scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी–२

पाँचथर जिल्लाका सबैजसो गाउँ/नगरपालिकाका नाम लिम्बु भाषामा छन् । हिलिहाङ, फालेलुङ, तुम्बेबा, मिक्लाजुङ आदि । यी नाम सुन्दै फरक लिरिक र आनन्दको अनुभूति हुन्छ मनमा ।
अन्यथा यिनै शब्दहरुको अर्थ नेपाली भाषामा खासै फरक र मौलिक लाग्दैनन् । नेपालमा पहिचान र भाषिक विविधताको आन्दोलनको महत्व त्यहाँनेर छ सायद । काकरभिट्टालाई नेपाली अनुवाद गर्दा गंगटेबारी भएजस्तो याङ्गवरकको नेपाली अर्थ हुन्छ– पैसेपोखरी । काकरभिट्टा र याङ्गवरक शब्दको जुन मिठास छ, गंगटेबारी र पैसेपोखरीमा त्यो सायदै छ ।

लिम्बु भाषाका याङ्गको अर्थ हो– पैसा, ओरकको अर्थ हो– पानी । यी दुई शब्द मिलेर याङ्गवरक बन्छ, अर्थात् त्यस्तो ठाउँ जहाँ पानीमा पैसा पाइन्छ । थर्पु नजिकको डाँडोमा एउटा पोखरी छ । कुनै समय मान्छेले त्यहाँ पैसा चडाउँथे । पैसाको रुप सिक्का थियो । सिक्का पानीमा कुहिँदैनथ्यो । पछि पोखरीमा पौडी खेल्ने मानिसहरुले हिलो उगाउँदा तिनै सिक्काहरु भेटे, जस्ताको त्यस्तै । र भन्दिए, यो पानीमा पैसा पाइन्छ । पोखरीको नाम पैसे पोखरी भयो । याङ्गवरक भयो ।

चिवा भन्ज्याङ्ग– च्याङ्गथापु–थर्पु–गणेशचोक–गोपेटार हुँदै हेवा खोलाको ओरालो शुरु हुने स्थानसम्म झण्डै ६५ किमी मध्यपहाडी सडक एउटै गाउँपालिका भएर हिड्छ– याङ्गवरक । कुनै राष्ट्रिय लोकमार्गको यति लामो खण्ड एउटै गाउँपालिकामा पर्नु सायद त्यो गाउँपालिकाका लागि अवसर कै कुरा हो । जुन दिन मध्यपहाडी सडक बनिसक्ला, चिल्ला सडकमा सजिलै गरी मोटर गुड्लान, चिवा भन्ज्याङ्गसंग सिक्किमतिरका गान्टोक र उत्तरेबजार जोडिएलान्, च्याङ्गथापुसँग लिंकरोडका रुपमा पश्चिम बंगालको फोलेटबजार जोडिएला !

आशा गरौं– याङ्गवरक अहिलेको मेचीनगरजस्तै व्यापारिक नगर त बन्ला नै अझ सुन्दर पर्यटकीय नगर पनि बन्ला ।

याङ्गवरकका पालिका प्रमुख दलीय हिसाबले जुनसुकै पार्टीका हुन्, जातले लिम्बु होलान् कि भन्ने लागेथ्यो मनमा । हैन रहेछ । पालिका प्रमुख एमालेबाट जितेका लेखनाथ घिमिरे थिए । उनले हाम्रो टिमको राम्रो खोजीखबरी र खातिरदारी गरेका थिए । डा. भटटराईलाई च्याङ्गथापु पुग्नु अघि १४ गते साँझ नै थर्पु डुलाइएको थियो । पैसेपोखरी घुमाइएको थियो । पोखरी छेउमा उभिएर डा. भटट्राईले च्याब्रुङ्ग बजाएको फोटो सामाजिक सञ्जालमा त्यसै दिन भाइरल भएको थियो । केही दिनपछि काठमाण्डौकों एउटा अनलाइन पत्रिकाले त्यही फोटोलाई न्यूजस्टोरीको शीर्षक बनाएको थियो– भट्टराई कतै लौरो टेक्दै, कतै च्याब्रुङ्ग बजाउँदै ।

साँझको भीडभाडमा मैले पालिका प्रमुखलाई देखिनँ । चिनचान पनि भएन । तर, एउटा प्रश्न मनमा खेलिरहह्यो । प्रदेशको नामांकनको बिषयलाई पनि यसरी नै सजिलो गरी किन नलिएको होला । याङ्गवरक नाम हुँदैमा लिम्बु नै मेयर हुन्छन् भन्ने त हैन रहेछ । पहिचानको अर्थ नेपालमा भाषा र संस्कृतिका ओरिजिनहरुको रक्षा गर्ने हो । राष्ट्रिय समुदायहरुको आत्मसम्मानको उत्थान गर्ने हो । प्रतिनिधित्व र सहभागितालाई बृहत्तर बनाउने हो । त्यसभन्दा बढी सबै अतिवाद र फजुल कुरा हुन् ।

१५ गते च्याङ्गथापु र गणेशचोकमा जनसंवाद कार्यक्रम भए । साँझ फिदिममा भव्य सडकसभा भयो । लिम्बु भाषामा त पाँचथरको नाम ‘पानथरु’ हो । फिदिमको नाम ‘फेदेन’ । सरकारी कामकाजमा आज यी शब्द औपचारिक छैनन् । फिदिम बजारमाथिको डाँडोमा युमादेवीको मंदिर छ भन्ने मलाई थाहा छ । केही वर्ष अघि त्यहाँ पुग्दा इलाम क्याम्पस इतिहासको प्राध्यापक साथी मोहन थेबेले मलाई त्यहाँ घुमाएका थिए । लिम्बुवान सभ्यता र संस्कृतिबारे धेरै चिज बताएका थिए ।

म आफै युमादेवी पूजा गर्ने परिवारमा हुर्किएको मान्छे । हाम्रो मूलघरमा बुढीबज्युको थान अहिले पनि छ । किंवदन्तीअनुसार दूधकोशी तरेर पुर्व लाग्दा मेरा पुर्खाहरुले मष्ट संस्कृति परित्याग गरेको अर्थमा कुल बगाएका थिए । दुधकोशी तरेर पुर्व लागेका खतिवडाहरुले मष्ट मान्नु पर्दैन, कुलपुजा गर्नु, देवाली गर्नु, पशुवली दिनु पर्दैन । गोठधुप र युमादेवी माने पुग्छ भन्ने हाम्रो परिवारको परम्परा थियो । बाल्यकालमै सुनेका युमादेवीका कैरनहरु फिदिम पुग्दा कानमा गुन्जिन आएजस्तो लाग्यो । यसकारण पनि लिम्बु संस्कृतिका शब्द र स्थानहरुसँग मेरो व्यक्तिगत रुचि बढी हुने नै भयो ।

गणेशचोक सभामा हाम्रो टिम सहभागी हुन सकेनौं । च्याङ्गथापुबाट अलिकति अगाडि लाग्ने बित्तिकै प्रभुजीको गाडीको धुरा एउटा ठूला ढुङ्गामा ठोकियो । गाडीको तौल सन्तुलन गर्ने नटबल्टु भाँचियो । त्यो तल्तिरबाट तुन्द्रुङ्ग झुन्डिएर भुईमा ठोकिने भयो । गाडी मुश्किलले मान्छे हिंडेजस्तो घिस्रिएर पिचसम्म आइपुग्यो । सबै गाडीहरु हामीलाई छोडेर अगाडि बढी सकेका थिए । साँझ फिदिम पुग्दा भने सडकसभा मध्यतिर पुगेको थियो । कलाकार गणेश गुरुङ, सुमित्रा लामा र राजन बमको गायनमा मान्छेहरु मस्तले झुमिएका थिए । त्यो रात फिदिममै बास पर्‍यो ।

चुवान डाँडाको बौद्धिक विरासत
१६ गते बिहान पाँचथर छोडेर तेह्रथुमतिर लाग्यौं । तमोर खोलाले छुट्याउँदो रहेछ पाँचथर र तेह्रथुम । तमोर मैले धरान–धनकुटा रोडमा अवश्य देखेको/तरेको थिए । तर, यहाँनेरबाट तमोर तर्ने अवसर जीवनमा पहिलोपटक मिल्दै थियो । अब हामी आठराई चुवानडाँडा क्षेत्रमा प्रवेश गरेको थियौं । तेह्रथुम खापुङ्ग सरको गृहजिल्ला । अनेक तबरले हामी निश्चिन्त हुने नै भयौं ।

मैले आठराई क्षेत्रका बारेमा अनेक भनाई र किम्बदन्तीहरु सुनेको थिएँ । पूर्वी नेपालमा बलियो बर्चश्व राख्ने ओली, मैनाली, विमली, भेटवाल, प्रसाई, संग्रौला, थपलिया, सिटौला, चुडाल आदि थरका खसआर्यहरु अधिकांशको पैत्रिक थलो यही क्षेत्रमा छन् । यहाँका मान्छेहरु प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका बालक्रिडाहरु अहिले पनि उत्तिकै सम्झिन र वर्णन गर्न सक्छन् । काँग्रेस होस वा कम्युनिष्ट दुवै आन्दोलनको बलियो प्रभावका कथाहरु छरिएका छन् यो क्षेत्रमा । देशकै पुरानो क्याम्पसमध्ये एक तेह्रथुम बहुमुखी क्याम्पस सगल्तै उभिरहेको छ । खापुङ्ग सर, २०४३ सालको रापंस तेह्रथुमबाट जित्नु भएको मान्छे– हामीलाई टोलटोलका नाम र किंवदन्ती सुन्न सजिलो भएको छ ।

स्थानीय मित्र राजु कन्दङ्वा हामीलाई रिसिभ गर्न सडक किनारमा उभिरहेका थिए । उनले टोलीलाई क्याम्पसभित्र लिएर गए । प्राध्यापक र विद्यार्थीसँग बौद्धिक विमर्शको कार्यक्रम राखिएको रहेछ क्याम्पसमा । क्याम्पस प्रमुख हिक्मतबहादुर रायले सोचेभन्दा सरल र सहज ढंगले अन्तक्रियाको वातावरण निर्माण गरे । त्यहाँ उठेका अनेक प्रश्नहरु मूलतः सैद्धान्तिक, वैचारिक र बौद्धिक थिए । लाग्यो– हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो, चुवानडाँडाको बौद्धिक विरासत अद्यापि कायम नै छ ।

वडाअध्यक्ष तेजप्रसाद कन्दङ्गवालले चुवानडाँडा थुम्की विमानस्थलको कुरा काठमाण्डौं पुर्‍याईदिन आग्रह गरेका थिए । तर, दुर्भाग्य हामी यात्रा सकेर काठमाडौं नफर्किंदै, फाल्गुन १५ गते जुन दिन हामी बैतडीको गोठालापानीमा समापन समारोह गरिरहेका थियौं, त्यही एयरपोर्टको निरीक्षणका लागि गएको हेलीकप्टर ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त भएको खबर सुन्यौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम भाषण त्यही चुवानडाँडा विमानस्थलबारे बन्न पुगेछ ।

खाम्लालुङ्ग अवसर

संक्रान्ती बजार आइपुग्दा दिउँसोको खानाखाने बेला भएको थियो । त्यस इलाकाको प्रहरी निरिक्षक सुनसरी इनरुवाका राकेश पोद्धार थिए । उनी सुनसरीबाट पनि टोलीमा मान्छे छन् कि भन्दै उमेश र मसँग परिचय गर्न आइपुगे । केहीबेर उनीसँग सुनसरी इनरुवातिरका कुरा गर्‍यौं । उनी भन्दै थिए, ‘यहाँ हतार लगाउनु होला सर । अगाडि बाटो राम्रो छैन । तपाईहरु म्याङ्गलुङ्ग पुग्ने भन्दै हुनुहुन्छ । पोक्लावाङ्ग पुग्दा नपुग्दै रात पर्न सक्छ ।’

तर, संक्रान्ति बजारको कार्यक्रमले केही समय लिन्थ्यो नै । हाम्रो पार्टीका गाउँ संयोजक टिका गुरुङको व्यवहारमा भने कुनै हतारो देखिन मैले । त्यहाँ मेरा पुराना मित्र बिष्णुबिक्रम लिम्बु गाउँपालिकाको अध्यक्ष रहेछन् । एमालेकालको राजनीतिमा हामी मिल्ने साथी थियौं । पहिलो संविधानसभाताका मतदाता शिक्षा कार्यक्रममा दुईचार महिनासंगै काम गरेका थियौं । तर, उनी त्यहाँ गाउँपालिका प्रमुख छन् भन्ने मलाई थाहा थिएन । उद्योग वाणिज्य संघले गरेको कार्यक्रमको स्टेजमा पुग्दा थाहा भयो ।

संक्रान्तिबजार वाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद पौडेलले दिएको एउटा तथ्यांकले हामी सबैको माथा खल्बल्यायो । उनी भन्दै थिए– २०१८ सालको जनगणनामा तेह्रथुम जिल्लाको जनसंख्या करिब ४ लाख थियो । अहिले १ लाखभन्दा पनि कम छ । यहाँको विकासको मुख्य समस्या नै बसाँइसराई हो । मान्छे गरिब भए अवसरको खोजीमा बसाईं हिड्छन । धनी भए सुविधाको खोजीमा बसाईं हिड्छन । मान्छे बस्न चाहँदैनन् कस्का लागि विकास गर्ने ?

विष्णुविक्रमजीले अर्को रोचक जानकारी अगाडि राखे– आठराई क्षेत्रको मुख्य समस्या नै खानेपानी हो । सिँचाईका लागि पानीको उत्तिकै अभाव छ । तमोर निक्कै तल खोँचबाट बगेर जान्छ । डाँडामा पानीका मुहानहरु छैनन् । तर, एउटा गाउँ छ– खाम्लालुङ्ग । त्यहाँ १२ महिनामा ९ महिना हरेक दिन करिब १ घण्टा पानी पर्छ । खाम्लालुङ्ग सायद भगवानले संक्रान्ति बजारलाई दिएको एउटा अवसर हो ।

खाम्लालुङ्गको वर्षाको पानी संकलन गर्ने कुनै बलियो योजना मात्र बनाउँन सके संक्रान्ति क्षेत्रको पानी समस्या हल हुन सक्थ्यो । प्रकृतिले हरेक चुनौतिको बीचमा कुनै न कुनै अवसर त दिँदो रहेछ । तर, त्यसलाई उपयोग गर्न सक्नु पर्‍यो । खाम्लालुङ्ग अवसरलाई कसरी उपयोग गर्ने भन्ने बारे तीनै तहका सरकारमा कुनै प्रष्ट सोच भने पाइएन ।

संक्रान्ति बजारको कार्यक्रम सकेर हामी पोक्लाबाङ्गतिर हान्नियौं । बाटो साँच्चै नै खराब थियो । भरखरै निर्माण भएका साँघुरो ट्रयाक हुँदै हिड्नको विकल्प थिएन । सुनिल खड्काको गाडी त ठाउँठाउँ उकालो चढ्न सकेन । मदन दाईको मोटरले तानेर रेस्क्यु गर्नुपर्‍यो । पोक्लाबाङ्ग जाने बाटो मध्यपहाडीबाट थोरै छुट्दो रहेछ । फेरि लोगुवानेर आएर जोडिंदो रहेछ । यसबीचमा ५ वटा जनसंवाद कार्यक्रम भए । संक्रान्तिदेखि लोगुवासम्म ठाउँठाउँमा गाउँलेहरु स्थानीय एफएममा जनसंवाद टोलीबारे समाचार सुनेर स्वस्फूर्त भेट्न आएका थिए । म्याङ्गलुङ्ग पुग्दा साँझ बाक्लो रात बन्ने क्रममा थियो ।

गुराँसको राजधानी
म्याङ्गलुङ्ग नगरसँग जोडिएका अनेक कथाहरु छन । लिम्बु मिथहरु छन । यो बिरालोले ढुंगो चिथोरेको नगर । उतिस र लाली गुराँसले मित लगाएको नगर । साल र सल्लोसँगै हुने खोंचहरुको नगर । च्याङ्गथापु लिम्बु सभ्यताको उद्गमस्थल जस्तो थियो । म्याङ्गलुङ्ग राजधानीजस्तो । पूर्वी पहाडमा भिन्नै प्रदेश बन्न सकेको भए सायद बसन्तपुरदेखि म्याङ्गलुङ्गसम्म एउटै मौलिक सांस्कृतिक राजधानी शहर बन्न सक्थ्यो । राजनीतिक/प्रशासनिक राजधानी बन्न नसकेपनि लालीगुँरासको राजधानी यसलाई अहिले पनि मानिन्छ । मिल्के–तीनजुरेका डाँडाहरु यही क्षेत्रमा पर्दछन् ।

१७ गते बिहानबाटै म्याङ्गलुङ्ग जनसंवादका कार्यक्रमहरु शुरुवात भए । प्रारम्भमा कोणसभा । त्यसपछि उद्योग वाणिज्य संघको हलमा भव्य अन्तक्रिया । कार्यक्रममा स्थानीय नागरिक समाजका व्यक्ति व्यक्तित्व मात्र हैन, मूलधार दलका प्रतिनिधिहरु पनि समावेश थिए । कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, नेकपा नेता तथा पूर्व जिविस सभापति किशोर दुलालले निक्कै रोचक प्रश्न र प्रसंगहरु उठाएका थिए । एमालेकालमा किशोरजीसँग मेरो व्यक्तिगत संगत राम्रै थियो । हामी केहीबेर एकान्तमा पुराना साथी र सम्बन्धहरु बारे गफियौं पनि । जिरिखिम्ती र लसुनेका कार्यक्रमहरु उत्तिकै उत्साहपूर्ण रहे । कमजोर जनसहभागिताको तर्क हाम्रा लागि कहिँकतै क्रियाशील भएन । जहाँ पुगिन्थ्यो, उल्लेखनीय जनसमुदायले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको हुन्थ्यो ।

लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ्ग उत्तिकै व्यग्रतापूर्वक पर्खिरहेका थिए । पहिले बसन्तपुर रहेको यो नगरको नाम अहिले लालीगुँरास बनाइएको छ । नगरको बीचमा लालीगुराँसको बोटको स्तम्भ औधी सुहाएको देखिन्छ । अन्यत्र मान्छेका शालिक बनाउने कुरा हुन्छ । विवाद हुन्छ । यो क्षेत्र यस मानेका विचित्ररुपले फरक छ । म्याङ्गलुङ्गमा बिरालोको स्तम्भ छ । लसुनेमा लसुनको । बसन्तपुरमा गुराँसको बोट, सिदुँवामा काउली र हिलेमा तोम्बाको स्तम्भ ।

नगरको बीच सडकमा नगरपालिका कै तर्फबाट मेयरले भव्य जनसंवाद कार्यक्रम आयोजना गरेका थिए– लालीगुराँसको राजधानीमा । देशकै चर्चित विद्धान बालकृष्ण माबुहाङ्ग पनि वक्ता त्यो कार्यक्रममा । कार्यक्रममा शिरिजङ्ग मन्धुम विश्वविद्यालयको अवधारणामाथि राम्रै चर्चा भयो । अरु अनेक समस्याहरुबारे त्यहाँ गम्भीर विचार-विमर्श भए । मेरो पुराना स्थानीय साथीहरुसँग भेट भयो । गफिनतिर लागे । मित्र भीम दाहाल र गणेश बराल– कुनै समय प्लस टु शिक्षक आन्दोलनका गतिला हस्तीहरु थिए । बर्षौपछि साथीहरुसँग भेट हुनु मेरो लागि सौभाग्यको कुरा थियो ।

सिंदुवा–कलकत्ता कनेक्सन
साँझतिर तेह्रथुम जिल्ला तुरियो । सीमानामा धनकुटाका साथीहरु श्रीराम रायमाझी, विकास घिमिरे लगायतले स्वागत गरे । बाँस बस्न धनकुटा बजार छेऊ कागते पुग्नु थियो । तर, सिंदुवाका किसान र सहकारीहरुसँगको भेटभाट, छलफल र अन्तक्रिया बाँकी नै थियो ।

सिंदुवा तरकारी खेतीका लागि देशकै महत्वपूर्ण पकेट क्षेत्र हो । यहाँका सहकारीहरुले ठूलो पैमानमा कृषि उपजहरुको कारोबार गर्दछन् । हाम्रा टोली सदस्य तथा कृषिविज्ञ मदन राईका अनुसार आधुनिक, व्यवसायिक तथा संगठित कृषि क्षेत्रका संभावना र समस्याहरु बुझ्न सिंदुवालाई बुझ्नै पर्छ । साँझ छिप्पिदै गएपनि मेघेन्द्र गुरुङले एकपछि अर्का रोचक जानकारीहरु पस्किरहे । उनको घाँटी थोरै खराब थियो । उनी सानो स्वरमा बोलिरहेका थिए ।

उनले यो प्रष्ट पार्ने प्रयत्न गरे कि सिंदुवाको तरकारी खेती र कलकत्ताबीच प्रत्यक्ष कनेक्सन छ । सिंदुवाका किसानका लागि धरान, इटहरी र विराटनगरको बजार मात्र पर्याप्त र तुलनात्मक लाभ दिने खालको छैन । काठमाडौंको बजार टाढा छ । ढुवानी खर्चका कारण महंगो पर्छ । तसर्थ सिंदुवाका किसानहरुलाई जोगाउँने हो भने सरकारले भारत सरकारसँग समस्याको सहजीकरण गर्नै पर्छ ।

पहिलो समस्या त भारतीय सरकारको धारणा र क्वारेन्टाइन चेकपोष्टहरुको व्यवहार नै हो । काठमाडौंको सत्तासँग सम्बन्धमा उतरचडाब आउँने वित्तिकै दिल्लीले काकरभिट्ठा नाकालाई टाइट गर्दिन्छ । सिंदुवाबाट तरकारी लोड गरेर त्यहाँ पुगेका ट्रकहरु कयौंपटक अलपत्र परेका छन । क्वारेन्टाइन नियममा एउटा गाडी एकपटक ४ टन बजनको भएर जान पाउँछ ।

जबकी फुललोड ट्रकको बजन १२ टनसम्म हुन्छ । ४ टन ढुवानी गर्दा प्रतिएकाई ढुवानी लागत उच्च हुन्छ । १२ टनको गाडी छिराउँन प्रत्येक पटक चेकपोष्टका पुलिसलाई घुस दिनु पर्छ । घुस दिएपछि १२ टन बजनका गाडीहरु छिर्छन, रेकर्ड भने ४ टनकै हुन्छ । यो समस्याले मुद्रा कारोबार, पैसाको स्रोत खुलाउनु पर्ने प्रावधानमा समेत व्यवधान गर्ने गुरुङको तर्क थियो ।

त्यसो त उनले बाली बिमाको प्रिमियममा सरकारी अनुदानको अंश बढाउनु पर्ने, विश्वभरिका उत्कृष्ट रोग निरोधक बिउँहरु सूचीकृत गरी नेपाली बजारका पहुँच दिनुपर्ने, प्रधानमन्त्री कृषि कार्यक्रमको प्रशासनिक प्रणालीमा व्यापक सुधार हुनुपर्ने लगायतका थुप्रै विषय सुझाएका थिए । अलैंचीको मूल्यमा आएको भारी गिरावट अर्को बारम्बार सुनिने समस्या थियो ।
‘कालो सुन’ भनिने अलैचीको मूल्य कुनै समय १ लाख ८० हज्जार मनसम्म पुगेको थियो, अहिले ३० हज्जार मनमा झरेको छ, किन कसरी यस्तो भयो कसैलाई थाहा छैन । सरकारले कहिँ कतै कुनै पहल गरेको देखिन्न भन्ने किसानहरुको आरोप थियो । युगमा कृषि उत्पादनमा मात्र जोड दिनु पर्याप्त छैन, तुलनात्मक लाभ र उचित बजार व्यवस्थापन भएन भने कृषकहरु जुनकुनै यो पेशाबाट पलायन हुन्छन भन्ने प्रष्ट सन्देश सिंदुवाले दियो ।

ग्रिन कागतेः क्लिन कागते
१७ गते साँझको बास कागतेमा पर्‍यो । तर, हामी केही मान्छेहरु अटाएनौं । श्रीरामजीले आफ्नै होटल लिएर गए धनकुटा बजारभन्दा मुनी । १८ गतेको पुरै दिन धनकुटाका लागि थियो । कागते नयाँ शक्ति पार्टीले जितेको वडामध्ये एक हो । वडाध्यक्ष छन्– विकास घिमिरे । उनले यो वडाको नारा ‘ग्रिन कागते, क्लिन कागते’ बनाएछन् । वडाका सबै घरहरु कागती रंगले रंगाउने गरिएको रहेछ । बिहानका लागि अनेक अवलोकन र अध्ययन भ्रमणका कार्यक्रमहरु बनेका थिए । चमेरे गुफा, फोहोर प्रशोधन केन्द्र, क्षेत्रीय संग्राहलय, पारीताप्ले सुन्तला अनुसन्धान केन्द्र आदि ।

करिब २ बजेतिर कागतेमा आमसभा भयो । आफ्नो पार्टीले जितेको वडा, कस्तो काम भइरहेको होला, कस्तो जनप्रभाव परेको होला ? मनमा जिज्ञासा हुने नै भयो । मैले भीडमा केही मान्छेहरुसँग बुझ्न खोजे । थापा थरका एक किसानले भने, ‘धेरै राम्रो गर्यो भन्यो भने तपाईहरुले त्यही सुनाइदिनु होला, युवै छन्, फुर्किएलान्, मात्तिएलान् भन्ने डर छ । तपाईलाई मात्र खुसुक्क भनेको– राम्रो गर्दैछन् ।’ यस्तो उत्तर सुनेर हाँसो पनि उठ्यो । खुशी पनि लाग्यो ।

त्यो दिनको बास लेगुवाघाटमा होला भन्ने सोचेका थियौं । तर, संयोगले मध्यरात भोजपुरको प्याउली बजार पुगियो ।

गज्जबका अध्यक्ष
भोजपुर नयाँ शक्ति पार्टीको कमजोर संगठनात्मक आधार भएका जिल्लामध्ये एक थियो । तसर्थ, भोजपुरमा हामी सकेसम्म कम कार्यक्रम र स्थानीय पार्टीलाई कम भार पार्न चाहन्थ्यौं । तर, भोजपुरको माहोल भने हामीले सोचभन्दा फरक ढंगले विकसित भइरहेको थियो । त्यहाँ असाध्यै धेरै कार्यक्रमहरुको तयारी भइरहेका थिए । मान्छेहरु डा.भटटराईसँग भेट्न चाहन्थे । आफ्नो गाउँठाउँमा ठूला नेताहरु आएको यो पहिलो अवसर हुँदा पार्टी जुनसुकै भएपनि जनसंवाद यात्राका एजेण्डाबारे डा. भटटराईबाट सुन्नु लाभदायक ठान्दथे । हाम्रा स्थानीय साथीहरु विष्णु कार्की, रमेश खत्री, इन्द्रहाङ्ग किरातीलगायतले बहुपक्षीय सम्पर्कलाई तीव्र बनाएका थिए । केही मान्छेहरु पार्टी प्रवेश गर्न समेत इच्छुक थिए । तर, यात्राको आचारसंहितालाई ध्यान दिँदै प्रवेश भने गराइएन ।

१८ गते लेगुवाघाट पुग्दा झमक्क साँझ परिसकेको थियो । अरुण नदीको किरानको बस्ती हो यो । वारि धनकुटा, पारि भोजपुर । अरुण दुई जिल्लाको सीमाना मात्र हैन, यो दुई सभ्यता र संस्कृतिको साँध पनि हो । लिम्बु र खम्बु संस्कृतिका उत्पति स्थलहरु यही नदीले विभक्त गर्दछ । यहाँनेर बाट हामी लिम्बु सभ्यता, भाषा र संस्कृतिको क्षेत्रलाई छोड्दै थियौं । खम्बु सभ्यता, भाषा र संस्कृतिको क्षेत्रमा प्रवेश गर्दै थियौं । सायद यही मनोविज्ञानको विरासत हुनसपर्छ, मदन राईले पर्शुराम खापुङ्ग सरसँग भनेका थिए– ‘अब तपाईको कमाण्डरसीप सकियो, टोली अब मैले भने अनुसार चल्छ ।’ र, बाँकी हामी सहमति जनाउँदै हाँसेका थियौं ।

लेगुवाघाटको कार्यक्रममा स्थानीय बासिन्दाहरुले मुख्य समस्याका रुपमा गुठी जग्गाको समस्यालाई उठाए । पारि अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले हाम्रो टोलीलाई एकदिनको खाना र बास दिने खबर पठाएका थिए । विष्णु र रमेशजी मोटरसाइकलमै आइपुगेका थिए भोजपुरबाट लेगुवासम्म । सानो समस्या थियो– जरायोटारको । लेगुवाबास बसेर भोलिपल्ट बिहानका लागि जरायोटारको कार्यक्रम प्रचार गरेका थियौं । प्याउली बास बस्न जरायोटार कटेर जानु पर्थ्यो । बिहान फर्किएर आउन सम्भव थिएन । कुनै कार्यक्रम नै नगरिकन जाँदा जरायोटारबासीलाई धोका दिएजस्तो हुन्थ्यो । रात बरु छिप्पियोस् तर जरायोटारमा पनि भेटघाट गर्दै जाने सोच बन्यो । विष्णु र रमेशले त्यही अनुसारको खबर पठाए । जरायोटारमा राती ९ बजेसम्म मान्छेहरु पर्खेर बसेका थिए । जरायोटारको कार्यक्रम छोटो गर्‍यौं । राती साँढे १० बजे प्याउली पुग्यौं ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्की आफ्ना सहयोगी र कर्मचारीहरुसहित हामीलाई पर्खेर बसेका थिए । प्याउलीको जाडो च्याङ्गथापुको भन्दा बढी तीखो र मुटु छुने खालको थियो । जुनेली रातमा उत्तरतिर हिमश्रृंखलाहरु टल्किरहेका थिए । त्यही हिउँलाई छोएर आएको हावा सिधै मुटुमा पसेजस्तो लाग्थ्यो । गाडीबाट उत्रिदा नउत्रिँदै हामी सबै जाडोले थुरथुर काँम्न थालिसकेका थियौं । धेरैको ओठ काप्ने र दाँत कटकटाउँने भइसकेको थियो । तर, उमेरले ६५ काटिसकेका गाउँपालिका अध्यक्ष सामान्य पैन्टज्याकेटमै मज्जाले गफिएर बसेका थिए । उत्रिएर अरु एकघण्टा चिनचान र गफगाफ भयो । खाना खाएर सुत्न जाँदा सायद १ बज्न लागेको थियो । ओछ्यान तात्न अझै केही समय लाग्यो ।

बाँदर आतंक
१९ गते बिहान प्याउली बजारमा अघिल्लो रातको जाडोको कुनै छेकछन्द थिएन । बिहानैदेखि मज्जाले तातो घाम लागेको थियो । जनसंवादको एक श्रृंखला गरेर छिटो बिदाई हुनु थियो, त्यहाँबाट । अध्यक्षजी भने रमाइलारमाइला गफ निकाल्दै थिए, ‘मान्छेहरु इटहरी र काठमाडौंको धाक लाउँछन । यतिवटा घर,उत्ति आना जग्गा भन्छन । हामी गाउँमा बस्नेलाई त कुमले ठेलेर हिडौला जस्तो गर्छन गाँठे । उनीहरुको त्यही दुईचार आना करोडौंको रे । हाम्रो यत्रो आँखाले हेरी नभ्याउँने पाखो दुईचार लाखको नहुने रे । मैले त तिनीहरुलाई भन्देको छु, मेरो प्याउलीको जग्गाको दाम ५ करोड हो, सक्छौं किन, सक्दैनौ, फुर्ती नलाउँ । जग्गाको दाम मान्छेको मुखले बोल्ने हो । मेरो जमिन म आफैले कराडौंको बनाईदिए, लजा । चाहिएन इटहरी र काठमाडौं । मलाई मेरै गाउँ प्यारो छ । मलाई मेरै झुपडी प्यारो छ । मलाई मेरै श्रीमति राम्री छ । यही झुपडीमा घुर्छु । यही गाउँमा मर्छु । कसैले शहरका फुर्ती हामीसँग नलगाए हुन्छ ।’

गज्जब अध्यक्षका गज्जब कुरा सुनेर सबै हाँसे ।

तर यो हाँस्ने कुरा मात्र थिएन । गाउँ र शहरबीचको मनोवैज्ञानिक दुरी कसरी बढ्दै गइरहेको छ भन्ने बुझ्न यी भनाईले राम्रो मद्दत गर्दथे । गाउँहरुको विकास, सुविधा र आर्थिक अवस्थामा छिटो सुधार नल्याउँने हो भने नेपालका गाउँहरु आउँदो दशकभित्र रित्तिन सक्छ, क्षेत्रीय विकास र जनसंख्या असन्तुलनको भयावाह अवस्था आउँन सक्छ भन्ने बुझ्न अध्यक्षजीका यी रमाइला बाक्यमा व्यक्त भएका पीडा र वेदना साक्षी थिए ।

गत वर्ष कास्कीको ल्वाङ्गघलेल गाउँपुग्दा त्यहाँका गाउँलेहरुले बाँदर आतंकलाई सबैभन्दा ठूलो समस्याको रुपमा चित्रण गरेका थिए । भोजपुरको अरुण र पौवादुम्मा गाउँपालिकाका लागि पनि बाँदर ठूलो समस्या रहेछ । मान्छेको रुचि कृषिमा पटक्कै छैन । बसाई सर्नेहरुको जमिन खाली छ, त्यहाँ जंगल बन्दै गइरहेको छ । निजी जमिन र जंगल सजिलै नचिनिने भएका छन् । गाउँ र बाँदरको आवास बीच फरक हराउँदो छ । कानुनले बन्यजन्तु मार्न निषेध गरेको छ । खेती नगर्लाले जंगल बढ्यो, बाँदर बढे, अब त्यही बाँदरले गर्दा खेती गर्नु निरर्थक हुँदै गयो । खेती गरे पनि बाँदर रुंग्न संभव छैन । बाँदरका लागि किन खेती गर्ने ? बसाई सर्ने अरु कारण त थिए, थिए, बाँदरकै पिरले बसाई सर्नेहरु बढ्न थाले ।

प्याउली र भोपजुरबजार बीचमा असाध्यै धेरै कार्यक्रम भ्याउनु थियो । तिवारी भन्ज्याङ्ग, च्याङग्रे, सुप्ला, हिले भन्ज्याङ्ग, श्यामशीला आदि । यतिधेरै कार्य क्रम सबैतिर डा. भट्टराई मात्र पुगेर सम्भव थिएन । हिले भन्ज्याङको कार्यक्रम क्यानसिल गरियो । सुप्लातिर खापुङ्ग सर, हिसिला म्याडम र प्रभुले समानान्तर भाग लिने कुरा भयो । अरु हामी डा.भटटराईसंगै पौवादुम्माको कार्यक्रमका लागि रोकियौं ।

(जनसंवाद यात्रामा सहभागी नेता तथा स्तम्भकार डम्बर खतिवडाको संस्मरणका केही श्रृंखलाहरु क्रमशः प्रकाशन गरिनेछ)

क्रमशः ….

यो पनि-

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob