scheduleमगलवार जेष्ठ ७ गते, २०७६

तेह्र प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण

नेपालगञ्ज, १३ फागुन । बाँके जिल्लामा यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ ।

नवौं चरणमा खुवाउन लागिएको सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन् । यही फागुन १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइने छ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले बताए ।
अघिल्ला वर्षमा महिला स्वास्थ्य स्वमंसेविकाबाट औषधि खुवाउने गरिएकामा सो अभियानलाई थप प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार बाँकेमा यसवर्ष पाँच लाख ८८ हजार २७८लाई औषधि खुवाउन ३६८ स्वास्थ्यकर्मी खटिने जनाइएकोे छ । स्वास्थ्यकर्मीलाई सघाउन ७८९ महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् ।
स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौंचरणसम्म औषधि खुवाउदा अपेक्षित उपलब्धि हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयवासी विश्वस्त र आश्वस्त हुने सोचेर नयाँ रणनीति अपनाइएको बताए ।

अघिल्ला अभियानमा औषधि सेवनबारे गलत धारणा, शहरी क्षेत्रमा औषधि सेवन प्रगति न्यून हुनेलगायत चुनौती सामना गर्नुपरेको बताइएको छ ।

बाँकेको कूल पाँच लाख ८८ हजार २७८ जनसङ्ख्या रहेकामा करीब १३ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको अनुसन्धानले देखाएको छ । ‘क्युलेक्स क्याङ्किफेसिएटस’ नामक लामखुट्टेले हात्तीपाइले रोग सार्ने गर्छ । रोग निवारणका लागि ‘डिइसी’ र ‘अलबेण्डाजोल’ नामक औषधि खुवाउँदै आइएको छ । दीर्घरोगी, गर्भवती तथा सात दिनको सुत्केरी महिला र दुई वर्षमुनिका बालबालिका बाहेक सबैले यो औषधि सेवन गर्न मिल्ने जनाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob