scheduleमगलवार जेष्ठ ७ गते, २०७६

सामाजिक सुरक्षा भत्ता घरघरमै

खस्यौली, २८ फागुन । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।

बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको  आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गरे ।

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । ‘वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो’, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भने ।

खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उनिहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिए ।

त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेका थिए । यो वडामा हाल २३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भने, ‘हामीलाई घरमै सरकार आएजस्तो भयो ।’

बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

वडा कार्यालय निर्माण

बुटवल उपमहानगरपालिकाको वडा नं ५ को सुविधासम्पन्न वडा कार्यालय निर्माण भएको छ । बुटवल–५, हाटबजारस्थित वडा कार्यालय भवनको शुभारम्भ कार्यक्रममा नगरप्रमुख शिवराज सुवेदीले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्न वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिए ।

उनले बेथितिका विरुद्ध खबरदारी गरिरहन आग्रह गर्दै वडा कार्यालयलाई सेवा केन्द्रसरहको बनाउने तयारी भइरहेको बताए । ३५ लाख २० हजार १४९ बराबरको लागतमा वडा कार्यालय भवन निर्माण भएको वडाध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिए। वडा कार्यालय भवन हाटबजार क्षेत्रमा रहेको व्यावसायिक सटर घरको माथि व्यवस्थित तला थप गरेर निर्माण गरिएको छ ।

वडा नं ५ ले भवन उद्घाटनकै अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । तेक्वान्दो खेलाडी राजिवसिंह क्षेत्री, उपभोक्ता समितिका कृष्णबहादुर विक, सचेतना कार्यक्रम सञ्चालन गरेको भन्दै राधाकृष्ण युवा क्लबका सुमित खनाल, ज्येष्ठ नागरिक ९१ वर्षीय शोभाखर गैरे, सचेतना अभियान सञ्चालन गर्ने महिलाको तर्फबाट शान्तिश्री महिला समूहका अध्यक्ष खेमकुमारी राना, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष वेदप्रकाश ज्ञवालीलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob