scheduleशनिवार जेष्ठ ११ गते, २०७६

ओलीले लुटेरा भनेकै दिन विप्लवको विज्ञप्ति आयो, ३० गते बन्दको घोषणा


काठमाडौँ, २४ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फागुन ३० गते आमहड्तालसहित नेपाल बन्दको आह्वान गरेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी ओलीले नेकपाको नाम राखेर लुटपाट बन्द गर्न आह्वान गर्दै लुटेरा भनेकै दिन विप्लवले एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन् । नेकपाले आफ्ना नेता/कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा, कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको अप्रेसनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवद्वारा शुक्रबार जारी विज्ञप्तिमा चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरिएकव छ । ‘केपी—प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको छ । दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पुर्‍याई पुनः सुन्दरीडाँडा जङ्गलमा लगेर गोली हानी घाइते बनाएको छ भने देशभरिबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ,’ विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भर्त्सना गर्दछ । साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’

विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताको हितका लागि पार्टीले प्रतिरोध सङ्घर्षको बाटो पकडिरहेको छ । विडम्बना, कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षार्थ हाम्रो पार्टीविरुद्ध दमन गरिरहेको छ ।’

विप्लवले आफू नेतृत्वको नेकपाले जनता र देशको हित, न्यायपूर्ण आवाज र सङ्घर्षविरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्ने दावी गरेका छन् । ‘हाल चलिरहेको फासिस्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिँदैन । जसरी शिवगढीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरि भइरहेको सेना, प्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखानालगायत सम्पूर्ण क्षेत्रहरू बन्द गरेर सहयोग पुर्‍याइदिनुहुन विशेष आग्रह गर्दछौँ ।’

आफूलाई लुटेरा भनेपछि विप्लवले नेकपा सरकारलाई रक्तपिपाशुको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘केही दिनअगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरि गोली चलाउने, सेना र प्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरूको फासिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौँ– उनीहरूले जस्तोसुकै दमन गरे पनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधीनताका लागि गरिने सङ्घर्षमा केही फरक पर्नेवाला छैन, न त उनीहरूको दमन नै सफल हुनेछ बरु क्रान्तिकारीहरूलाई अरू दृढ र समर्पित हुन प्रेरित गर्नेछ ।’ विप्लवले सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकारको संज्ञा दिँदै सरकारले फासिवादी दमन गरेको आरोप लगाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob