिको लागि योगदान दिने बताउँदै उनले अहिले नयाँ शक्तिले यही सडकमा जनसंवाद राखेका स्पष्ट पारे ।

डा. भट्टराईले बोल्ने क्रममा चुनावपछि जनता टुहुरा हुने प्रणाली सच्याउन आवश्यक भएको बताएका थिए । ‘पाँच वर्षमा मात्रै जनता भएको ठाउँमा आउने राजनीति विकृतिपूर्ण छ, राजनीतिक दल र नेता जनताको दुखसुखसँग जोडिरहनुपर्छ,’ उनले भने ।

कतिपयले आफूले राजनीतिबाट समाज रुपान्तरणमा लाग्दा पागलको संज्ञा दिने गरेको भन्दै परिवर्तनको लागि थोरै पागलपन पनि चाहिने तर्क राखे । ‘बुढेसकाल लागेको यो मान्छे किन हिंडिराछ ? चुनाव पनि आको छैन भन्ने लागेको होला । कतिपयले पागल पनि भन्छन्,’ उनले भने, ‘पञ्चायतविरुद्ध लाग्दा बोर्ड भएको मान्छेले राजनीतिमा लाग्यो भनेर पागल भने । राजतन्त्रविरुद्ध हतियार उठाउँदा पनि पागल भने । समृद्धिको लागि पुरानो पार्टी छाड्दा पनि त्यही भने ।’ उनले आफ्नै जीवनकालमा नेपाल समृद्ध बनाउने गरी लागिपरिरहेको बताए ।

जनसम्बाद कार्यक्रममा नयाँ शक्ति नेपालका हेडक्वाटर सदस्य तथा पूर्वमन्त्री परशुराम खापुङले भने, ‘मुलुकलाई चलाउने राजनीतिप्रति नागरिकको वितृष्णा दुःखद कुरा हो । राजनीति रुपान्तरण गरेर असल राजनीतिक अभ्यास स्थापित गर्दै सबैलाई राजनीतिप्रति आकर्षित गर्नुपर्छ ।’

‘मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्त्यका लागि सामूहिक अठोट आवश्यक छ’, खापुङले भने ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage