scheduleसोमवार श्रावण ६ गते, २०७६

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको ‘स्टेट अफ यूनियन’ सम्बोधनको तयारी

डारलिन सुपरभिल


वासिङ्टन, १९ माघ । विवादास्पद नीतिहरुका कारण सङ्कटमा पर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थालेका छन् । अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको संयुक्त सदनलाई अमेरिकी राष्ट्रपतिले “स्टेट अफ यूनियन” को नाममा सम्बोधन गर्ने परम्परा छ ।

राष्ट्रपति ट्रम्पले दुबै सदनको संयुक्त सत्रलाई पहिलोपटक आगामी मङ्गलबार सम्बोधन गर्न लागेका हुन् । तर धेरैले राष्ट्रपति ट्रम्पको यो सम्बोधन विवादको घेरामा रहेको बताएका छन् ।

राष्ट्रपति अब्राहम लिङ्कनले सम्बोधन गर्दा अमेरिकामा गृहयुद्ध थियो भने रिचार्ड निक्सनले सम्बोधन गरेका बखत उहाँ आफैँ बहुचर्चित वाटरगेट काण्डको घेराबन्दीमा थिए । बिल क्लिन्टनले संयुक्त सदनलाई सम्बोधन गरेको लगत्तै अर्को साता त्यही सभाहलले उनीविरुद्ध महाभियोग लगाएको थियो ।

अमेरिकी राष्ट्रपतिसम्बन्धी इतिहासकार डग्लस ब्रिन्क्लेले ट्रम्पको आगामी सम्बोधन निकै अनौठो र विचित्र किसिमको हुनसक्ने बताए ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको बारे ट्रम्प विरुद्ध सङ्घीय अनुसन्धान चलिरहेको छ । विपक्षी डेमोक्र्याट पार्टीले ट्रम्पलाई राजीनामा दिन लगातार दबाब दिइरहेको छ भने ट्रम्प स्वयंले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न अमेरिकी कङ्ग्रेसले बजेट नछुट्याए सङ्घीय कार्यालयहरु पुनः बन्द गर्ने धम्की दिइरहेका छन् ।

डेमोक्र्याट पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पसँग बजेट विषयमा मतैक्य भएपछि राष्ट्रपतिको सम्बोधनलाई ढिलाइ गरिदिएका थिए । पेलोसीले मेक्सिको सीमामा पर्खाल निर्माणका लागि अमेरिकी करदाताको रकम फजूल खर्च गर्न नदिने बताउँदै आएका छन् । यही विवादका कारण अमेकिरी सङ्घीय कार्यालयहरु झण्डै ३५ दिन आंशिक बन्द रहे ।

अमेरिकी राष्ट्रपतिहरुले गर्ने संयुक्त सम्बोधनहरु कैयौंपटक निकै विवादास्पद अवस्थामा भएका छन् ।

दुई दशकअघि डेमोक्र्याट पार्टीबाट निर्वाचित राष्ट्रपति बिल क्लिन्टनले रिपब्लीकन पार्टीको नियन्त्रणमा रहेको संयुक्त सदनमा सम्बोधन गरेका थिए, तर डिसेम्बर १९९८ मा त्यही सदनले सङ्घीय ग्रान्ड जुरीसमक्ष झुटो बोलेको आरोपमा क्लिन्टन विरुद्ध महाभियोग लगाएको थियो । क्लिन्टनले ह्वाइट हाउसकी सहयोगी कर्मचारी मोनिका लेविन्स्कीसँग सम्बन्ध राखेको छैन भनी बयान दिएर न्यायमा अबरोध सिर्जना गरेको आरोप खेपेका थिए ।

राष्ट्रपति क्लिन्टनले संयुक्त सदनलाई सम्बोधन गरेलगत्तै ह्वाइट हाउसका कानुन व्यवसायीहरुले सिनेटको सुनुवाईमा क्लिन्टनको पक्षबाट प्रतिरक्षा गरेका थिए । उनीहरुले राष्ट्रपतिमाथिका आरोपहरु गलत रहेको तर्क गर्नुका साथै राष्ट्रपतिलाई पदच्यूत गर्न नहुने बताएका थिए ।

यस्तो विषम परिस्थितिमा कुनै पनि राष्ट्रपतिले स्टेट अफ यूनियन सम्बोधन गरेका थिएनन् ।

पूर्व सिनेट इतिहासकार डोनाल्ड रिचीका अनुसार, त्यसबखत क्लिन्टनले संयुक्त सदनको सम्बोधन रद्द गर्नुहुने व्यापक अनुमान गरिएको थियो । तर क्लिन्टनले सम्बोधन मात्र होइन, अर्थतन्त्रमा आएको सुधार, सन्तुलित सङ्घीय बजेट र वृद्धहरुका लागि सामाजिक सुरक्षासम्बन्धी नयाँ प्रस्तावका बारेमा लामो व्याख्यान दिए । राष्ट्रपतिको कुर्ची नै धरापमा पार्न सक्ने महाभियोगमाथि हुनेसक्ने सम्भावित मतदानका बारेमा उनले केही उल्लेख गरेनन् ।

‘उहाँ आउनुभयो र आफ्ना कुरा भन्नुभयो, मानौं केही भइरहेकै छैन,’ रिचीले स्मरण गरे ।

सिनेटले अर्को महिना क्लिन्टनलाई सफाई दियो ।

दशकौं अघि राष्ट्रपति निक्सनले जनवरी १९७४ मा गरेको भाषणमा मुलुकको ऊर्जा सङ्कटका बारेमा बोलेका थिए । आफ्नो सम्बोधन समाप्त गर्नैलाग्दा उनले वाटरगेटका बारेमा “निजी शब्दहरु” थपे । निक्सनले आफू विरुद्ध जारी अनुसन्धान टुङ्ग्याउन आग्रह गरे, र भने, ‘वाटरगेटका बारेमा एक वर्ष भनेको पर्याप्त समय हो ।’ उनले राष्ट्रपतिको पदबाट राजीनामा दिने कुनै योजना नरहेको पनि सुनाएका थिए ।

तर रिपब्लीकन पार्टीले आफ्नो अडान फेर्‍यो र राष्ट्रपति निक्सनलाई राजीनामा गर्न बाध्य तुल्यायो । उनी राजीनामा गरेर पदबाट हट्ने पहिलो अमेरिकी राष्ट्रपति बने । निक्सनमाथि विपक्षी डेमोक्र्याट पार्टीको मुख्यालयमा जासुसी गरी गोप्य सूचना प्राप्त गरेको आरोप लागेको थियो ।

निक्सनले राजीनामा दिएलगत्तै राष्ट्रपतिको कार्यभार सम्हालेका जेराल्ड फोर्ड (निक्सनका उपराष्ट्रपति) ले निक्सनलाई माफी दिए ।

फोर्डले सन् १९७५ मा संयुक्त सदनमा दिएको “स्टेट अफ यूनियन सम्बोधन” मा मुलुकको स्थिति राम्रो नभएको भन्दै तितो यथार्थ प्रस्तुत गरे । फोर्डले मुलुकमा उच्च बेरोजगारी व्याप्त रहेको, आर्थिक मन्दी छाएको, मुद्रास्फिती बढेको, सङ्घीय बजेट घाटा बढेको तथा राष्ट्रिय ऋणको मात्रा बढेको बताए ।

राष्ट्रपति लिङ्कनले आजसम्मकै कमजोर स्थितिको सामना गर्नु परेको थियो । गृहयुद्धको चपेटामा परेको त्यस बखतको अमेरिकामा राष्ट्रपति लिङ्कनले मुलुकको जर्जर अवस्थाको चित्रण गरेका थिए ।

डिसेम्बर १८६५ मा गृहयुद्ध शुरु भएको आठ महिनापछि लिङ्कनले प्रचलित नियमबमोजिम दिएको लिखित सम्बोधनमा “केही देशद्रोहीहरु अमेरिकी एकतालाई विभक्त गर्न र विघटन गर्न प्रयत्नशील रहेको” भन्दै साबधान रहन आह्वान गरेका थिए ।

राष्ट्रपति लिङ्कनले आन्तरिक रुपमा विभाजित मुलुकलाई विदेशमा पनि सम्मान प्राप्त नहुने बताउँदै यस्तो अवस्थामा कुनै एक पार्टी वा पक्षले ढिलोचाँडो विदेशी हस्तक्षेप निम्त्याउने खतरा रहने चेतावनी दिएका थिए । रासस/एपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob