scheduleबिहिवार आश्विन २ गते, २०७६

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

डम्बर खतिवडा

यात्रा अघिका कुरा
नेपालको पुरानो राजमार्गको पूर्वी विन्दू झापाको काकरभिट्टा हो र पश्चिम कञ्चनपुरको वनबासा । २०६५ यता देशमा अर्को पूर्व–पश्चिम लोकमार्ग बन्दैछ– पुष्पलाल लोकमार्ग । पुरानो राजमार्ग चुरेभन्दा ठीकमुनिको रेन्जमा तराई भएर पूर्व–पश्चिम गर्छ, नयाँ पुष्पलाल राजमार्ग भने मध्यपहाडका जिल्ला भएर पूर्व–पश्चिम गर्छ । यसको पूर्वी विन्दू पाँचथर जिल्लाको चिवा भन्ज्याङ्ग हो र पश्चिम बैतडी जिल्लाको झुलाघाट ।

नयाँ शक्ति पार्टी, नेपालको कार्तिक १४–१५ गते बुद्धनगर काठमाडौंमा बसेको १५ औं संघीय कमिटी बैठकले मध्यपहाडी लोकमार्गमा जनसंवाद यात्रा गर्ने निर्णय गर्‍यो । यात्रामा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, प्रदेशहरुको पुनर्सिमांकन, प्रादेशिक राजधानी र क्षेत्रीय विकासको सम्बन्ध, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनर्गठन, विदेशमा बस्ने नेपालीहरुको भोटिङ् अधिकार, संघीयता कार्यान्वयन र स्थानीय विकासमा देखिएका समस्या लगायतका सवालमा बृहत जागरण अभियान सञ्चालन गरिने तय भयो ।

डम्बर खतिवडा

लोकमार्ग निर्माणको अवस्था बुझ्ने र लोकमार्ग वरपरको जनजीवनको अध्ययन तथा समस्या संकलन गर्ने यो यात्राको अर्को महत्वपूर्ण अभिष्ट थियो । डा. बाबुराम भटटराईले अर्थमन्त्री छँदा विभिन्न जिल्ला सडक तथा कृषि सडकका टुक्राहरु जोडेर मध्यपहाडी लोकमार्गको अवधारणा बनाएका थिए, पुष्पलाल लोकमार्ग नामाकरण गरेका थिए– यो मार्गमा पहिलो राजनीतिक संवादको रेकर्ड पनि आफ्नै नेतृत्वमा बनाउँदै थिए ।

सुनेको कुरा– राजा महेन्द्र अक्सर देशको भ्रमण गरिरहन्थे । पहाडमा एउटा, तराईमा एउटा हुलाकी सडक थियो, त्यो समय । अहिलेको मध्यपहाडी लोकमार्ग मूलतः पहाडी हुलाकी मार्गको आसपासबाट निर्माणाधीन छ । नेपालको मध्यपहाडी क्षेत्रमा राजा महेन्द्र २०१३ सालमा करिब २ वर्ष लगाएर हिडेका थिए रे । त्यसपछि टुक्राटाक्री बाहके कुनै राजनेता वा शासनप्रशासनको महत्वपूर्ण भूमिकामा रहेका व्यक्तिले यो क्षेत्रको एकमुष्ट भ्रमण गरेको थिएन । डा. भट्टराईको नेतृत्वमा कतिपयका लागि असंभव र दुस्साहसिक लाग्ने यात्राको लागि हामी तयार हुँदै थियौं ।

अनुकुलता/प्रतिकुलताको अध्ययन गर्दै जाँदा ५ वटा ठूला अप्ठ्याराको चर्चा भयो ।

एक– समय अनुकुल भएन । माघ मध्यपहाडमा असाध्यै जाडोको महिना हो । सडक कयौं विन्दूमा अग्ला लेक भएर कट्छ । त्यहाँ हिउँ पर्छ ।

दुई– मध्यपहाडी लोकमार्गको ट्रयाक खुलिसकेको छैन । खुलेको पनि अधिकांश कच्ची बाटो छ । यात्रा निक्कै जोखिपूर्ण हुन्छ ।
तीन– समय कम भयो । एक महिनामा यति धेरै जिल्ला, यतिधरै स्थान र यतिधेरै कार्यक्रमहरु सम्पन्न गर्न सम्भव छैन ।
चार– अहिले कुनै राजनीतिक सरगर्मी छैन । जनसहभागिता कमजोर हुनसक्छ । सुमुसुमु बाटो हिड्न यत्रो जोखिम किन उठाउने ?

पाँच– यति लामो र महत्वाकांक्षी कार्ययोजना नयाँ शक्ति जस्तो सानो आकारको पार्टी पंक्तिले व्यवस्थापन गर्न सक्ला र ? यो त ठूलै पार्टीका लागि निक्कै गाह्रो काम हो ।

सडकको वास्तविक दूरी कति हो, त्यो प्रष्ट थिएन । प्रारम्भिक तथ्यांक १७६५ किमी थियो । पछि सडक विभागको तथ्यांकमा १७७६ किमी देखियो । यात्रा कै बीचका सडक विभागका कर्मचारीहरुले खबर पठाए, मध्यपहाडी लोकमार्गको लम्बाई १८७९ किमी हुनेछ । कृपया गलत तथ्यांक प्रयोग नगर्दिनु होला । पहाडी बाटोको लम्बाई सर्वे र रेखांकनबाट अन्तिम नहुँदो रहेछ । अनेक कठिनाईका कारण निर्माणका क्रममा सडकलाई कतै घुमाउनु, कतै छोट्याउनु पर्ने हुने रहेछ । मध्यपहाडी लोकमार्गको अन्तिम लम्बाई निर्माणपछि कति कायम होला, अझै कसैले भन्न सक्दैन ।

तर, मान्छेको दृढता र संकल्पशक्तिका अगाडि यी सबै कठिनाई अर्थहीन थिए । नेपालमा वैकल्पिक राजनीतिको परियोजना कुनै सुविधाको परियोजना हैन । संसारका कुनै पनि वैचारिक तथा राजनीतिक आन्दोलन निष्ठा, त्याग, समर्पण र जोखिमको मूल्य चुक्ता नगरिकन सफलताको शिखरमा पुगेका उदाहरण छैनन् । वैकल्पिक राजनीतिका चुनौति उत्तिकै बहुआयामिक छन् ।

वैकल्पिक दर्शनको संश्लेषण, सशक्त अभियान संचालन, प्रस्तिष्पर्धी संगठन निर्माण र चुस्त व्यवस्थापन क्षमता र कौशल विना वैकल्पिक राजनीतिको स्वीकार्यता सहज छैन भन्ने हामीलाई राम्रो थाहा थियो । कुनै एक इभेन्ट, एक यात्राले यी सबै उपलब्धि भइहाल्ने पनि हैन । तथापि वैकल्पिक राजनीतिक एक अविछिन्न परियोजना हो, जसले समावेशी, समृद्ध र सुशासित नेपाल निर्माण नगरिकन जस्तै अप्ठ्यारोमा पनि आफ्नो यात्रा रोक्न सक्दैन । यो जनसंवाद यात्रा त त्यसको एक कडी मात्र थियो ।
यात्राको थिम तय भयो– असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा । दुई नाराहरु तय गरिए– अब आँखा खोलौं । समृद्धि– सबैका लागि, सधैंका लागि ।

हाम्रो बुझाईमा नेपालमा वैकल्पिक राजनीति नयाँ युगको एजेण्डा सेटिङ्गको राजनीति हो । नयाँ युग भन्नाले उत्तर-गणतान्त्रिक, उत्तरमार्क्सवादी र उत्तरआधुनिक युग हो । चौथो औद्योगिक क्रान्ति, विशेषतः इलेक्ट्रोनिक क्रान्तिपछि विज्ञान, प्रविधि, उत्पादन शक्ति, उत्पादन सम्बन्ध, उत्पादको चरित्र र प्रकारमा आउने हेराफेरीको युगमा नयाँ अन्तर्विरोध चिन्ने र समाधान गर्ने राजनीतिक परियोजना नै वैकल्पिक राजनीति हो ।

हिजो लोकतन्त्र, गणतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता र संविधानसभा नेपाली राजनीतिका एजेण्डा थिए । आज सुशासन, समृद्धि, समावेशिता, सहभागिता र स्वाधिनता मुख्य एजेण्डा हुन् । असल राजनीतिभित्र लोकतन्त्रको अझ बढी लोकतान्त्रिकरण र सुशासनका सवाल समेटिन्छन् । समावेशी विकासले समृद्धि र समावेशिताको अन्तर्सम्बन्धलाई व्यक्त गर्दछ । अर्थतन्त्रको निश्चित ढाँचा र मोडेललाई व्यक्त गर्दछ । नयाँ युगका नयाँ एजेण्डाबारे जनसुमदायका बीचमा प्रत्यक्ष र सार्थक संवाद गर्ने अवसर प्राप्त गर्नु त्यसै पनि खुशी र गौरवको कुरा थियो ।

यात्रा अघि नै हामीले केही आचारसंहिता बनायौं । दलको ब्यानरमा भए पनि यो शुद्ध दलीय कार्यक्रम हुने छैन । तसर्थ सबै दल, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका सबै पक्षसंग विना आग्रह पूर्वाग्रह भेटघाट गर्ने । दोस्रो– कुनै पनि दल र नेतालाई चुनावी सभाहरुमा जस्तो गाली नगर्ने, तर्कसंगत सवाल मात्र उठाउने, नयाँ शक्ति पार्टीमा प्रवेश गर्न चाहनेहरुलाई पनि यो संवाद अभियानका कार्यक्रमहरुमा पार्टी प्रवेश नगराउने । तेस्रो– स्थानीय पार्टी र जनसमुदायमा आधारित भएर अभियान चलाउने, जनताले स्वऐच्छिक रुपमा खान बस्न दिए खाने नत्र आफैं खर्च गर्ने । खर्चपर्चमा जनसमुदायलाई भार नपार्ने ।

मुकाम च्याङ्गथापु
माघ १५ गते बिहान पुग्नु थियो– चिवा भन्ज्याङ्ग । बिहान ८ बजे चिवा भन्ज्याङ्ग पुगिए समय सोचे अनुसार हुन्थ्यो । त्यसका लागि १४ गते बिहान टोली दमकमा एकठठा भएर च्याङ्गथापु बास बस्ने गरी हिंड्यो । दमकदेखि थर्पुसम्म हामीले सहज र सामान्य यात्रा गर्‍यौं । मध्यपहाडी लोकमार्ग पाँचथरको जोरसालबाटै भेटिन्थ्यो तर त्यो मेची राजमार्गको एक भाग पनि थियो । मध्यपहाडी राजमार्गको वास्तविक हालत त थर्पुबाट नै शुरुवात भयो । ठूल्ठूला खाल्डा, पानीले हिलाम्मे भएका लेसाइलो भीर, गाडीको क्लियरेन्सले नपुग्ने गरी उठेका ढुंगाहरु, पुल नबनेका पहाडी खोलाहरु, सडकमा ठाउँठाउँ भेटिने ट्रयाक मिलाउँदै गरेका ह्याभ्भी इक्युइपमेन्टसले सृजना गर्ने अवरोध, थोरै चिप्लिए हज्जार मिटर तल पुगिएलाजस्ता भीरहरु । यी सबै छिचोल्दै हामी करिब रातको ९ बजे च्याङ्गथापु पुग्यौं ।

तर, हामी पुग्दा च्याङ्गथापु सुतेको थिएन । लाग्थ्यो, पुरै गाउँ हाम्रो प्रतिक्षामा छ । करिब ६० जनाको टोली च्याङ्गथापु पुग्ने खबर पठाएको थियौं । खाना र बासको व्यवस्था त्यही अनुसारको थियो । तर, पुगेर हिसाब लिँदा १२६ जनाको तथ्यांक बन्यो । खानाको लागि गाउँलेहरुको तर्फबाट जन्तीभोजझैं ठूलो मेस तयार थियो । मध्यरातको कटकटी शरीर खाने जाडो, तात्तातो च्याङग्राको मासुको झोल र भात । तर, सुत्ने ठाउँ व्यवस्थापन गर्न गाउँलेहरुलाई हम्मेहम्मे परिरहेको थियो । भोलिपल्ट बिहान उठ्दा हाम्रा घरबेटी डिल्ली दाहालले भने, ‘यो ठाउँको जाडो यस्तै हो । रात कट्यो कि बाँचियो भन्ने बुझ्नुपर्छ ।’

हामी बास बसेको घर डिल्ली दाहाल र योगमाया खतिवडा दम्पतिको थियो । उनीहरु दुबै स्थानीय स्कुलका शिक्षकशिक्षिका थिए । परशुराम खापुङ सर त्यसैपनि लिम्बुवान क्षेत्रमा राम्रो परिचय भएको पुरानो राजनीतिज्ञ । संयोगले डिल्ली र योगमाया दुबैले खापुङ सरलाई राम्रो चिन्थे । योगमाया र मेरा बीच दिदीभाइको साइनो बन्न कतिबेर लागेन । हाम्रा टोली नेता डा. भट्टराई दम्पतिको बास पनि यही घरमा परेको थियो । बिहान ५ बजे उठेर हिंड्ने सल्लाह गर्दै सुतियो ।

दमकबाट उकालो लाग्दा म प्रदेश संयोजक प्रभुराम श्रेष्ठको गाडीमा थिएँ । हाम्रो टोलीमा अतिरिक्त खापुङ सर, पार्टी संरक्षक परिषदका सदस्य पदमबहादुर राई, यातायात व्यवसायी राम भट्टराई थियौं । इलामका पार्टी अभियन्ता देवकुमार जबेगु बाटोमा थपिए । प्रभुजी आफ्नो गाडी आफै ड्राइभिङ गर्ने मान्छे । ड्राइभिङमा बेजोडको शोख र आत्मविश्वास भएको मान्छे । तथापि आफ्नो जिम्मेवारीको क्षेत्रमा कार्यक्रम कसरी शुरुवात होला र मौसम कस्तो रहला भन्ने चिन्ताले अघिल्लै दिनदेखि हामीलाई भन्दा बढी प्रभुजीलाई सताइरहेको थियो । गंगा र प्रशान्तजीले अगाडि नै बाटो रेक्की गरेका थिए । उनीहरुको भनाईमा बिहान ५ बजे च्याङ्थापुबाट नहिँडे ८ बजे चिवा भन्ज्याङ पुग्न सकिँदैनथ्यो ।

सेताम्य चिवा
माघ १५ गते । बिहानबिहानै उठेर चिवा भन्ज्याङका लागि गाडीका ताँतीहरु तयार भए । याङवरक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले राम्रो सहयोग गरिरहेका थिए । पार्टीगत हिसाबले फरक पार्टीमा भए पनि आफ्नो गाउँमा पूर्वप्रधानमन्त्री आइपुग्दा सहयोग गर्नु राजनीतिक संस्कार र मानवीय सम्बन्धका हिसाबले उनीहरुले स्वभाविक ठानेका थिए । थुप्रै स्थानीयहरु बलेरो भाँडामा लिँदै भन्ज्याङसम्म जाने तयारी गर्दै थिए । कम्तीमा ३१०० मिटर अग्लो लेक थियो चिवा भन्ज्याङ । नेपाल र भारत दुवैतर्फ करिब १० किमी क्षेत्रमा कुनै मानवबस्ती थिएन । अधिकांश स्थानीयहरु पनि चिवा भन्ज्याङ पुगेका थिएनन् । उनीहरुका लागि पनि यो एक मौका जस्तो थियो । पूर्व प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुने, च्याङथापुको बासिन्दा भएर चिवा भन्ज्याङ नपुगेको दोष कटाउने, चिवा भन्ज्याङलाई ब्रान्डिङ गर्ने । चिवा भन्ज्याङ्ग ब्रान्डिङ भए च्याङ्गथापुको पर्यटन व्यवसायमा ठूलो सकारात्मक प्रभाव पर्ने स्वभाविक थियो ।

याकलिङ्ग क्षेत्र पुगेपछि निर्जनता शुरुवात हुन्छ भनिएको थियो । याकलिङ कति र कत्रो क्षेत्र वा इलाकाको नाम हो थाहा पाउन सकिएन । साँगा भन्ज्याङ्ग भन्ने सानो बस्ती रहेछ, चिवाको उकालो चडनुअघि । त्यहीबाट निर्जनक्षेत्र शुरुवात भयो । गाडीभित्रै लेक लागेको अनुभूति गर्न थालियो । भीरमा भेडीगोठ र चौरीका बथान देखिन थाले । सिउरेनी भन्ज्याङ पुग्दानपग्दै कच्ची ट्रयाकमा २ फिटसम्म हिउँ जमेको भेटियो । मेरो लागि यो हिमाली हिउँसँग जिन्दगीकै पहिलो जम्काभेट थियो । बाटोमा हिउँ जम्यो भने गाडीहरुको टायर चिप्लन्छ, चिवा भन्ज्याङ पुग्न गाह्रो हुन्छ भन्ने साथीहरुको चिन्ता व्यवहारमा जस्ताको त्यस्तै अनुवाद भएको थियो ।

चिवा भन्ज्याङको उद्घाटन कार्यक्रम मैले सञ्चालन गर्ने सल्लाह भएको थियो । म चढेको प्रभुजीको गाडीमा फोरह्वील थिएन । हामीसँग भएका आधाजसो गाडीमा फोरह्विल थिए, आधाजसोमा थिएनन् । अर्को सुचना थियो– सिउरेनीको हिउँ त शुरुवात मात्र हो । करिब ५ किलो मिटर योभन्दा बाक्लो हिउँ छिचोलेर मात्र चिवा भन्ज्याङ पुग्न सकिन्थ्यो । प्रभुजीले टुह्वील स्कार्पियोलाई पूर्ण क्षमतालाई उपयोग गर्न खोजे । हिउँमा चक्का फिनिनी घुमे मात्र । गाडी एक इञ्च अगाडि बढेन । हामी भन्दा ठीक अगाडि डा. भट्टराई चडेको गाडीमा चक्काहरु ठीक यसरी नै फिनीनी घुमिरहेका थिए । मदन दाईको फोरह्वीलवाला बलेरो भने मरितरी घिस्रिन थाल्यो ।

गाडीबाट उत्रिएर साथीहरु हिउँ खेल्न थाले । गाडी अगाडि नबढ्ने निश्चित भएपछि म पनि उत्रिएँ । हिउँमा नहिडेको मान्छे । बल्याङबल्याङ्ग दुई चोटी लडे । टाउको दुख्न थाल्यो । साथीहरुको भनाईमा लेक लागेको संकेत थियो । मकैले लेक लागेको काट्छ भनेर सबैले भुटेको मकै बोकेका थियौं । मर्याङ्मर्याङ्ग चपाउन थाल्यौं । हो रहेछ । टाउको दुःखेको हट्यो, सजिलो अनुभूति भएर आयो ।

तर, मनमा चिन्ता भने बढिरहेको थियो । के हामी चिवा भन्ज्याङ पुग्न सक्दैनौं ? के गर्ने हो ? कि सिउरेनी भन्ज्याङ्गबाटै शुरुवात गर्ने ? तर, डा. भट्टराई तयार थिएनन् यसका लागि । उनी जुनकुनै मूल्यमा चिवाभन्याङ्ग पुग्ने दृढ मनोबल लिएर गाडीमै बसिरहेका थिए ।

यात्रामा सबैभन्दा बलियो गाडी प्रशान्त सिंहको थियो । फोरह्वीलवाला टोयटाको हाइलक्स । त्यो गाडीमा गंगाजी, प्रशान्तजी र भीम पराजुली अगाडि नै सबैभन्दा अगाडि चिवा पुगिसकेका थिए । त्यही गाडीलाई फिर्ता ल्याएर डा. भटटराई लगायत केही मान्छेहरु चिवा पुग्ने र कार्यक्रमको उद्घाटन गर्ने सबैको सोच बन्न थाल्यो । यात्राका सबै सहभागी चिवा पुग्ने कुनै उपाय देखिएन । तर, दूर्भाग्य सल्लाह गर्न फोन लाग्दैनथ्यो । गंगाजीहरुले गरेको फोन यता लागेन । हामीले गरेका फोन उता लागेन । करिब आधा घण्टा सिउरेनीमा अलपत्र परेर हिउँ कट्न नसकेकाहरु साँगा भन्ज्याङ्ग झर्‍यौं । नभन्दै गंगा र प्रशान्तजीले त्यही ट्रिक लगाएछन । डा. भटटराईसमेत हाइलक्स र बलेरोमा आधाजति साथीहरु चिवा भन्ज्याङ्ग पुगे । हामी आधा जति करिब ५ किमी वरबाटै फर्किन बाध्य भयौं ।

पुग्न नसके पनि सेताम्य चिवा भन्ज्याङ्ग प्रष्टै देख्न सकिन्थ्यो । ८ बजेको साटो जनसंवाद यात्रा उद्घाटन कार्यक्रम ९.३० बजे शुरुवात भएछ । गंगाजीले सञ्चालन गर्नु भएछ । संयोगको कुरा ठीक एक महिनापछि बैतडी झुलाघाट पुग्दा पनि बिहानको ९.३० नै बजेको थियो ।

साँगा भन्ज्याङ्ग झरेर साथीहरुको प्रतीक्षा गर्नु बेचैनीको विषय बन्यो । यात्रा शुरुवातकै दिन यस्तो अप्ठ्यारो र जोखिम कल्पना गरिएको थिएन । फोन नलाग्ने हुँदा कुनै खबर प्राप्त गर्न सम्भव भएन । बाटो छेऊ बेघा थरका लिम्बुको एउटा सानो पसल घर थियो । निर्माणाधीन सडकका कामदार थिए उनी । उनकी श्रीमती सानो चियापसल चलाउँछिन् । उनी हिजो साँझ मात्र ट्याक्टर लिएर त्यही हिउँको बाटो फर्किएका थिए । उनले हाम्रो स्थिति बुझेपछि ढाडस दिन खोजे, ‘आत्तिनु पर्दैन । जुन गाडी गएनन, ती गएनन्, जुन गाडी जान सक्छन, ती सकुशल फर्किन पनि सक्छन् ।’

हामी त्यही पसलमा किनेर चिया र उसिनेको इस्कुस खान थाल्यौं । खाना खान फर्किएर फेरि च्याङ्गथामु नै पुग्ने योजना थियो । बेगाजी बढो रमाइलो र फरासिलो मान्छे थिए । उनले लिम्बु सभ्यता र संस्कृतिको वर्णन गर्न थाले । उनले भने– ‘लिम्बुहरुका थर उत्पति भएका गाउँहरु यही वरिपरि छन् ।’ पश्चिम-उत्तरको एउटा गाउँलाई देखाउँदै उनले भने– ‘ऊ त्यो गाउँबाट बेगा थरको उत्पति भएको हो । मेरो पुर्खेउली घर त्यही छ । यहाँ यो मध्यपहाडी सडक खुलेपछि ८ आना जग्गा बाटो छेउ किनेर यो घर बनाएको हुँ ।’

उनले च्याङ्गथापु शब्दको अर्थ लगाए– ‘च्याङ भनेको च्याब्रुङको छोटो रुप हो । च्याब्रुङ लिम्बु संस्कृतिको सबैभन्दा पवित्र बाजा हो । लिम्बुहरुका सबै शुभकार्यहरु च्याब्रुङ्गको रन्कोबाट शुरुवात हुन्छन् । फाक्तु भनेको ल्याउँ वा ल्याउँनु । च्याङथापु कुनै समय लिम्बुहरु जम्मा भएर शुभकार्यहरुमा नाँच्ने मैदानजस्तो थियो । च्याब्रुङ्ग लिएर आउ भन्दा लिम्बु भाषामा च्याङफाक्तु हुन्छ, त्यही अपभ्रंश भएर च्याङ्गथापु भएको हो ।’ बेगाजीको व्याख्यामा खापुङ सरले सही थाप्नु भो । हामीले पत्यायौं ।

फेरि प्रश्न उठ्यो– चिवा भन्ज्याङ्गको अर्थ के होला ? चिवा, चियो र चेवा यी ३ शब्द बराबर जसो प्रयोग हुन्छन त्यहाँ । नेपाली भाषीहरुले ‘चियो’ भन्छन् । यसको अर्थ उनीहरु नेपालतिरबाट चियाएर भारतको सिक्किमतिर हेर्ने भन्ज्याङ्ग ठान्छन् । तर, लिम्बुहरु यसलाई ‘चिवा भन्ज्याङ्ग’ भन्छन । भारतेलीहरु चेवा । यी मध्ये चिवा भन्ज्याङ्गको मानक नाम, मानक शब्द कुन बन्ने हो यकिन छैन । निर्जन क्षेत्र हो, त्यो अहिले । जब मध्यपहाडी सडक पूरा होला, आसपासमा बस्ती बस्लान्, बासिन्दाहरुले कुन नाममा आमसहमति गर्लान्, यसै भन्न सकिन्न । बेगाजीले पनि यी तीन शब्दहरुको अर्थको समानता वा भिन्नताबारे कुनै वर्णन गर्न सकेनन् ।

२ घण्टा बढी समय भइसकेको थियो– चिवातिर गएका साथीहरुको कुनै खबर नपाएको । एकाएक सिउरेनीको लेकमा गाडीका ताँतीहरु देखियो । हामी खुशीले त्यसैत्यसै उचालियौं । साथीहरु कार्यक्रम उदघाटन गरेर सकुशल फर्किंदै थिए । सर्वत्र हिउँले ढाकिएको चिवा भन्ज्याङ्ग आसपासका डाँडाहरु बेगाजीकै आँगनबाट मनपुग्दो हेर्‍यौं र च्याङ्गथापु फर्कियौं ।

फोरह्वील गाडीका साथीहरु चिवा पुगे । टुह्वीलवाला पुगेनौं । केही साथीहरु हिडेरै पुग्नु भएछ । हिउँमा ५ किमी बढी हिडेर चिवा पुग्ने साथीहरुका अनुभव र दुख्खहरु आफ्नै प्रकारका थिए । मनमा एक किसिमको खिन्नता भने रही रह्यो । मेरो मन मैसंग भन्दै थियो – यात्राको प्रारम्भमै कम्तीमा ५ किमी बाटो त छुट्यो त साथी !

(जनसंवाद यात्रामा सहभागी नेता तथा स्तम्भकार डम्बर खतिवडाको संस्मरणका केही श्रृंखलाहरु क्रमशः प्रकाशन गरिनेछ)

क्रमशः ………

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage