scheduleशुक्रवार भाद्र ६ गते, २०७६

‘कन्टेन्टकै कारण चलचित्र ‘जानी नजानी’ दर्शकले रुचाउँछन्’


काठमाडौं, ३० फागुन । चैत १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जानी नजानी’ युनिट प्रचारप्रसारको उत्कर्षमा छ ।

चलचित्रका कलाकारहरु चलचित्रलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिन्छन् । चलचित्रको कन्टेन नै बलियो भएकोले चलचित्र सफल हुनेमा आफूहरु ढुक्क भएको उनीहरु बताउँछन् ।

चलचित्रमा प्रमुख भूमिकामा देखिएका कलाकारहरु मनिष श्रेष्ठ, सन्नी सिंह र डेव्यु गर्ल निरिशा बस्नेत चलचित्र प्रमोशनमा निकै व्यस्त देखिएका छन् । कुराकानीकै क्रममा मनिषले भने ‘चलचित्र निकै राम्रो बनेको छ । चलचित्रको बारे दर्शकलाई जानकारी भएन भने चलचित्र जति राम्रो भएपनि दर्शको रोजाईमा नपर्न सक्छ । त्यसैले चलचित्रको प्रमोशनको लागि हाम्रो टिमले निकै दौडधुप गरिरहेको छ ।’

मनिषले चलचित्रका निर्देशक बसन्त अधिकारीमाथि पनि निकै भरोसा रहेको बताए । उनले भने ‘बसन्त सरले यो क्षेत्रमा बिसौं बर्ष योगदान दिनुभएको छ । वहाँको अनुभव र क्षमता चलचित्रमा भरपुर प्रयोग भएको छ । पक्कै पनि वहाँले बिसौं बर्षमा कमाएको नाम २ घण्टाको चलचित्रमार्फत गुमाउने स्तरको काम गर्नुभएको छैन ।’

यो चलचित्र प्रदर्शनमा आएपछि निर्देशक बसन्त अधिकारीको चौतर्फी तारिफ हुने आँकलन पनि मनिष गरे । चलचित्रको ट्रेलर र गीतले पाएको प्रतिक्रियाले थप हौसला प्राप्त भएको उनको भनाई थियो । चलचित्रमा प्ले ब्वाईको भूमिकामा देखिएका मनिष एउटा बिग्रिएको केटादेखि जिम्मेवार युवकसम्मको चरित्र निर्वाह गरेको बताए ।

यता चलचित्रका अर्का नायक शन्नी सिंहले चलचित्रमा आफ्नो भूमिका गोप्य भएकोले खुलाउन नमिल्ने बताए । स्क्रृप्ट सुन्दा आफुले कल्पना गरेकोभन्दा पनि चलचित्र राम्रो भएको भन्दै चलचित्र दर्शकले रुचाउनेमा उनी ढुक्क देखिन्थे । चलचित्रमा आफ्नो भूमिका दर्शकको लाई सरप्राईज हुने उनको कथन थियो ।

त्यसैगरी यसै चलचित्र ‘जानी नजानी’मार्फत नेपाली रजतपतमा प्रवेश गरेकी निरिशा बस्नेत पनि चलचित्रप्रति निकै आशाबादी देखिईन् । आफ्नो डेव्यु फिल्म भएकोले पनि दर्शकहरुबाट पाएको प्रतिक्रियाले उत्साहित रहेको उनको भनाई थियो । भारतमा बालाजि प्रोडक्शनको टेली चलचित्र ‘चन्द्रनन्दनी’मा पनि पछिल्लो ३ महिना काम गरेकोले जानी नजानीमा काम गर्न खासै गाह्रो नभएको उनले बताईन् । चलचित्रको ट्रेलर र गीतबाट दर्शकहरुले दिएको प्रतिक्रियाको आधारमा पनि चलचित्रले राम्रो दर्शक पाउने अपेक्षा रहेको उनको भनाई थियो ।

त्यसैगरी चलचित्रका निर्देशक वसन्त अधिकारीले ‘जानी नजानी’ आफ्नो २० बर्षे सिने करियरको उपलब्धी भएको बताए । चलचित्रले माया प्रेमसँगै राष्ट्रियताका बारेमा पनि सकारात्मक सन्देश दिने उनले बताए । नेपाली ढाकाको कपडालाई व्यवशायिक रुपले विश्व बजारमा कसरी प्रतिष्पर्धा गराउन सकिन्छ भन्ने बारे अनुषन्धानात्मक बिषय पनि चलचित्रमा प्रस्तुत गरिएको अधिकारीले बताए । चलचित्रलाई सशक्त बनाउनमा कुनै कुरामा पनि संझौंता नगरेकोले चलचित्र उत्कृष्ट बनेको उनको भनाई थियो ।

चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । साथै चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत गरिएको छ । शुरुमा चलचित्रको छायांकन इजिप्टमा गर्ने तयारी गरेर कलाकारहरुको भिषा पनि लागेकोमा चलचित्रको छायांकन अनुमति पत्र पाउन ढिलाई भएकोले भारतमा छायांकन गरीएको खुलाशा कलाकारहरुले गरेका थिए ।

चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage