scheduleशुक्रवार कार्तिक १ गते, २०७६

के नेकपा आध्यात्मिक हुन मिल्दैन र सक्दैन ?

मुरारी शर्मा


१. क्रान्ति र अधिनायकवाद छोडेर शान्ति र लोकतन्त्रलाई समातीसकेपछि यसलाई दरोसित समात्नुको विकल्प छैन । दरिनको लागि जसरी पनि पैसा कमाउन, नाम कमाउन र भोगविलासमा आशक्ति जगाईन्छ, त्यसरी नै शान्ति र लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न चिन्तनको आवश्यकता छ । शान्तिको स्रोत भौतिक कित्तामा नभएर आध्यात्मिक कित्तामा परेकोले त्यसलाई उपयोगमा ल्याउन आध्यात्मिक क्षेत्रमा जानैपर्छ ।

२. व्यवहारमा पाखण्डी चरित्र देखाएपनि आस्था र संस्कारको दृष्टिले नेपाली समाज धार्मिक एवं आध्यात्मिक नै छ । त्यसैले चीनमा असफल भईसकेको सर्वहारा संस्कृतिको अनुकरण गर्न गराउनमा जति असहज र कठीन छ, त्यतिनै मौलिक संस्कृतिमा अभ्यस्त गराउन सहज र सरल छ नेपाली जनमतलाई ।

३. कम्युनिष्टको आदर्श एवं अन्तिम लक्ष्य भनेको समानता हो । अध्यात्मवादका प्रणेतादेखि लिएर भाष्यकारसम्मले पनि समानता र एकत्वको निम्ति गम्भीरतापूर्वक कलम चलाएका छन् । जस्तै- ‘‘साम्यश्च परमं सुखम्”, ‘‘यस्मिन् सर्वाणि भुतानि आत्मैवाभूत् विजानतः, तत्र को मोह कःशोकः एकत्व मनुपश्यतः” आदि सुक्तिले समानता र एकतालाई परमानन्द प्राप्तिको पूर्वाधारको रुपमा लिएका छन् ।
माथिका भनाईहरुले के कुरा प्रष्टिन्छ भने– हिजोसम्म फरक बाटाको कारण मिल्न नसकेपनि आज सहयात्रीको रुपमा पुगेकाले अध्यात्मवादीसित मिल्नु स्वाभाविक हुन्छ अर्थात् कम्युनिष्टहरु अध्यात्मवादी हुनुपर्छ ।

४. जसरी बोटबिरुवालाई जराले अड्याएको हुन्छ त्यसरी नैं मानवीय सभ्यता पनि जरामा अडिएको हुन्छ । हाम्रो आफ्नै परिवेशलाई ध्यानमा राख्दा कम्युनिष्टहरुले जराको गहिराई सामन्तवाद र पुँजिवादसम्म मात्र देखे । आमूल परिवर्तको नाराले सुदूर अतीतका ऋषि–मुनि र साधु–सन्तले निर्माण गरेको गौरवशाली इतिहासलाई नजरअन्दाज गरेको ठहर्छ र बैगुनी सावित भईन्छ भन्ने कुरा उनीहरुले थाहा पाएनन् ।

अहिले आएर आयातित संस्कृतिलाई थाम्न पनि नसक्नु आफ्नोपन पनि नहुनु जस्ता कुराले घरको न घाटको अवस्थामा पुर्‍याएको यर्थाथतालाई स्वीकारे र आध्यात्मिक कित्तामा उभिन नसके अझै दुर्दिनको सामना गर्नुपर्नेछ यहाँका कम्युनिष्टले ।

यहाँनिर प्रश्न उठ्न सक्तछ कि द्वन्द्वात्मक र एैतिहासिक भौतिकवादी विश्व दृष्टिकोण नै कम्युनिष्टहरुको खास पहिचान छ भने कसरी अध्यात्मवादी हुन मिल्छ ?

मुरारी शर्मा
उपर्‍युक्त भौतिकवादसित गाँसिएको वर्ग संघर्ष र उत्पादनको निम्ति संघर्षले नै समाजलाई यहाँसम्म ल्याई पुर्‍याएको वैज्ञानिक सत्यलाई जुनसुकै वादले मानेको हुन्छ र मान्नैपर्छ । समाज रुपान्तरणमा दैवी शक्तिको हात, पृथ्वी अटल र सूर्य गतिशील जस्ता कमीलाई देखाएर सिङ्गै अध्यात्म जगतलाई अन्धविश्वासी र काल्पनिकहरुको देश भन्न थाल्ने हो भने दोष मात्र देख्ने अविवेकी हुन पुगिन्छ । विवेकी हुने हो भने आ-आफ्ना कमीकमजोरी हटाउँदै ‘‘ज्ञानविज्ञानको हात जोड्नु पर्दछ कर्ममा” अनि ‘‘धर्मविना विज्ञान अन्धो छ, विज्ञानविना धर्म लङ्गडो छ” जस्ता उक्तिलाई सार्थक तुल्याउनपटि लाग्नुपर्छ ।
अब एउटा र्को प्रश्न उठ्न सक्छ कि चेतनाभन्दा पदार्थ पहिलो हो भन्ने मार्क्सवादको मूलभूत सिद्धान्तविपरित चेतना पहिलो भन्न पुगेपछि आफूलाई कसरी कम्युनिष्ट भन्ने ?

पहिलो कुरा सामान्यजनमा अण्डा पहिले कि चल्ला ? भन्ने प्रश्नमा जत्तिको पनि यस विषयमा चर्चा परिचर्चाको सम्भावना नरहनाले नेपाली कम्युनिष्ट जगतमा सुनामी आइहाल्दैन । दोस्रो, संस्कृत वाङ्मयका सारा विधा चेतनतत्व पहिलो भन्ने विषयमा अनेकौं प्रमाण पेश गर्दै एकमत हुन कसरी पुगेका होलान् ? जस्ता प्रश्नमा विशिष्ट व्यक्तिहरुको बीचमा बहसको आवश्यकता छ । हो र होईनमा जिद्दि गर्दा गतिरोध हुन्छ भने बहसमा उत्रिँदा ‘‘वादे वादे जायते तत्व बोधः” सुक्तिलाई सार्थक तुल्याउन पुगिन्छ ।

५. हिजोआज यथास्थितिले कष्ट दिएर होला सबैथरीले रुपान्तरण शब्दको उच्चारण गर्न थालेका छन् । रुपान्तरणको भावार्थ यथास्थितिमा भन्दा असल, राम्रो, ठिक र सुखी हुन खोज्नु हो । उक्त कुराहरु पाउन अर्थात् त्यस्तो हुन धन, बल र बुद्धिले काम गर्दैन । तथाकथित विज्ञहरुसित बुद्धि त हुन्छ, विवेक हुँदैन । विवेकले मात्र ठीक र बेठिक छुट्याँउछ । मानवीय स्वभावको अकाट्य सत्य के छ भने अनगिन्ती बेठिक कुराहरु मध्ये एउटा पनि बेठिक आफ्नो लागि नहोस् भनि ठान्छ र अनगिन्ति ठीक कुराहरुमध्ये सबै ठिक कुराहरु अरुले आफूलाई गरोस भनिठान्छ । अर्थात् दिनभन्दा अत्यधिक बढी लिन चाहन्छ । यसो गर्नु भनेको ठग्नु हो, जुन बेठिक छ । सबै राम्रा कुराहरु आफूले अरुलाई बढीभन्दा बढी गर्न थाल्यो भने निश्चयनै अरुले पनि आफूप्रति राम्रो गर्छ । यसको मतलब रुपान्तरित हुन आफूबाटै सुरु गर्ने हो । रुपान्तरित हुने उपाय धेरै छन् । मुख्य चाहिं अध्यात्म साधना तथा आत्म चिन्तन नै हो । यहाँनिर सम्झनै पर्ने महत्वपूर्ण विषय के हो भने जतिपनि राम्रा कुराहरु छन ती आफ्नो भएर अर्थात् आत्माको हुनाले स्वाभाविकरुपमा मानिसले मन पराएको हो । दृष्टान्तको लागि चोरले चोरी गर्नुलाई ठीक हो भन्दै हिंड्न नचाहनु र फटाहाले पनि सत्यसत्य भनेर कसम खानुले राम्रा कुराबाट मात्र आत्मज्ञान प्राप्त हुने रहेछ ।

जहाँसम्म राम्रा कुराको सन्दर्भ छ– सत्य, प्रेम र करुणालाई व्यवहारमा उतार्दा आनन्दको अनुभव हुन्छ भने, क्रोध, घृणा, द्वेष र भयको अवस्थामा सूक्ष्मरुपले कष्टको अनुभव हुन्छ । यसबाट के सिद्ध हुन्छ भने– आनन्द प्राप्तिको लागि सत्य स्वरुप, चैत्यन्य स्वरुप र आनन्द स्वरुप आत्माको चिन्तन गर्नु अपरिहार्य छ ।

अन्तमा, अहिले नेकपा वैचारिक शून्यताले विक्षिप्तावस्थामा छ । उदारहणको लागि जडसूत्रवादी, संशोधनवादी, पलायनवादी, पुँजीवादी र अधिनायकवादी हुन मिलेको छैन । सर्वहारावादी, समाजवादी र अध्यात्मवादी हुन सकेको छैन । हुन नसक्नाको कारण चाहिँ विदेशी शक्ति केन्द्रले, भ्रष्टले, कर्मचारीतन्त्रले, सम्भ्रान्त वर्गले र विचौलियाले निर्माण गरेको चक्रब्यूहमा फस्नाले हो । मानीलिऊँ, विचार पनि छ, इच्छा शक्ति पनि छ, फसेकाको लागि ती कुरा भए पो के काम !

यस्तो पृष्ठभूमिमा उसको लागि चक्रब्यूबाट निक्लने उपाय भनेको रुपान्तरित हुनु नैं हो । रुपान्तरित हुनु भनेको प्रेयमार्ग छोडेर श्रेय मार्गमा हिंड्नु हो । श्रेय मार्गमा हिंड्नु भनेको सादा जीवन उच्च विचारलाई व्यवहारमा उर्तानु हो । उक्त विचारलाई व्यवहारमा उतार्नु भनेको आध्यात्मिक बन्नु हो ।

गजुरी–६, आदमघाट, धादिङ
२०७५/१०/१५

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage