scheduleशुक्रवार माघ ३ गते, २०७६

सरकारलाई उल्ट्याउने काम भइरहेको भन्दै गृहमन्त्री थापाले दिए यस्तो निर्देशन

भद्रपुर, १ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् ।

मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिए ।

उनले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई विभाजित गर्ने, साम्प्रदायिक दङ्गा फैलाउने शक्ति यो प्रदेशमा र जिल्लामा रहेको जानकारी दिँदै त्यस्ता तत्वलाई नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाउन जरुरी रहेको बताए।

गृहमन्त्रीले जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा आफ्नो दायित्वलाई महत्वपूर्ण ढङ्गले निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिए। पछिल्लो समय झापामा चोरी तस्करी बढिरहेको बताउँदै उनले त्यसलाई नियन्त्रण गर्न थप सुरक्षा नीति अपनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले विकास र समृद्धिको दिशामा देश अघि बढिरहेको उल्लेख गर्दै यसका निम्ति सुशासन र शान्तिलाई अझ सुदृढ र व्यवस्थित गर्नुपर्ने बताए ।

मन्त्री थापाले भ्रष्टाचार नियन्त्रणमा सरकार कटिबद्ध भएको बताउँदै भने, ‘प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने मूल मन्त्र छ यो विषयमा सबैले ध्यान दिऔँ ।’ उनले प्रमको अभियानलाई सफल पार्न आन्तरिक प्रशासनले विशेष ध्यान दिएर लाग्नुपर्ने बताए । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति सरकारले लिएको बताउँदै जिल्लामा भ्रष्टाचार उन्मूलन गर्न विशेष ध्यान दिएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले झापाको शान्ति सुरक्षाको अवस्था र प्रशासनले वर्षभरि गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । रासस

IME Main Sidebar
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME Main Sidebar
default-addImage