scheduleबुधवार मंसिर ४ गते, २०७६

सांसद लिन गएको कांग्रेसको जम्बो टोली रित्तो हात फर्कियो


रसुवा, १३ फागुन । नयाँ शक्तिबाट विजयी सांसद र नेताहरु पार्टी प्रवेश गराउने उद्देश्यसहित दलबलसहित रसुवा पुगेका कांग्रेस सभापति देउवा निराश भएर काठमाडौं फर्किएका छन् ।

सोमबार सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेता गगन थापालगायतका नेताहरु रसुवा पुगेका थिए । पार्टी प्रवेश गर्ने भनी प्रचार गरिएका सांसद प्रेम तामाङ कार्यक्रम स्थलमा अनुपस्थित भएपछि कांग्रेस नेतृत्व जिल्लिएको थियो । गलत सूचना दिएको भन्दै हेलिकप्टर चढेर रसुवा पुगेका नेताहरुले स्थानीय कांग्रेस नेता मोहन आचार्यलाई हप्काएका थिए । मोहन आचार्यको सूचनाको आधारमा कांग्रेसले सांसद तामाङ र गाउँपालिका अध्यक्षसहित रसुवाको नयाँ शक्तिको सिंगो जिल्ला कमिटी विलय गराउने प्रचारबाजी गरेको थियो ।

कार्यक्रममा पुगेर अलमलमा परेका कांग्रेस नेताहरुले नयाँ शक्तिका जिल्ला सदस्य फुर्वु वाङ्दी तामाङलाई नक्कली जिल्ला संयोजक बनाएर एकाध कार्यकर्तालाई टिका लगाएका थिए ।

यसैबीच नयाँ शक्ति पार्टी, रसुवाका जिल्ला संयोजक दावा तामाङले अनाधिकृतरुपमा नयाँ शक्तिको झण्डा प्रयोग गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । कांग्रेसका शीर्ष नेताहरुले नै अर्को पार्टीको सामान्य कार्यकर्तालाई जिल्ला संयोजक घोषणा गर्दै पार्टी प्रवेशको होहल्ला गर्नु राजनीतिक संस्कारहिनताको उदाहरण भएको तामाङले प्रतिक्रिया दिए ।

‘फागुन १३ गते कांग्रेस रसुवाले कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा अनाधिकृतरुपमा नयाँ शक्तिको झण्डा प्रयोग गर्ने, फुर्वु वाङ्दी तामाङलाई संयोजक भनी झूटो प्रचार गर्ने नयाँ शक्ति रसुवाको गम्भीर ध्यानाकर्षण भएको छ,’ संयोजक तामाङले भने, ‘फुर्वा वाङ्दी संघीय परिषद सदस्य र जिल्ला समितिको सदस्य मात्रै हुन् ।’

उनले पार्टीको संयोजकसँग धारणा नबुझी झूट प्रचारबाजी गर्नेहरुको पनि ध्यानाकर्षण गरेका छन् । ‘परिवर्तनका चेत भएका जनता कुनै अमूक नेताको पिछलग्गू हुन सक्दैनन् भन्ने कुरा रसुवाली जनताले पुष्टि गरिदिएका छन्,’ संयोजक तामाङले भने, ‘हामी पार्टीको झण्डा दुरुपयोग गर्ने नयाँ शक्तिका कार्यकर्ता फूर्वा वाङ्दी तामाङ र नेपाली कांग्रेसलाई गैरराजनीतिक हर्कत नगर्न चेतावनी दिन चाहन्छौं ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage