scheduleशनिवार श्रावण ४ गते, २०७६

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी-३

डम्बर खतिवडा

च्याङ्ग्रे पोखरीको परिक्रमा
च्याङ्ग्रे । पौवादुम्मा गाउँपालिकाको केन्द्रबजार । रमेश खत्रीजीको गाउँ । उनले अगाडि नै भनेका थिए– ‘च्याङ्ग्रे जाने मान्छेहरुले पोखरी परिक्रममा गरेर मात्र बजार छिर्ने नियम छ । सबैलाई भन्दिनु होला ।’

मैले कुरा बुझिनँ । भनेँ– ‘तपाई अगाडि लाग्नुस् । हामी सबै तपाईको पछिपछि आउँला ।’ बजारको छेउमा पोखरी रहेछ । पोखरी मास्तिरको डाँडो काटेर रंगशाला भन्दै थियो– धाविका मीरा राईको नाममा । मिरा राईको गृहगाउँ रहेछ– च्याङ्ग्रे ।

च्याङ्ग्रेको फाँट रमाइलो थियो । विचित्रको प्रकृति । हिजो मात्र प्याउलीमा जाडोले कठ्याङ्ग्रिएका थियौं । आज सातवटा घाम लागेका थिए । बैशाखको महिना नेपालगन्जको कुनै चौरमा घाम तापेजस्तो गर्मी थियो माघ महिनामै च्याङ्ग्रेको फाँटमा । च्याङ्ग्रेको कार्यक्रम बढी सार्थक, बौद्धिक र अलिक लामो भयो । मैले पनि बोलेँ । पालिका प्रमुख किरण राईले स्थानीय तहका समस्याहरुको लामै फेहरिस्त पेश गरे । यहाँ मान्छेहरु राष्ट्रिय राजनीतिका पेचिला मुद्दाहरु उठाउन खप्पिस थिए । डा. भटटराईको राजनीति जीवनसँग जोडेर अनेक रोचक प्रश्न उठाए । तिनको उत्तर दिन लामै समय खर्च भयो ।

कार्यक्रम चल्दै गर्दा परिचयको क्रममा रमाइलो संयोग पर्‍यो । एउटा होचोहोचो, लामो कपाल र दारी पालेको, रुद्राक्षको लामो माला लगाएको, पछाडि रुक्स्याकजस्तो झोला भिरेको, हेर्दा शेर्पाजस्तो लाग्ने मान्छे– पविहाङ राई होला भनेर एक मन सोचेको थिइनँ । छक्क परेँ । करिब १० वर्ष भएको थियो, भेट नभएको । उसले आफ्नो गेटअफ पुरै बद्लेछ । ऊ त किराँत संस्कृतिको विजुवा वा पोख्त मुन्दुमीजस्तो पो देखियो । डा. भटटराईको भाषण सकेपछि मैले पवीसँग भेट गरे । ऊ पनि छक्क पर्‍यो ।

पवी नाताले खापुङ सरको भदासालो र मदन सरको भान्जा पर्दोरहेछ । मेरो साथी समेत भएपछि सायद उसको दायित्व थपियो । भन्यो– भोली चखेवा भन्ज्याङ्गसम्म तिमेरलाई छोड्न जान्छु । र मोटरसाइकलमा आफ्नै तालमा हान्नियो । च्याङ्ग्रेको जनसंवाद सकेर सिधै हामी भोजपुरबजारको टुंडिखेल पुग्यौं । भोजपुर टुंडिखेलको भव्य जनसंवाद हाम्रो यात्राको २७औं कार्यक्रम थियो ।

‘विकास चाहिन्छ तर के विकास जनतालाई सुकुम्बासी बनाउन हो ? विदेशमा ५/१० वर्ष बसेर सडकको छेऊमा जम्मा एउटा घर बनाएको छ, त्यो पनि हिड्यो भने विकास विकास भन्दै खुशी हुन कसरी सकिन्छ ?’

मुन्धुम ट्रेल
२० गते बिहान भोजपुर नगरपालिका भित्रै तीनवटा कार्यक्रम थिए । भोजपुर क्याम्पस र सिटिभिटीका विद्यार्थीसँग भिन्नाभिन्नै अन्तर्क्रिया र दावाबजारको खुल्ला जनसंवाद । भोजपुरदेखि दिक्तेलसम्म बीचमा कुनै बजार नभेटिने हुँदा सबै गाडीमा आवश्यक भए तेल भर्न र गाडीहरुको जाँचमर्मत गर्न सूचना जारी भएको थियो । प्रभुजीले ग्यारेजमा एक्स्ट्रा चक्कालाई ठीकठाक पारे । मदन दाईले बिहानका दुवै कार्यक्रममा टोली सबै जान आवश्यक नभएको बताएका थिए । त्यो मौका मैले भोजपुर बजारलाई नियाल्न र यसबारे जानकारीहरु संकलन गर्न उपयोग गरेँ ।

मेरा १० पुस्ता पुर्वजहरुले भोजपुरको कटुन्जे गाउँमा बिताएका थिए । डोटी जिल्लाको खत्याडी गाउँ छोडेर हिंडेका बाहुनहरु भन्ने अर्थमा हाम्रो थर खतिवडा कायम भयो । न्यूनतम् ५० पुस्ता अगाडिको कुरा हो यो । न्यनतम् ६ सय वर्ष अगाडिको । डोटीबाट पूर्व लागेपछि काठमाण्डौंको डल्लु, नुवाकोटको कविलास र धादिङको कल्लेरीमा उनीहरु बसे । अझ पूर्व लाग्नेहरु खोटाङको तिर्पामझुवा पुगे । अझ पूर्व लागेर मेरा पूर्व पुर्खा ११७ पुस्तामा भोजपुरको कटुन्जे गाउँ पुगेका थिए । म झापा बसाईं सरेपछि जन्मिएको, जुरोपानीको गछ्छेमारी भन्ने गाउँमा । तर, नागरिकतामा जन्मस्थान भोजपुर कटुन्जे नै छ । १८ महिनाको हुँदा झापाबाट भोजपुर ल्याइएको थियो, ४ वर्षको हुँदा सुनसरी बसाई सरेपछि फर्किएर भोजपुर कहिल्यै आएको थिइनँ ।

ट्याम्केमयुङ गाउँपालिकाको कार्यालय पुग्दा मैले पवीलाई सोधे– ‘तिम्रो गाउँ कता पर्छ ? मेरो गाउँ कता पर्छ ?’ पवीको गाउँ ख्याबा मात्र हैन, घरको छाना नै प्रष्ट देखिन्थ्यो । तर, कटुन्जे गाउँ भने अनुमान मात्र गरियो । मध्यपहाडी राजमार्गले नछुँदोरहेछ । ट्याम्केमैयुङको जनसंवाद कार्यक्रम उत्तिकै आकर्षक र भव्य थियो । थालमा सजाइएका सुन्तलाहरु कुनै नामी चित्रकारका सजिव रचनाजस्तै लाग्थे । पछि थाहा भयो– टयाम्केमैयुङले ब्रान्डिङ गर्न चाहेको सुन्तला हो यो । यसको बोक्राको रंगमै विशेष आकर्षण छ ।

ट्याम्के पूर्वी नेपालको एक चर्चित डाँडा हो । भनिन्छ– यसको टुप्पोबाट काठमाण्डौं र कलकत्ता दुवै शहर देखिन्छ । हाम्रो गाउँघरतिर मान्छेको दृष्यशक्तिलाई व्यक्त गर्न भन्ने गरिन्थ्यो– ट्याम्केका जुरेली पनि देख्ने, के तिखा आँखा ?

पवी नभन्दै मोटर साइकलको जोखिमपूर्ण यात्रा गर्दै चखेवा भन्ज्याङसम्म आयो । ट्याम्के नजिकको यो भन्ज्याङ विचित्र प्रकारका चट्टानले बनेको रहेछ । उसले हाम्रो टोलीलाई ठूलो लेकाली खर्कजस्तो लाग्ने चौरमा लग्यो र डा. भट्टराई समेत अगाडि राखेर नेपाली, किराँती र अंग्रेजी मिसिएको गज्जबको भाषामा हामीलाई भाषण दिन थाल्यो । केहीबेर म अल्मलिए । पछि बुझेँ– ऊ हामीलाई मुन्धुम ट्रेलको ब्याख्या गर्दै थियो । ऊ बताउँदै थियो– मुन्धुम के हो ? मुन्धुम र यी डाँडाहरु बीच के सम्बन्ध छ ? पोख्त मुन्धुमीहरु, मुन्धुम साधकहरुले केकस्ता क्रियाकलाप गर्न सक्छन्, मुन्धुमको अवधारणालाई कसरी पर्यटनसँग जोड्न सकिन्छ ? सन् २०२० को नेपाल भ्रमण वर्षको कार्यक्रममा मुन्धुम ट्रेलको प्याकेज कस्तो हुनेछ ? आदि इत्यादी ।

उसको भाषण सकिएपछि मैले उसलाई सोधे– यो तिम्रो मालाको अर्थ के हो ?

उसले बढो गज्जबले भन्यो– ‘यो त्रिधर्मको प्रतीक हो । म हिन्दु, बौद्ध र किराँत तीनवटै धर्म मान्छु ।’ बल्ल मैले उसको गेटअपको अर्थ बुझेँ । ऊ मुन्धुम ट्रेलको अवधारणमा आफ्नो जीवनलाई समेत ढालेर भोजपुरको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने सपनाले डोर्‍याइएको थियो । छुट्ने बेलामा मैले भनेँ– ‘तिम्रो कन्सेप्ट मलाई इमेल गर्दिनु । अरु केही नभए लेखेर प्रचारमा मद्दत गरौंला ।’

वाचाचुङ डाँडामा साकेला
अब हामी खोटाङ प्रवेश गर्‍यौं । पवी छुट्यो । विष्णु र रमेश दावा बजारबाटै बिदा भएका थिए । भन्ज्याङको जोर्नीमा खोटाङका साथी सूर्य राई देखापरे । मदन सर, मणीजी त यात्रामा शुरुवातदेखि नै सँगै । प्रदेश–१ का कार्यक्रमहरु अब सकिँदै गएका थिए । प्रभूजीको जिम्मेवारी र व्यवस्थापन टेन्सन पनि घट्दै गइरहेको थियो ।

खोटाङतिर धेरै तर छोटाछोटा कार्यक्रमहरु थिए । सेखुवा, निर्मलीडाँडा, वालुङ, नेर्पा, दोर्पा हुँदै साँझ दिक्तेलको सुभम स्कुलमा पुग्यौं । यी सबै कार्यक्रममा असाध्य धेरै उठ्ने विषय भने लोकमार्गको ३१ मिटर दायाबाँयाको बुझाई र मुआब्जाको कुरा नै थियो । ‘विकास चाहिन्छ तर के विकास जनतालाई सुकुम्बासी बनाउन हो ? विदेशमा ५/१० वर्ष बसेर सडकको छेऊमा जम्मा एउटा घर बनाएको छ, त्यो पनि हिड्यो भने विकास विकास भन्दै खुशी हुन कसरी सकिन्छ ?’

हाम्रा टोली नेता डा. भटटराईका लागि यी प्रश्न पुराना भइसकेका थिए । तर, हरेक ठाउँमा जनताले यी प्रश्न उठाउँथे । हरेक ठाउँमा उनले ३१ मिटरको प्रावधान घटाउने र मुआब्जाको विषयमा संसदमा बोल्ने, व्यवहारिक पहलकदमी पनि लिने बोल्नु पर्थ्यो । आश्वस्त पार्नु पर्थ्यो ।

वानाचुङ नयाँ शक्ति पार्टीका खोटाङ संयोजक मणी राईको गाउँ थियो । आफ्नो गाउँमा कार्यक्रमलाई विशेष रौनक दिने प्रयास गरेको हुनुपर्दछ, मणीजीले । त्यहाँ साकेला नाँच्ने ठूलै टोली जम्मा भएको थियो । बजारको नजिकै वानाचुङ डाँडा । अस्ताउन लागेको घामको पहेलो किरण । डाँडामा भव्य जनसंवाद र साकेला नृत्य । फर्किंदा उसिनेका सिंगासिंगै इस्कुस । स्मरणीय थियो– वानाचुङ ।

२१ गते बिहान शुभमबाट पश्चिम लागियो । यो प्रदेश नम्बर–१ छिचोल्ने दिन थियो । दिक्तेलदेखि घुर्मीसम्म ठूला बजारहरु ‘इस्केप’ गरेका थियौं । कारण करिब १ महिना अगाडि बालाचतुर्दशी छेक डा. भटटराईकै नेतृत्वमा दिक्तेल, हलेसी, हर्कपुर र घुर्मीमा विभिन्न प्रकारका कार्यक्रम भएका थिए । एक महिना नबित्तै दोहोर्‍याउन उचित लागेन । त्यसैले पहिला छोडेका साना बजारहरु नुनथला, माहुरेडाँडा, अर्खउले र जयरामघाटमा जनसंवाद सकेर ४ बजे बहादुरे खोला तर्‍यौं ।

प्रदेश न १ र ३ को सीमाना हो– बहादुरे खोला । यो खोला सुनकोशीलाई भेट्न उत्तर बगेर आउँछ । कुनै समय ओखलढुंगाका मान्छे यसैको किनारैकिनार कटारी झर्थे । कमलाको किनारमा असवाफको त्रिवेणी मेला लाथ्ग्यो । गौरीनारायाण बाँस्तोला दाई भन्दै थिए– ‘निक्कै ठाडो र तेजिलो थियो यो खोलाको वेग । खोला तर्ने कयौं मान्छेहरुको जीवन यसले समाप्त गर्‍यो । आज यस्तो लुरे भएको छ । खै कहाँ हरायो यसको बहादुरी ?’

पहाडमा खोलाहरु किन सुक्दैछन् ? नदीमा जलसतह किन घट्दैछ ? मुहानहरु किन सुक्दैछन् ? पानीको स्रोत व्यवस्थापन किन चुनौतिपूर्ण हुँदै गइरहेको छ ? न कसैले भरपर्दो अध्ययन अनुसन्धान नै गरेको छ । न कसैले यी प्रश्नको उत्तर नै दिन सक्छ । न स्रोत संरक्षणको कुनै योजना नै बनेको छ । बनिबनाउँ उत्तर छन्– ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, वनविनाश । हलेसीको बसाहा गुफा छेऊ युगौंयुगदेखि निरन्तर बगेका ठूल्ठूला धाराहरु थिए । केही वर्षयता सुके । वर्षाको पानी पहाडमा रिचार्ज हुन पाएन भनौं पहाड खाली नै छन् । जंगल पनि खासै मासिएको हैन । जनसंख्याको चाप भनौं जनसंख्या झनै घट्दो छ । बहादुरेको पानी स्याप्पै सुक्नु पर्ने गरी वरिपरि कुनै ठूलो वातावरणीय परिवर्तन देखिँदैन ।

बहादुरे तर्दा ४.३० बजेको थियो सायद । प्रदेश १ र ३ का का पार्टी संयोजक प्रभुराम श्रेष्ठ र राजु नेपालले छोटो भाषणसंगै हात मिलाए । जनसंवाद यात्रा टोली प्रदेश ३ प्रवेश गर्‍यो । सुनकोशी र बहादुरेसँगै खम्बु सभ्यता र संस्कृतिको क्षेत्र समेत तरिएको थियो । सिन्धुली प्रवेशसँगै तामाङ भाषा, संस्कृति र बस्तीको प्रभाव क्षेत्र शुरुवात हुन्छ ।

सिन्धुलीका कट्टर कम्युनिष्ट
प्रदेश ३ को पहिलो जनसंवाद २१ गते सिन्धुलीको च्याकुटार बेसीमा थियो । यो कुलमा ४६ औं कार्यक्रम थियो । प्रदेश १ मा जम्मा ४५ कार्यक्रम भएका थिए । सिन्धुली तुलनात्मकरुपमा कम्युनिष्टहरु निक्कै शक्तिशाली भएको जिल्ला । त्यसमाथि पूर्व एमालेभन्दा पूर्व माओवादीहरु बढी भएको जिल्ला । सिन्धुलीका पूर्व माओवादीहरु डा. भट्टराई र नयाँ शक्तिप्रति आवश्यकताभन्दा बढी नै पूर्वाग्राही छन्, उनीहरुले कुनै व्यवधानको गर्ने हुन कि भन्ने डर थियो साथीहरुमा ।

तर, त्यस्तो केही भएन । उनीहरुले एकाध ठाउँ नयाँ शक्तिको कार्यक्रममा नजानु भनेर सर्वसाधारणलाई रोक्न खोजेको भने सुनियो । यात्राभरि अन्यत्र कुनै जिल्लामा यस्तो स्थिति सामना गर्नु परेन । मनमनै गमेँ– २०४६ ताका हामी त्यस्तै कट्टर थियौं । सिन्धुलीका कमरेडहरु ३० अगाडिका म जस्तै रहेछन् । सिन्धुलीमा ४ वटा कार्यक्रमहरु भए । च्याकुटारबेशी, ग्वालटार, खुर्कोट र बोहोरेटार । त्यो दिनको बास ग्वालटारमा भएको थियो ।

ग्वालटार जहाँ सिन्धुलीका प्रथम शहिद बाबुराम बरालको शालिक छ । ऋषी देवकोटा, दुर्गा सुवेदी र दलबहादुर मगरहरुले रक्तबीज निर्माण गरेको जिल्ला हो यो । माओवादी जनयुद्धमा मात्र १८९ जनाले जीवन दिएका छन यो जिल्लामा । यस्तो जिल्लामा ‘कम्युनिष्ट मोह’ कुनै अस्वभाविक हैन । तर, कमरेडहरुले बुझ्न पर्ने कुरा– स्कुललिङ्ग मात्र सत्य हैन, सत्यको चाहना र खोज स्कुलिङ्गभन्दा सर्वथा शक्तिशाली हुन्छ ।

मन्थली मन्थन
२२ गतेको कार्यक्रम मन्थलीमा थियो । मध्यपहाडी लोकमार्गको रुट रामेछाप, काभ्रे, सिन्धुपाल्पोक हुँदै सिधै नुवाकोट निस्कन पर्ने हो– पाटी भन्ज्याङबाट । तर, खुर्कोटदेखि नुवाकोटसम्म प्रष्ट ट्रयाक बनिसकेको थिएन । यही कारण थियो– हामीले मन्थली पुगेर पुनश्चः खुर्कोट फर्किने योजना बनायौं ।

मन्थली नेपालका पहाडी नगरमध्ये असाध्यै गर्मी ठाउँ हो । तामाकोशीको किनारमा बसेको सानो शहर । उखानै छ यहाँ– ‘न्याय नपाए गोर्खा जानु, गर्मी नखाए मन्थली आउनु ।’ मन्थलीको गर्मी यस अघि दुईचोटी चाखी सकेको थिएँ मैले । यसपाली मध्य जाडोबीच पुग्दै थियौं– गर्मी नभए पनि जाडो त चर्को नहुने भयो ।

जनसंवाद कार्यक्रमको पछाडीतिर रिसले मुर्मुरिँदै थिए– ‘कस्लाई भन्दिनुपर्छ भन्दिनु काठमाण्डौंमा, सबैलाई सुकुम्बासी र भीखमंगा बनाएर हामीलाई सडक पनि चाहिएन, हामीलाई शहर पनि चाहिएन ।’ हाम्रो टोलीको मन खिन्न भयो ।

मन्थली मन्थन असाध्यै जमेको थियो । यो खुल्ला जनसंवाद थिएन । कोठे अन्तर्क्रिया थियो । मन्थलीमा पूर्व एकताकेन्द्र र एमाले स्कुलिङ बलियो छ । सबै आएका थिए । केही प्रश्नकर्ताहरुले डा. भटटराईलाई ‘कम्युनिष्ट आन्दोलनबाट चिप्लिएको नेता’ का रुपमा चित्रण गरे । नयाँ शक्ति एक फरक वैचारिक आन्दोलन हो भन्ने बुझ्न उनीहरुलाई निक्कै गाह्रो भइरहेको थियो ।

रामेछापको जमिन खासै कृषियोग्य छैन । राता प्यांखरे डाँडा देखिन्छन् जताततै । न जिल्लाको भूगोल सहज छ । कुनै भौगोलिक तारतम्य बिना जबरजस्त राजनीतिक स्वार्थका लागि बनाएको जिल्लाजस्तो प्रतीत हुन्छ । न उब्जाउ जमिन न पानीको स्रोत । कृषि यहाँ पेशा हैन, पीडा हो । मन्थलीका मेयर रमेश कार्की भन्दै थिए– ‘यस्ता जिल्लाहरुको आर्थिक भविष्य कसरी बन्न सक्छ ?’

डा. भटटराईले भने– यस्ता जिल्लाहरुले कृषिमा हैन, सेवामा जोड दिनुपर्दछ । पर्यटन र इजुकेसनल हबले मन्थलीलाई जोगाउन सक्छ । व्यापार त भन्नु मात्र हो– एकहोरो हुन्छ । बाहिरबाट ल्याएर बेच्ने मात्र हो । पैसा बाहिर पठाउने मात्र हो । यस्ता ठाउँमा भौतिक चिजहरु बेच्ने गरी उत्पादन गर्न गाह्रो हुन्छ ।

खुर्कोटको पीडा
वीपी राजमार्गबाट पूर्व आइन्थ्यो, जाइन्थ्यो । खुर्कोटलाई झुलुक्क हेरिन्थ्यो । गज्जब रमाइलो लाग्थ्यो । मध्यपहाडी राजमार्गको इटहरीजस्तै लाग्थ्यो मलाई । यहाँ सुनकोशी र तामाकोशी जोडिन्छ । यहाँ बीपी र पुष्पलाल मार्ग जोडिन्छ । यहाँ गौरीशंकर र जलेश्वर जोडिन्छ । यहाँ किराँत, तामाङ र नेवा संस्कृतिहरु जोडिन्छन् । सडक, प्रकृति र संस्कृति– तीनै चिजको विचित्र संगम छ खुर्कोटमा । तर, खुर्कोटको भित्री पीडा भने यसपटक राम्ररी बुझ्न पाइयो ।

खुर्कोटेहरु भन्दै थिए– २०५१ तिर भनायक ठूलो बाढी आएको थियो यहाँ । त्यसका क्षतिहरु कतै व्यवस्थापन भएन । बिजुलीका हाइटेन्सन लाइन यही परिवरि हिड्छन् । तिनले जमीन अधिग्रहण र जोखिम वितरण गरेका छन् । ल्याण्ड पुलिङ विधिबाट शहरीकरण गरिदैँछ ।

प्रतिरोपनी २५% ल्याण्डपुलिङ गर्ने भनिएकोमा ३ गुणा बढीसम्म भएको छ । त्यसको क्षतिपुरण कस्ले गर्छ ? भूकम्पले त्यत्रो क्षति गर्‍यो । अहिलेसम्म त्यसको राम्रो लगतसम्म उठेन । लगत उठाउँदा समेत राजनीतिक पक्षपात गरियो । सरकारले दिने किस्ता रकम, घर बनाउँन तोकिएको मापदण्ड र लागत बीच कुनै तालमेल छैन । घर मापदण्ड अनुरुप नभए अनुदान नपाइने, मापदण्ड अनुरुप घर बनाउने बाँकी पैसा कहाँबाट ल्याउने ? खुर्कोट क्षेत्रका अधिकांश जग्गा राजगुठी छन । लालपुर्जामा किसानको नाम मोहीको महलमा हुन्छ । बैंकले जमिन धितो स्वीकार गर्दैन । खुर्कोटेका यी पीडाहरु बुझ्ने सरकार कहिले आउँछ ?

केही युवाहरु जनसंवाद कार्यक्रमको पछाडीतिर रिसले मुर्मुरिँदै थिए– ‘कस्लाई भन्दिनुपर्छ भन्दिनु काठमाण्डौंमा, सबैलाई सुकुम्बासी र भीखमंगा बनाएर हामीलाई सडक पनि चाहिएन, हामीलाई शहर पनि चाहिएन ।’ हाम्रो टोलीको मन खिन्न भयो । जनताका यतिधेरै समस्याहरु छन् । कतिपय त नीति र प्रक्रिया सम्बन्धी समस्या छन् । हल गर्न कुनै बजेट र पैसा नलाग्ने । तर, हाम्रो राज्य राणा हुँदा, राजा हुँदा, पञ्च हुँदा, कांग्रेस हुँदा जस्तो थियो, कम्युनिष्ट हुँदा नि उस्तै छ । अजिंगर राज्य जस्ले सुत्न, सास फेर्न र खान मात्र जानेको छ ।

त्यो रात सिन्धुलीकै बोहोरेटार नजिकको गाउँमा बास बसियो ।

साँच्चैको पाँचखाल
बोहोरेटार छोडेर २३ गते थप ३ वटा जनसंवाद कार्यक्रम भए– नार्के, भकुण्डेबेसी र काफ्लेडी । यही दिन काठमाण्डौं वरिपरिको मौसममा भारी परिवर्तन भयो । साँझदेखि नै पानी पर्न थाल्यो । चिसो असाध्यै बढ्यो । वरिपरिका डाँडाहरुमा हिउँपरेको खबर आउन थाल्यो । कार्यक्रम केही दिन स्थगित गर्नु उचित हुन्छ भन्ने सुझाव आउन थाले । तर, हामी दृढ थियौं– सेडुल इज सेडुल । यो एउटा मिसन जस्तै हो– पूरा गरी छाड्ने हो ।

२४ गते पाँचखालमा दुई कार्यक्रम भए । पहिलो– सर्वमंगला क्याम्पसमा अन्तर्क्रिया । दोस्रो– नगरपालिकाको स्वागत सम्मान कार्यक्रम । त्योभन्दा बढी पाँचखालको भूगोल र कृषि सौन्दर्यले तान्यो मलाई । पाँचखाल साँच्चैको पाँचखाल रहेछ । नेपालका हरेक कृषकलाई एकपटक पाँचखाल भ्रमण गराउनु उचित हुन्छ सायद । पाँचखालसँग तुलनीय ठाउँ यो उमेरसम्म मैले नेपालमा कहिँ देखेको थिइनँ । पाँचखाल पाँचखाल नै रहोस् । मनमनै कामना गरे ।

२२ गते बेलुकादेखि पर्न थालेको पानी रोकिएको थिएन । २३ गते बिहानैदेखि घरी सिमसिम, घरी झमझम पानी परिरह्यो । बादलले डाँडाहरु ढाँके । घाम देखिएन । चिसो औधी बढ्यो । हामी मेलम्चीतिर हान्नियौं । बादल हल्का फाँटेको बेला कुन्तावेशीका फाँटहरु नियाल्न पाउनुको मज्जा वर्णन गर्न गाह्रो थियो । पाँचखाल र कुन्तावेशीको भूबनौट मिल्जोजुल्दो छ । दुबै कृषिका लागि अब्बल छन् ।

मेलम्ची मृगतृष्णा
पानी रोकिएन । जताततै हिलो थियो । काठमाण्डौं छेउको यति पुरानो सडक यस्तो हालमा देख्दा मन रुने नै भयो । रुझेका बस्तीहरु ओसिला र चिसा थिए । तैपनि, ठाउँठाउँ मान्छेहरु छाता ओडेर जनसंवाद टोलीलाई स्वागत गर्न पर्खिरहेका थिए । चिवा भन्ज्याङ्गबाट औपचारिक यात्राको यो १० औं दिन थियो । मौसममा सुधार नआउने हो भने अगाडिको यात्रा झनै कठिन हुने देखियो । मन भारी भएर आयो । मौसमविदहरुको ३–४ दिन लगातार वर्षा र हिमपात हुने अनुमान गरिरहेका थिए ।

कुन्तावेशीको फाँट सकिने बित्तिकै मेलम्ची नदीको किनार देखियो । ठीक उल्टो दृश्य । मेलम्चीको किनारामा जताततै क्रसर र बालुवाको थुप्रो देखिन्थ्यो । नदीले आफ्नो प्राकृतिक स्वभावमा बग्न पाएको थिएन । लामालामा नङ्ग्राले चिथोलिएका, कोपरिएका बालिकाका गालाजस्तो थियो– मेलम्ची ।

मेलम्चीबारे काठमाण्डौंमा अनेक हल्लाहरु उठिरहेका थिए । कम्युनिष्ट सरकार आएको एकमहिना भित्रै मेलम्ची काठमाण्डौंका घरका धाराधारासम्म पुग्छ भनेर भाषण गरेका थिए, मन्त्रीहरुले । सरकार बनेको एक वर्ष पुग्न लागेको थियो । मेलम्चीका मान्छेहरुमा कुनै विश्वास थिएन । कुनै आशा थिएन । कुनै प्रतिक्रिया थिएन । काठमाण्डौंका लागि मेलम्ची मृगतृष्णा हो । मेलम्चीबासीका लागि उदासिनता र घृणा । यो योजनासंग जोडिएर मेलम्चीबासीसंग कुनै उत्साह छैन । कुनै सपना छैनन् ।

मेलम्चीको कार्यक्रममा मेरा केही पाठकहरु भेटिए । बिल्कुल नयाँ ठाउँमा आफुलाई पढ्ने र परिचय गर्न आउने मान्छेहरु भेट्दा लेख्नुको मज्जा अलिकति खुल्दोरहेछ । मैले उनीहरुसंगै मेलम्चीबारे बुझ्न खोजेँ । सिन्धुपाल्ञ्चोकबारे बुझ्न खोजेँ ।

भन्दै थिए– ‘तातोपानी नाका बन्द भएपछि सिन्धुपाल्चोकको आर्थिक जीवनमा मन्दी आएको छ । यो जिल्लाको राजनीतिमा पैसा र गुण्डागर्दीको ठूलो प्रभाव हुन्छ । पार्टी फरक भन्नु मात्र हो– चरित्र सबै नेताका उस्तैउस्तै हुन्छन् । पशुपति शमशेरको विरासत थाम्ने कोही छैन । आउने चुनावसम्म राप्रपा करिबकरिब सकिन्छ । कम्युनिष्ट धारमा पूर्वमाओवादी हावी हुन सक्छ । कांग्रेस जस्तो थियो, त्यस्तै रहला । यो जिल्लाका मान्छेहरु डा.भटटराईप्रति असाध्यै सकारात्मक र नयाँ शक्तिका एजेण्डाबारे जिज्ञासु छन् । तर, नयाँ शक्तिको संगठन नै गाउँगाउँ पुगेको छैन । मेहनत गर्ने हो भने नयाँ शक्तिका लागि पर्याप्त स्पेश बन्न सक्छ ।’

‘मेलम्ची योजना यदि सफल भयो, पानी फर्किएर सबै काठमाण्डौंतिर गयो भने यहाँको वातावरणीय प्रभाव कस्तो हुन्छ ?,’ मैले एक युवासँग सोधे । उनले अँध्यारो मुख लगाए । मेरो प्रश्न उनलाई मन परिहेको थिएन । बोल्न मन नभएजस्तो गरी उत्तर दिए, ‘पहिलो कुरा त यो योजना कहिल्यै पूरा हुँदैन । यो कमिसन र दलाली पाक्ने बिरबलको खिचडी हो । सफल भयो भने भनिएको ४०% पानी काठमाण्डौं पुग्ने छैन । हामी सबै खोला फर्काउन मरे दिँदैनौं । यी यत्रा फाँटहरु, यत्रा बस्तीहरु, यत्रा खेतहरु सबै सुकाएर काठमाण्डौं पाल्नु पर्छ भन्ने छैन । जुन दिन पानी फर्काउने क्षण आउला, त्यही त्यतिखेर हेरौला, के हुन्छ ?’

झमक्क साँझ पर्‍यो । पानी रोकिने कुनै छाँट थिएन । मेलम्चीको कार्यक्रम कोठाभित्रै भयो । हामी भोटेचौर, साँखु हुँदै काठमाण्डौं फर्कियौं । भोलि २५ गते । एक दिन रेष्ट गर्नु थियो काठमाण्डौंमा । २६ गते बिहान लाग्नु थियो पश्चिमतिर ।

(जनसंवाद यात्रामा सहभागी नेता तथा स्तम्भकार डम्बर खतिवडाको संस्मरणका केही श्रृंखलाहरु क्रमशः प्रकाशन गरिनेछ)

क्रमशः ….

यो पनि-

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी–२

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob