scheduleआइतवार जेष्ठ १२ गते, २०७६

हाम्रो लोकतन्त्रमा कार्यकर्ताको काम ताली पिट्ने मात्रै भयोः डा. भट्टराई


नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रको भ्रष्टीकरण हुँदा कार्यकर्ताको काम केवल ताली पिट्नु मात्रै भएको बताएका छन् ।

जनसंवाद यात्राको २१ औं दिन बागलुङको बुर्तिवाङमा आयोजित अन्तरक्रियामा बोल्दै उनले समृद्धिको लागि लोकतन्त्रको थप लोकतान्त्रिकरण गरिएको राजनीतिक व्यवस्था आवश्यक हुनेमा जोड दिएका हुन् । पुँजीवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र दुवै भ्रष्टीकरण भइसकेको भन्दै स्वतन्त्रता, समानता र भातृत्वसहितको वैज्ञानिक मानवतावादलाई बोक्ने लोकतन्त्रको विकास गर्नुपर्ने उनले जोड दिए ।

‘पार्टीको ढाँचा यति केन्द्रीकृत भयो कि जनताको होइन, कार्यकर्ताकै आवाज पनि सुनिन छाड्यो,’ उनले भने, ‘यही तरिकाले आत्मसन्तुष्टि होला, केही समय कार्यकर्ता भुलाउन सकिएला, तर देशको समृद्धि सम्भव हुँदैन ।’ क्रान्तिको प्रक्रियालाई म्याराथुनजस्तो एक्लै दौडिएर जित्नेभन्दा सबै मिलेर दौडने रिले दौडको संज्ञा दिए ।

‘लोकतन्त्र भनेको नारा लगाउनु र बोर्ड झुन्ड्याउनु होइन, यो त जनताको उच्चतम् सहभागितासहित शासन चलाउनु हो,’ उनले भने, ‘जनताले आफ्नो शासन आफैं चलाउनु हो ।’ आफ्नो पार्टीले गल्ती गर्दा पनि विरोध गर्न नसक्ने र जे गरे पनि ताली पिट्ने मात्रै हैसियत भएका कार्यकर्तामा रुपान्तरण गर्न सक्ने लोकतन्त्रको आवश्यकता भएको उनको तर्क थियो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गले पहाडको समृद्धिको ढोका खोलेको भन्दै यसलाई प्राथमिकताका साथ पूरा गर्नुपर्नेमा जोड दिए । ‘विकासको लागि सडक सञ्जाल महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘बसाईंसराई बढिरहेको पहाडमा अवसर सिर्जना गर्दै आर्थिक केन्द्र बनाउन मध्यपहाडी लोकमार्गको अवधारणा मैले ल्याएको हुँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टाचारीलाई प्रश्रय दिने खालको गतिविधि गरिरहेको आरोप लगाए । ‘म पुष्पलाल लोकमार्गमा हिंड्दा जनताले मात्र होइन, सबै पार्टीका कार्यकर्ताले समेत भ्रष्टाचारविरोधी गीत गाइरहेको सुनेँ,’ उनले भने, ‘तर सरकार भने भ्रष्टाचार कम गर्नुभन्दा भ्रष्टाचारविरोधी आवाजलाई नै बन्द गर्न लागिरहेको छ ।’ उनले गायक पशुपति शर्माको गीतलाई अवरोध गर्नखोज्नु दुःखद काम भएको धारणा राखे ।

श्रम नगरिकन खानुहुन्न भन्ने कम्युनिष्टहरु भ्रष्टाचारमा पुँजीवादीहरुभन्दा अगाडि हुनु दुःखद भएको उनको बुझाई थियो । ‘यस्तो भ्रष्टाचार रोक्न सकिएन भने देश बनाउन सकिन्न,’ उनले भने, ‘जनसंवाद यात्राभरी सबै पार्टीका नेता कार्यकर्ता केन्द्रमा भएका ठूला भ्रष्टाचारका काण्डबारे एकदमै चिन्तित छन् ।’

भ्रष्टाचार निर्मूल गर्न प्रणालीमै सुधार गर्नुपर्नेमा उनले जोड दिँदै भने, ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक संसद एवम् शक्तिशाली लोकपालको स्थापना गर्न ढिला गर्नुहुँदैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob