scheduleमगलवार भाद्र ३१ गते, २०७६

विश्वको विकसित ध्रुवबाट कस्तो देखिन्छ नेपाल ?

डा.बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई

मैले यस वर्ष संसारको सबैभन्दा विकसित ध्रुव अर्थात् पश्चिमी ध्रुवको युरोप र अमेरिका र विश्वको अत्यन्त पछाडि परेको ध्रुव नेपालको मध्यपहाडी भागको भ्रमण गर्ने अवसर पाएँ । प्रवासमा रहँदा त्यहाँ रहेका नेपालीहरु, विद्वान मित्रहरु र विज्ञान र प्रविधिका पछिल्ला आविस्कारहरु अध्ययन गर्ने र बुझ्ने अवसर पाएँ । नेपालमा पनि मुलतः स्थानीय तहका पदाधिकारीहरु र नागरिक अगुवाहरुसँग संवाद गरेर यथास्थिति बुझ्ने प्रयास हामीले गरेका थियौं ।

मैले गत साउनमा यूरोपका ९ देशहरु र भदौ र असोजमा अमेरिकाका १० वटा राज्यहरुको भ्रमण गरेको थिएँ । त्यसक्रममा १० वटा जति विश्वविद्यालयहरु हार्वड, एमआइटि, कोलम्बिया, क्यालिफोर्निया युनिभर्सिटी लगायतमा भ्रमण गरेँ । त्यहाँ अध्ययन गर्ने र अन्तरक्रिया गर्ने अवसर मैले प्राप्त गरेँ ।

त्यसरी नै, माघ १५ देखि फागुन १५ गतेसम्म पाँचथरको चिवाभञ्ज्याङदेखि बर्दियाको झुलाघाटसम्म मध्यपहाडी÷पुष्पलाल लोकमार्गमा जनसंवाद यात्रा सम्पन्न भएको छ । त्यसक्रममा २८ वटा जिल्लामा १ सय ४४ वटा जनसम्वाद हामीले गरेका थियौं । तीमध्येमा तीमध्ये ७० भन्दा धेरै स्थानीय तहसँग हामीले संवाद गरेका थियौं ।

यिनै विषयमा केन्द्रित भएर म संक्षिप्तमा आफ्ना कुराहरु राख्न गइरहेको छु । सबैभन्दा पहिलो विश्वको सबैभन्दा विकसित स्थान अर्थात् ध्रुवबाट हेर्दा के देखियो ? हामीले के सिक्नुपर्ला ?

मैले बुझेअनुसार अहिलेको विश्वमा एजेण्डा फेरिएको छ । विमर्श, डिस्कोर्स फेरिएको छ । जसरी आजभन्दा ५ सय वर्ष पहिले मानव जातिले ठूलो फड्को मारेर आधुनिक युगमा पदार्पण गरेको थियो र ठूलो फड्को हानेको थियो । र, हामी वैज्ञानिक र औद्योगिक क्रान्ति र प्रबोधन युग हुँदै यहाँसम्म आइपुगेका छौं ।

२१औं शताब्दीमा प्रवेशसँगै अर्थात् अर्को शहश्राब्दीमा प्रवेश सँगसँगै विश्व नयाँ चरणमा आइपुगेको छ, विश्वले अर्को एउटा फड्को हानेको छ । प्याराडाइम सिफ्ट भएको छ भन्ने डिस्कोर्स त्यहा चलिरहेको छ । त्यसक्रममा हालसालै भएका चौथो औद्योगिक क्रान्ति र आर्टिफिसियल इन्टेलिजेन्स र वातावरण विनाश जस्ता मुद्दा प्रचुर मात्रामा उठेका छन् । विकासका हिसाबले वस्तु र सेवा क्षेत्रको उत्पादनको प्रचुरता मानव जातिले इतिहासमा कहिल्यै भएको थिएन । तर, त्यसको असमान वितरणले गर्दा समस्या ल्याइरहेको छ । यसको समाधान कसरी खोज्ने भन्ने बारेमा त्यहाँ पनि विमर्श भइरहेको छ ।

यसरी हेर्दा दार्शनिक दृष्टि र वैचारिक दृष्टिले हिजोसम्म प्रवद्र्धन युगपछाडि अभ्यास गरिएको उदारवाद र माक्र्ससेली समाजवाद त्यही युगको एउटा रुखका दुईटा हाँगा थिए । तर यहाँसम्म आइपुग्दा ती दुवै हाँगाहरु अपूर्ण भए । त्यो रुख नै पुरानो भयो । त्यसले फल दिन छाड्यो र नयाँ बिरुवा दिनुपर्छ । नयाँ विचार आविष्कार हुनुपर्छ भन्ने सन्दर्भमा भौतिक विज्ञानको क्षेत्रमा पनि युनिफाइड थ्यौरी अफ एभ्रीथिङ अर्थात् सबै कुराको एकीकृत सिद्धान्त भन्ने बारेमा एउटा ठूलो विषय आविष्कार भइरहेको हामीले पायौं ।

सामाजिक क्षेत्रमा मानव जातिले अंश–अंशरुपमा मात्र हेर्नुहुँदैन, हिजो उदारवादले पनि व्यक्तिको अंशलाई मात्रै हेरेर निजत्वलाई प्राथमिकता दियो । आंशिक मानवलाई मात्रै हेर्‍यो । अर्को माक्र्सेली समाजवादले पनि सामाजिक सम्बन्धलाई आंशिकरुपमा हेर्‍यो, पूर्ण मानवको रुपमा हेरेन । त्यसैले अब पूर्ण मानवको रुपमा हेर्न सक्ने दृष्टिकोण आवश्यक छ । अब मानवतावादी दृष्टिले सोच्नुपर्छ भन्ने वैचारिक दार्शनिक विमर्श भएको हामीले पायौं । समग्रमा हेर्दा त्यहाँ उत्तर पुँजीवादी विमर्श भइरहेको पायौं । तर हामी प्रि–क्यापिटलिस्टिक विमर्शमा नै छौं । यो फरक मैले पाएँ ।

राजनीतिक अर्थशास्त्रको दृष्टिले हेर्दा उत्पादनमा वस्तु र सेवाको यतिधेरै प्रचुरता भएको छ र वितरणमा असमानता पनि त्यस्तै प्रचुरता छ । यो समस्यालाई कसरी समाधान गर्ने भन्ने बढी विमर्श भइराखेको छ । तथ्यांकहरुले के भन्छन् भने विश्व इतिहासमा मानव जाति पहिलोपटक भोकले भन्दा मोटोपनले बढी मरिरहेका छन् । मोटोपनले लाग्ने ओबिसिटीका बिमारीहरु बढी फस्टाएका छन् । तर, भोकको कारण कम रोग लागिरहेको छ ।

मानव इतिहासमा पहिलोपटक यस्तो भइरहेको छ । त्यसैले, आजसम्म ५ वर्षभन्दा कम उमेरका बालबालिकाको जनसंख्या ६५ वर्षभन्दा माथिका मानिसको जनसंख्या भन्दा बढी थियो । तर यो तथ्यांक पहिलोपटक उल्टिएको छ । अर्थात् मानिसको आयु लम्बिएको छ । मानव जाति समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । यसको हलको लागि कतिपयले न्यू इकोनोमिक पोलिसी अर्थात् नयाँ अर्थशास्त्रीय सिद्धान्त, कतिपयले न्यू ग्रीन डिल अर्थात् नयाँ हरित सम्झौता र कतिपयले क्रिटिकल मोर्डनिज्म अर्थात् आलोचनात्मक आधुनिकतावाद जस्ता आर्थिक सिद्धान्तहरुको खोजी भइरहेको हामीले त्यहाँ देख्यौं ।

राजनीतिक दृष्टिले हेर्दा उदारवाद, सामाजिक जनवाद अर्थात् सामाजिक लोकतन्त्र र साम्यवादभन्दा माथि उठेको एउटा वैकल्पिक राजनीतिको खोजी भइरहेको पनि हामीले देख्यौं । एकातिर चरम दक्षिणपन्थी कोणबाट पपुलिज्म हुँदै नव-फासिवाद उदय भएको हामीले देखेका छौं भने अर्को तिर वैकल्पिक राजनीति र प्रोग्रेसिभ डेमोक्रेसी, प्रोगेसिभ अल्टरनेटिभ र प्रोग्रेसिभ अलायन्स जस्ता अभ्यास र विमर्श भइरहेका हामीले देखेका छौं । यसरी विश्व नयाँ ठाउँमा पुगेको छ र यो पनि हाम्रो लागि सन्दर्भ सामग्री हुनसक्छ ।

हामीले प्रवासमा नेपाली समुदायसँग पनि संवाद गर्‍यौं । उहाँहरुबाट हामीले धेरै लाभ लिन सकिन्छ । उहाँहरुको सुझाव समृद्ध नेपाल निर्माण गर्नका लागि धेरै उपयोग छन् । अमेरिकामा मात्रै अहिले २५ हजारभन्दा बढी इन्जिनियरहरु रहेछन् । अहिले विज्ञान प्रविधि, आइसिटी र डिजिटल विश्वको राजधानी भनेर चिनिने सिलिकन भ्यालीमा मात्र २७ सय नेपाली इन्जिनियरहरु रहेछन् । त्यहाँका ठूला ठूला कम्पनीहरु फेसबुकदेखि एप्पलसम्ममा नेपाली युवाहरुले काम गरिरहेको मैले देखेँ । उहाँहरुले सीप, पुँजी र अनुभवको आर्जन गर्नुभएको छ । उहाँहरुलाई नेपालमा सीप, पुँजी र अनुभवको लगानी गर्ने वातावरण बनाएर नेपालले प्रचुर मात्रामा लाभ लिन सक्छ ।

अहिले अमेरिका, युरोप र चीनबीच भित्रभित्रै एउटा शितयुद्ध गम्भीर ढंगले पुत्पुताइरहेको देखियो । राज्यस्तरबाट के भन्छ भन्ने होइन, हामीले त्यहाँका नीति निर्माता र चिन्तकहरुसँग सम्बाद गर्दा चीनको उदयले पश्चिमी जगत अलि आत्तिएको र नयाँ ढंगले शितयुद्धको तयारी भइरहेको प्रष्ट ढंगले देख्न सकिन्छ । उनीहरुको प्रतिष्पर्धाले चीन र भारतको बीचमा रहेको हाम्रो देशका लागि कस्तो असर पार्छ ? यसलाई पनि हामीले गम्भीररुपमा लिनुपर्ने देखियो ।

यसैबीचमा हामीले यही माघ १५ देखि फागुन १५ सम्म मध्यपहाडी लोकमार्गको यात्रा गर्‍यौं । यो पनि अत्यन्त पिंधमा परेको ध्रुवका मानिसहरु, जसको प्रतिव्यक्ति आम्दानी प्रतिवर्ष एक हजार डलरभन्दा कम छ, उनीहरुको अवस्था बुझ्ने हाम्रो उद्देश्य थियो । अमेरिकाको त ७० हजार डलर प्रतिव्यक्ति आय थियो । लक्जेमबर्गको १ लाख डलरभन्दा बढी प्रतिव्यक्ति आय थियो । तर, १ हजारभन्दा कम प्रतिव्यक्ति आय भएको देश, त्यो पनि हिमाल पहाडको अवस्था के छ ? यसको तुलनात्मक अध्ययन गर्ने हाम्रो लक्ष्य थियो । हिन्दू कुश अर्थात् अफगानिस्तान हुँदै बर्मादेखि नेपालको हिमाली भेग आउँदो शताब्दीमा एकदमै महत्वपूर्ण क्षेत्रहरु बन्नेवाला छ । अमेरिका र चीनबीच शितयुद्ध चल्यो भने त्यसलाई छेक्ने पर्खालको रुपमा यही हिमाली भेग नै रहनसक्छ । त्यसैले, यो क्षेत्र हाम्रो लागि एकदमै महत्वपूर्ण छ ।

मध्यपहाडी लोकमार्ग नै किन ? यसलाई रोज्नुका पछाडि केही पृष्ठभूमि पनि रहेका छन् । म अर्थमन्त्री हुँदा मैले यस योजनालाई रेडबुकमा राखेको थिएँ र पछि राष्ट्रिय गौरवको योजनामा पनि समावेश गर्ने अवसर पनि प्राप्त भयो । त्यसको निर्माण कहाँ पुग्यो ? भनेर हेर्ने एउटा पाटो त छँदैथियो, साथमा नेपालको एकीकरणपछि सही अर्थमा राज्य बन्यो भन्छौं । तर राज्य प्रशासनिक र फौजी हिसाबले मात्र एकीकरण भयो । नेपालको मुख्य जनसंख्या बसोबास गर्ने क्षेत्र भनेको मध्यपहाड थियो । तर, त्यहाँबाट पूर्वपश्चिम बाटो नजोडिँदा आर्थिकरुपमा पूर्वपश्चिम जोड्न सकिएन ।

सँगसँगै नेपालमा रहेका ९ वटा ठूलो जनसंख्या भएका जातिहरु जसको एक प्रतिशतभन्दा बढी जनसंख्या छ, तीमध्ये थारु र मधेसी मधेसमा बस्छन् । अरु सातवटा लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरु पहाडमा बस्छन् । यी सातवटा जातिको बीचमा पनि अन्तरघुलन हुन सकेको थिएन । यदि राजा महेन्द्रले चुरेको फेदीबाट राजमार्ग बनाउनुको सट्टा पहाडमा मध्यपहाडी लोकमार्ग र तराईमा हुलाकी राजमार्ग बनाउनुपर्थ्यो । नेपालमा ऐतिहासिक ढंगले जनसंख्या बसोबास गर्ने खास क्षेत्र यो थियो । त्यसो भएको भए जनताको आर्थिक सामाजिक स्तरमा परिवर्तन हुनसक्थ्यो । सायद, नेपाल अहिलेभन्दा अर्कै ठाउँमा पुग्थ्यो ।

हेर्नुहोस् भिडियो-

(पूर्वप्रधानमन्त्री तथा संघीय संसदका सांसद डा.बाबुराम भट्टराईले २०७५ फागुन २२ गते संसदमा गरेको सम्बोधनको अंश)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage