scheduleशनिवार चैत्र ९ गते, २०७५

‘जतिसुकै ठूलो र मोटो देखिए पनि धमिरा लागेको रुख जुनसुकै बेला लड्न सक्छ’

डम्बर खतिवडा

समाज गतिमा हुन्छ । मानव जातिको सामाजिक, राजनीतिक, सांस्कृतिक लगायत सबै प्रक्रियाहरु गतिमा छन् । राज्य सञ्चालन प्रक्रिया, विचार निर्माण प्रक्रिया, एजेण्डा सेटिङसम्बन्धी प्रक्रिया लगायत सबै कुराहरु गतिशील हुन्छन् । सृष्टि गतिमा हुने, ब्रम्हाण्ड गतिमा हुने, विज्ञान र प्रविधि गतिमा हुने, चिन्तन र चेतना गतिमा हुने, सिद्धान्तहरुको निर्माण गतिमा हुने तर केवल राजनीति मात्रै स्थिर भइरहन सक्दैन ।

यसकारण उन्नत राजनीति युगीन सामाजिक अग्रचेतना बोकेको हुनुपर्छ । पार्टीलाई गतिशील साधन मान्नुपर्छ । पार्टीलाई साध्य मान्न थालियो भने गल्ती त्यहीँबाट सुरु हुन्छ । हामी पूर्ण पार्टी भइसकेका छैनौं । हामी अहिले नेपालको मूलधारको राजनीतिको कयौं एजेण्डा, कार्यशैली र संश्लेषण–विश्लेषणसँग असहमत छौं । सहमत हुन नसकेपछि पनि सँगै बस्नु राम्रो होइन । राजनीति भनेको कुनै पार्टीको झण्डा बोक्नु, जिन्दावाद मुर्दावादको नारा लगाउनु, उसको पछि लाग्नु होइन । आफ्नो पार्टीले भनेको सबै ठिक र अरु पार्टीले भनेको सबै गलत भन्नु त झन राजनीति हुँदै होइन । राजनीति भनेको हामी बाँचेको समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशको अन्तरविरोधहरु के हुन् ? समस्याहरु के हुन् ? त्यसको हल कसरी गर्न सकिन्छ ? समाज, देश र मानव जातिको विकासको स्तरलाई थप कसरी समृद्ध बनाउने ? यी सवालहरुमा राजनीतिले चिन्तन गर्नुपर्छ । यसक्रममा फरक चिन्तनहरु देखापर्छन् । यस्तो बेला सही विचारको पक्षमा दृढतापूर्वक उभिनु निष्ठाको राजनीति हो । शक्ति अर्थात् बलेको आगो नजिक सबै हुनसक्छन् । शक्तिसँग सधैं सत्य नहुन सक्छ ।

डम्बर खतिवडा

आफ्नो पार्टीको हितमा अभियान सबैले चलाउँछन् । बदलिँदो परिवेशमा पार्टीभन्दा माथि उठेर समाज र राष्ट्रका नयाँ एजेण्डाहरु पत्ता लगाउन हामी जनसंवाद यात्रामा छौं । यो नितान्त एउटा पार्टीको मात्रै अभियान होइन । हामी सबैले नेपाली समाजको नयाँ एजेण्डा के हुन सक्छन् ? पूर्वप्रधानमन्त्री भइसकेका ६५ वर्षीय बुढा बाबुराम भट्टराई ६ फिट अग्लो हिउँमाथि चिप्लिँदै, अप्ठेरो बाटोमा घिस्रिंदै किन हिंडिरहनुभएको छ ? भनेर छातीमा हात राखेर सोच्नु आवश्यक छ । देशभन्दा ठूलो पार्टी कहिले पनि हुन सक्दैन ।

काठमाडौंमा बस्ने केही नेताहरुको दिमागले मात्रै सोचेर, सुगम ठाउँहरुमा मात्रै बहस गरेर अब नेपाल अगाडि बढ्न सक्दैन । राष्ट्र निर्माणमा गुमनाम भएर योगदान दिइरहेका दूरदराजका नागरिकको आवाज पनि सुन्न र सुनिन आवश्यक छ । राजनीति भनेको जनताबाट सिक्ने र जनताकै बीचमा सम्प्रेषित गर्ने कार्य पनि हो । जनसंवाद यात्रा यही मान्यतामा आधारित भएर तय गरिएको अभियान हो ।

लोकतन्त्रमा सुशासन र पारदर्शिता भएन र भ्रष्टाचार मौलायो भने त्यो त धमिरा लागेको रुखजस्तो न हुने रहेछ । बाहिरबाट हेर्दा धमिरा लागेको रुख जतिसुकै ठूलो र मोटो होस्, त्यो जुनसुकै बेला लड्न सक्छ ।

संविधान निर्माणपछि हामी कार्यान्वयनको चरणमा छौं । तीन तहका सरकार चलिरहेका छन् । तर के दलहरुले प्रतिवद्धता व्यक्त गरेअनुसार र नागरिकको अपेक्षाहरु यी चलिरहेका छन् त ? यही तरिका र ढंगले नेपाल र नेपालीको समृद्धिको सपना पूरा होला त ? हामी हिजोतिर फर्किएर पुराना एजेण्डामाथि छलफल पनि गरौंला तर, अहिलेको आवश्यकता भनेको देशलाई अगाडि बढाउने एजेण्डाहरुको खोजी गर्नु हो । जनताले आफ्नो संविधान आफैं लेख्ने कि नलेख्ने, गणतन्त्रमा जाने कि नजाने, संघीयता आवश्यक छ कि छैनन्, समावेशी समानुपातिक राजनीतिक प्रणाली तय गर्ने कि नगर्ने भन्ने बहसमा पनि मुलुक हिजो विभाजित भएको थियो । यी कुराको छिनोफानो गरिसकेका छौं । अब हामी नयाँ परिस्थितिमा छौं ।

अबको एजेण्डा के हो ? कि केही नभए पनि हुन्छ ? अवश्य चाहिन्छ । नयाँ अवस्थामा राष्ट्रिय बहस के हो ? एजेण्डा के हो ? मुद्दा के हो ? अबको राजनीतिको समस्या के हो ? संविधानमा समाजवादउन्मुख भनिएता पनि हाम्रो राजनीतिक संस्कार, जीवनशैली, पार्टी पद्धति, संगठन आदिले हामीलाई अगाडि बढ्न अवरोध गरिरहेका छन् । हामीमा आवश्यकताअनुसार रुपान्तरण आइरहेको छैन । हाम्रो लोकतन्त्रको मूल्य, मान्यता, पद्धति, प्रणाली र अभ्यासमा केही न केही समस्याहरु छन् । दुई तिहाई बहुमतको स्थायी सरकार हुँदा पनि किन काम भइरहेको छैन ? समस्या कहाँ छ ?
के यही निर्वाचन प्रणालीले हामी प्रगतिपथमा जान सक्छौं ? चुनाव जित्न अकूत खर्च गर्ने र जितेपछि भ्रष्टाचार गरेर चुनावी ऋण तिर्ने र अर्को चुनावको लागि अमूत कमाउने । यो दुश्चक्रबाट बाहिर कसरी निस्क्न सक्छौं ? २१ औं शताब्दीको आवश्यकता सम्बोधन गर्न सक्छ ? यही शासकीय स्वरुपले हामी अगाडि बढ्न सकौंला ? लोकतन्त्र भनेको बहुमतको शासन हो भने बहुमत कस्को ? जनप्रतिनिधिहरुको बहुमत कि आम बालिग नागरिकको बहुमत ? यदि लोकतन्त्र भनेको आम बालिग जनताको बहुमत हो भने हाम्रो प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री ५१ प्रतिशत आम जनताको भोट नपाइकन लोकतन्त्रमा नागरिकको शासन कसरी सुनिश्चित हुन सक्छ ? प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक संसद पो उपयुक्त शासकीय स्वरुप हुन्छ कि ?

भ्रष्टाचाररुपी क्यान्सरको संक्रमण राष्ट्रका यावत अंगहरुमा द्रूतरुपमा बढिरहेको छ । लोकतन्त्र आयो तर लोकतन्त्रमा पनि किन भ्रष्टाचार भइरहेको छ ? अझ क्रान्तिकारी भनिएका साथीहरु सत्तामा जानुभएको छ । हाम्रो भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुको संरचना नै त्रुटि छन् कि ? नियन्त्रण गर्ने मानिस नै भ्रष्ट निस्किइरहेका छन् । अख्तियारको संरचना नै गलत छ कि ? आयुक्तहरु राजनीतिक भागबण्डाबाट जाने, हिजो पदमै रहेका निजामति सेवाबाट अख्तियारमा जाने, उहाँहरु कति नैतिकतासहित भ्रष्टाचार नियन्त्रणमा खरो उत्रन सक्नुहुन्छ ? आफैंलाई नियुक्त गर्ने शक्तिशाली नेताका भ्रष्टाचार उहाँहरुले छानबिन गर्न सक्नुहुन्छ ? शक्तिशाली जनलोकपाल पो चाहिन्छ कि ? लोकतन्त्रमा सुशासन र पारदर्शिता भएन र भ्रष्टाचार मौलायो भने त्यो त धमिरा लागेको रुखजस्तो न हुने रहेछ । बाहिरबाट हेर्दा धमिरा लागेको रुख जतिसुकै ठूलो र मोटो होस्, त्यो जुनसुकै बेला लड्न सक्छ ।

यी विषयहरुलाई हामीले बहसको विषय बनाउने कि नबनाउने ? यो कुनै एक पार्टीले मात्र होइन, सबै पार्टीले र सिंगो देशले नै बहस गर्नुपर्ने विषयहरु हुन् ।

यस्तै अर्को महत्वपूर्ण विषय हो विकास र समृद्धि । हाम्रो आर्थिक वृद्धिको दर किन असाध्यै सुस्त छ ? केही तथ्यांकहरु हेरौं । नेपाल अहिले पनि संसारका सबैभन्दा गरिब मुलुकहरुको सूचिमा पर्छ । अब नेपाललाई यो अल्पविकसित र गरिब राष्ट्रहरुको सूचिबाट बाहिर निकालौं । र, हामी विकासवान देशहरुको समूहतिर जाऔं । हाम्रा शासकहरु यही अल्पविकसित राष्ट्रकै सूचिमा बस्न र यही खेल खेल्न चाहनुहुन्छ । यही अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्ष हुन चाहनुहुन्छ । यो त भिखारी संघ खोलेर अध्यक्ष बन्नुजस्तै हो ।

हाम्रो प्रतिव्यक्ति आय किन यति धेरै कम छ ? अहिले विश्वमा १००० डलरभन्दा कम प्रतिव्यक्ति आय भएका केवल २८ वटा देशहरु छन्, जसमध्ये नेपाल पनि एक हो । नेपाल यसमध्ये २५औं स्थानमा छ । हामी विश्वको चौथो गरिब देश हौं । एसियाको दोस्रो गरिब देश हौं । विश्वका कयौं देशहरुको प्रतिव्यक्ति आय १ लाख ३० हजारसम्म छ । सिंगापुरको प्रतिव्यक्ति आय ५५ हजार डलर छ । तपाईं कल्पना गर्नुहोस्, दुईजना साथीहरु छन् । एउटा साथीले खल्तीमा १ लाख ३० हजार बोकेर हिंडेको छ । अर्को साथी खल्तीमा १ हजारको नोट बोकेर हिंडेको छ । बजारमा उस्को आँट र समाजमा उस्को हिम्मत कस्तो होला ? उस्को क्रय क्षमता कस्तो होला ? यसरी तुलना किन नगर्ने ? हाम्रो लोकतन्त्रमा किन यस्तो अवस्था छ ?

सिद्धार्थ गौतम बुद्ध हुनु ठूलो कुरा थियो कि राजकुमार हुनु वा राजा हुनु ठूलो कुरा थियो ? उनले दरबार छाड्दा भारत वर्षमा सयौं/हजारौं राजकुमारहरु थिए होलान् । हामीलाई ती राजकुमारहरुको नाम याद छैन । तर, गौतम बुद्धलाई संसारले युगयुगसम्म सम्झिरहनेछ ।

हामी भनिरहेका छैनौं कि यो फलानु पार्टीका कारण भयो । यस्तो खास कस्को कारण भयो ? हरेक घटनाका कारण हुन्छन् । जसरी चोरबिनाको चोरी हुँदैन, हाम्रो लोकतन्त्रमा केही कमजोरीबिना यस्तो भइरहेको छैन । नेपाल यति गरिब रहिरहनुको कारण के हो ? यस्तो उत्तर खोज्न नेपाली समाजमा बहस हुनुपर्छ कि पर्दैन ? यो कुनै व्यक्तिको मात्रै बहस हो कि पार्टीको मात्रै बहस हो कि राष्ट्रकै बहस हो ? हामीलाई लाग्छ यो त आम जनताको बहस हो, सिंगो राष्ट्रको बहस हो । यो नयाँ युगको बहस हो । जब हामी यो बहसमा छिर्न डराउँछौं र लजाउँछौं भने हामीले समस्याको पहिचान गर्न सक्दैनौं । रोगको डाइग्नोसिस्बिनाको प्रेस्क्रििस्पन कस्तो होला ? हामी कल्पना गर्न पनि सक्दैनौं ।

रोजगारीको अवस्था यस्तै छ । श्रम बजारमा प्रतिवर्ष आउने ६ लाख युवामध्ये १ लाखले मात्रै काम पाउँछन्, अरु सबै रोजगारीको खोजीमा विदेश जान्छन् । दुई तिहाई बहुमतको सरकार बनेको एक वर्षभित्र मात्रै त्रिभुवन विमानस्थलमा ७ सय ८८ नेपाली युवाहरु काठको बाकसमा मृत अवस्थामा फर्किएका छन् कोफिन बनेर । यो स्थितिमा किन परिवर्तन आइरहेको छैन ? ट्रान्सपरेन्सी इन्टरनेशनल भन्ने एउटा संस्थाले भर्खरै सार्वजनिक गरेको रिपोर्टका अनुसार गत एक वर्षमा नेपालको भ्रष्टाचारको स्थिति दुई अंकले खस्किएको छ । अवस्था त झन खस्किएकै छ । यसको बहस हुनुपर्छ कि पर्दैन ?


हामीले सुरुमा समृद्धिको नारा दियौं । समृद्धि सम्भव छ हाम्रै जीवनकालमा भनेर । पछि सरकारले पनि सुखी नेपाली, समृद्ध नेपालको नारा दियो । कांग्रेसदेखि राप्रपासम्मले समृद्ध नेपालकै नारा दिइरहेका छन् । समृद्धिका यी भाष्य र मुद्दा उठानका बीच भिन्नता छन् कि छैनन् ? सबैले भनेका समृद्धिका संकथनहरुमा भिन्नता छ कि छैन ? पार्टीहरुले भनेका समृद्धिको संकथनका फरकहरुबारे देशव्यापी बहस हुन आवश्यक छ । केवल जिन्दावाद र मुर्दावादको भरमा वा हजुरबुवा लागेको पार्टी म पनि लाग्छु भनेकै आधारमा देशले मुहार फेर्नेवाला छैन । समृद्धिको सपना पूरा हुनेवाला छैन ।

नेपाल फेर्ने मान्छे आकाशबाट खस्दैन । स्वर्गबाट कुनै भगवानले पठाउँदैनन् । तपाईं हामी नागरिकले नै खोज्नेको नेपाल फेर्ने भगवान । जनताले नै बनाउने हो नेपाल बनाउने नेता । हाम्रै बीचमा त्यस्तो नेतृत्व हामीले जन्माउन सक्नुपर्छ । जसले देशको यो हालतलाई बुझ्न सक्छ, यसलाई बदल्ने उपायहरु खोज्न सक्छ, जसले उपाय मात्र सुझाउँदैन, व्यवहारिक राजनीतिक जीवनमै कार्यरुपमा रुपान्तरण गर्न सक्छ । त्यो युग र त्यो नेतृत्वको खोजी हामीले गर्ने कि नगर्ने ?

पार्टी ठूलो कुरा होइन, पार्टीभन्दा ठूलो एजेण्डा हो, देश हो । पार्टीभन्दा ठूलो जनता हो र मानवता हो । पार्टी भनेको त मानिसले नै बनाएका संस्थाहरु हुन् । जिन्दगीभरी एउटै पार्टी समातेर नयाँ सपना पूरा गर्न सकिँदैन । कांग्रेस–एमाले मात्रै समातेको भए गणतन्त्र नआउन सक्थ्यो, अब कांग्रेस र नेकपा मात्रै समातेर समृद्धि नआउन सक्छ ।

गौतम बुद्धले दरबार नछाडेको भए सिद्धार्थ गौतम मात्रै रहनुहुन्थ्यो । एउटा राजकुमारले दरबार छाडेर जंगल पस्दा धेरै मानिसले बेकूप भने होलान् । पागल भने होलान् । भोलि राजा बन्ने मान्छेको बुद्धि बिग्रियो भने होलान् । आज फर्केर हेरौं त– सिद्धार्थ गौतम बुद्ध हुनु ठूलो कुरा थियो कि राजकुमार हुनु वा राजा हुनु ठूलो कुरा थियो ? उनले दरबार छाड्दा भारत वर्षमा सयौं/हजारौं राजकुमारहरु थिए होलान् । हामीलाई ती राजकुमारहरुको नाम याद छैन । तर, गौतम बुद्धलाई संसारले युगयुगसम्म सम्झिरहनेछ । युगीन चेतनाले जब ललकार्छ, समय, एजेण्डा र विचारले ललकार्छ भने पुराना संस्थाहरु छाड्ने र संस्थाहरुलाई नयाँ ढंगले रुपान्तरण गर्ने आँट गर्नैपर्दछ ।

यी सवाल र प्रश्नहरुमा हामी सबैले छातीमा हात राखेर सोच्नुपर्छ । विचार, विमर्श र बहस गर्नुपर्छ ।

(जनसंवाद यात्राको क्रममा नयाँ शक्तिका प्रवक्ता खतिवडाले व्यक्त विचारको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob