scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

गोरु ब्याएको दिन¸ कर्मचारी समायोजन र ढलेको विश्वास

बिनाराम खड्का


आखिर, नेपालको संघीय सत्तामा विगतदेखि जे हुँदै आएको थियो त्यसकै पुनरावृत्ति भो । बहालवाला महामहिमहरुका हजारौँ पटकका वाचाकसम र सप्टवेयरप्रतिका हाम्रा अन्तिम विश्वास पनि गर्लामगुर्लुम ढलेर ठहरै भए । ती जिम्मेवार पदासीन मुर्धन्यहरुले आफैले आफ्नै मुखले सबैले सुनिनेगरी बोलेका कुराहरु पनि फागुन ३, २०७५ को मध्यरातदेखि स्खलित र हताहत भए ।

‘भैसी ब्याएर पाडो पाएका’ सफलतै सफलताको कहानीले भरिपूर्ण अजिव दुनियाँ विचित्र नेपालमा सबैले हेर्दाहेर्दै कर्मचारी समायोजनको गोरु ब्याएरै छाड्यो । बहालवाला मन्त्री, सचिव र सहसचिवले बोलेका कुराको शब्दशक्तिले वायुमन्डलीय हावा प्रदुषित पारेरै छाड्यो । नेपाल देशमा न्यून तहको आशा अपेक्षा र उच्च पदमा आसिनहरुको बोलीको परिपूर्ति कहिल्यै हुँदैन भन्ने अकाट्य तथ्य फेरि पनि प्रमाणित भएरै छाड्यो । हुन त होला कुनै अर्को दिन । तर अब भएपनि नभएपनि ०७५ फागुन ४ गतेदेखि उप्रान्त संघीय सरकारका विभागीय मन्त्री, सचिव लगायत कर्मचारी समायोजनसंग सम्बन्धित कुनै पनि पक्ष र विषयबारे कुनै पनि टिकाटिप्पणी तथा आशा अपेक्षा केही गरिने छैन ! बोलिने छैन ! लेखिने छैन !

यो विषयसंग सम्बन्धित कुनै “उच्च पदस्थ” प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, सहसचिवका अन्तर्वार्ता प्रसारण भएमा रेडियो, एफएम, टिभी अफ गरिनेछ । अनलाइनमा तिनका फोटा देखिएमा उक्त अनलाइन मिडियाको उक्त शीर्षक पढिने छैन । तिनका आश्वासन र भनाइ देखिने, सुनिने, उद्धृत गरिने सामाजिक सन्जाल र आम सन्चारका जुनसुकै माध्यमबाट तत्काल एक्जिट होइनेछ । फ्लो गरिएको भए अनफ्लो र फ्राइन्ड भए अनफ्राइन्ड गरिनेछ ।

किनकी, भावनासहितको चेतनशील प्राणी मान्छे । लेख्नु, बोल्नु, असन्तुष्टि, टिकाटिप्पणी पनि केही न केही सम्भावना बाँकी देखेसम्म, रहेसम्म मात्र गरिने हो । झिसमिसे उज्यालो र टिलपिले बत्ती रहेसम्म त खोज्ने हो । विश्वासको दियो निभेर अविश्वासको निष्पट्ट कालो अन्धकार मात्रै बाँकी रहेपछि त सक्किगो नि !

आशा र भरोसाको पनि सीमा हुन्छ । पुष्टी भएका तथ्य, वस्तुगत यथार्थता संगसंगै बोली र व्यवहारको आपसी तालमेल, कैयन विश्वास र भावनात्मक पक्षको आधारमा सृष्टि चल्ने हो । कुनै चिज वस्तुप्रति असीमित वितृष्णा र मोह भङ्ग भई, अविश्वासले सीमा पार गरी, बोल्नु र लेख्नुको औचित्य सम्पूर्ण रुपमा समाप्त भइसकेपछि फेरि त्यसकै बारेमा चर्चा परिचर्चा गर्नु उपयुक्त हुँदैन । किनकी चराचर जगतका धेरै भन्दा धेरै कुरा परस्पर विश्वास र अन्तरसम्बन्धमा टिकेका हुन्छन् । विश्वासको पर्खाल सम्पूर्ण रुपले ढलेर ध्वस्त भएको क्षणदेखि धेरै कुरा बाँकी रहदैनन ।

त्यसैले, अब उप्रान्त देशैभर रहेका हजारौँ कर्मचारीहरुको तर्फबाट उपर्युक्त कर्मचारी समायोजनसँग सम्बन्धित प्रसंग कोट्याउनुको कुनै औचित्य बाँकी रहेको छैन । उपर्युक्त विषयमा अन्तिम टिप्पणी । कर्मचारी समायोजन सन्दर्भमा विश्वास ढलेर चकनाचुर भएको मध्यरात, फागुन तीन, दुईहजार पचहत्तर साल । ॐ नमो सिवाय स्वाहा … ।

मुसिकोट नपा वडा नम्वर ४ सोलाबाङ्ग, रुकुम (पश्चिम)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob