scheduleमगलवार जेष्ठ ७ गते, २०७६

शुक्रबार सहमति घोषणामा जे देखियो (तस्बिरहरु)


काठमाडौं, २४ फागुन । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहमा ‘प्रधानमन्त्रीको विशेष सम्बोधन’ भनी पत्रकार र कार्यकर्तालाई सूचना गरिएपछि आज बिहानैदेखि सो कार्यक्रमका विषयमा चासो उत्पन्न भएको थियो । कतिपय सञ्चारमाध्यमले स्रोत उल्लेख गर्दै प्रधानमन्त्री ओली र डा राउतको एउटै मञ्चमा सम्बोधन हुने जनाएका थिए । प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने अनुमानसहित सामाजिक सञ्जालमा टिप्पणी गरिएपछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहको हल तोकिएको समयअगावै भरिन थालेको थियो ।

सुरक्षाकर्मीको कडा चेकजाँचसहित सहभागी र पत्रकार हलमा प्रवेश गरेको केही समयपछि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र संयोजक राउत मञ्चमा एकैपटक प्रवेश गर्दा तालीको गडगडाहट छाएको थियो । सरकारका विभिन्न मन्त्रीहरु तथा नेकपा र गठबन्धनका नेतासमेत सहभागी कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सञ्चालन गरेर पृष्ठभूमि उल्लेख गरेपछि मात्रै कार्यक्रमको व्यहोरा स्पष्ट भएको थियो ।

विसं २०६९ जेठ ८ गतेदेखि अर्धभूमिगत रही पृथकतावादी गतिविधि चलाइरहेको आरोप लागेका डा राउतको गठबन्धनसँग आज भएको राजनीतिक सहमतिलाई मुलुकलाई विकास र समृद्धिमा अघि बढाउन सन्दर्भमा ऐतिहासिक घटनाका रुपमा हेरिएको छ ।

पछिल्लो समय गत मङ्सिर २० गते रौतहटबाट पक्राउ परेका राउत र सरकारबीच प्रधानमन्त्री ओलीको शनिबार रौतहटको गरुडामा हुने आमसभाको अघिल्लो दिन भएको छ । देश टुक्र्याउने खेल र ध्वंसात्मक गतिविधि गरेको अभियोग लागेको राउतले लोकतान्त्रिक विधि र शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्न तयार रहेको उद्घोष गर्नुले सरकारलाई एक प्रकारको राजनीतिक सफलता मिलेको छ ।

अध्यक्ष दाहाल, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित अधिकांश मन्त्रिपरिषद्का सदस्य उपस्थिति कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय नारी दिवस परेकाले उक्त कार्यक्रममा सहभागी महिलासहित आम जनसमुदायलाई शुभकामना व्यक्त गरे ।

एघार बुँदाको सहमति पत्रमा गृहमन्त्री रामबहादुर थापा र संयोजक राउतले हस्ताक्षर गरेपछि तस्वीर लिन पत्रकारलाई भ्याइनभ्याइ थियो । संयोजक राउतले आफ्नो जेल जीवनको अनुभव सुनाउँदै जेल सुधारका लागि सरकारको ध्यानाकर्षण गराउँदा हलमा हाँसो छाएको थियो ।

राउतले भनेका थिए, ‘हुन त १४ वर्ष जेल बसेका प्रधानमन्त्री ओलीका अगाडि मेरो जेल अनुभव सुनाउनु सूर्यका अगाडि बत्तीसरह हो तर मैले छोटो बसाईमा जेललाई पाठशाला ठानेँ । यसमा म नियतिलाई पनि धन्यवाद दिन्छु ।’

ओलीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताए । उनले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने बताए । उनले भने, ‘नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन गर्न र संविधान संशोधन गर्न सकिने पनि स्पष्ट पारे ।

सरकारले सबै पक्ष र देशवासीका समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पुर्‍याउनसमेत उनले सबैमा आह्वान गरे ।

राउत र प्रचण्ड उस्तै उस्तै

गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गरे ।

इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) राउत गलत बाटामा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर विचारक (थिङ्कर) समेत भएको पाइएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गरे । उनले प्रश्न गर्दै भने, ‘हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन ? त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?’

मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारका घटनामा कारवाही हुन थालेको उल्लेख गर्दै उनले विगतमा भ्रष्टाचार हुने गरेको र वर्तमान सरकारले कारवाही थालेको जिकिर गरे ।

सरकार र अदालतलाई एकै रुपमा नहेर्न आग्रह

सांसद रेशम चौधरीका सम्बन्धमा अदालतले गरेको फैसलाका सम्बन्धमा राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थनसँग जोडेर आएको प्रतिक्रियाबारे प्रधानमन्त्री ओलीले भने, ‘अदालत राज्यको अङ्ग भए पनि सरकारको अङ्ग होइन । अदालत र सरकारको काम अलग अलग हो ।” उहाँले आवेश र उत्तेजनामा आएर राष्ट्रको एकतामा फाटो ल्याउने राजनीति नगर्न आग्रह गर्दै विगतमा फरक ढङ्गले राजनीतिमा लागेका कार्यकर्ताले अब कुनै अलमलमा पर्न नपर्ने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अनेकतामा एकता नेपालीको विशेषता हो ।’

‘कम्युनिष्टका नाममा लुट सहन्न’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्टको बर्काे ओढेर जनतामा लुट नगर्न चेतावनी दिँदै त्यस्ता कामले कम्युनिष्ट पार्टीको बदनाम हुने भएकाले सो पार्टीलाई नाम परिवर्तन गर्न सुझाव दिए । उनले भने, ‘शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पूरा गर्न बम पड्काउने, टुट्ने र घरमा बन्दुक राख्नेहरुलाई सरकारले खानतलासी गरी कारवाही गर्छ ।’

अब मैले स्पेश पाएँः राउत

नेपालको राजनीतिक इतिहासमा यस सहमतिको ऐतिहासिक स्थान रहेको डा राउतले बताए ।

उनले केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र आफूहरु कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित रहेको बताउँदै आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको दिन साँच्चिकै ऐतिहासिक दिन रहेको बताए ।

राउतले भने, ‘हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियौं, राज्यद्वारा दमन हुँदा पनि हामीले कहिल्यै प्रतिशोध लिएनौँ, बरु प्रहरीेलाई गुलाबको फूल दिएका थियौँ, परिस्थितिको संवेदनशीलतालाई बुझी वर्तमान सरकारले आज सहमति गराएको छ । हामीले पनि स्पेश पाएका छौँ ।’

आफ्नो स्तरबाट राजनीतिक रुपमा प्रयत्न र सन्देश प्रदान गरेकोमा उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । उनले आफूहरु आफ्नो अधिकारका लागि लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिई विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि लाग्न सबैलाई आग्रह गरे ।  रासस

तस्बिरहरुः चन्द्रकला क्षेत्री/रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob