scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

मेलम्चीमा ७ सय मजदुरको बिचल्ली, मन्त्री अक्क न बक्कको अवस्थामा


सिन्धुपाल्चोक, १ चैत । मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सिएमसी भागेपछि त्यहाँ कार्यरत ७ सय मजदुर विचल्लीमा परेका छन् । मजदूरहरुले ८ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् ।

मेलम्ची आयोजनाबाट इटालियन ठेकेदार भागेपछि मजदुर मात्र होइन, आयोजनाका लागि सामान ढुवानी गर्नेहरु पनि अहिले मारमा परेका छन् । मजदूरी गरेको पाँच महिनाको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि पारिश्रमिक कसरी लिने भन्ने चिन्ता बढेको स्थानीय पूर्णबहादुर लामिछानेले बताए ।
उनको समुहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै सात सय स्थानीय मजदुरले कम्पनीसँग दुईदेखि आठ महिनासम्मको भुक्तानी लिन बाँकी रहेको लामिछाने बताउँछन् । ठेकेदार कम्पनीले पारिश्रमिक नदिई भागेपछि पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाले लिनुपर्ने माग मजदुरहरुले गरेका छन् ।

पारिश्रमिक नदिई अर्को ठेकेदार छनौट गरेमा आयोजना अघि बढ्न नदिने मजदुरहरुले चेतावनी दिएका छन् । ठेकेदार कम्पनीले स्थानीय सप्लायर्स र भेण्डर्सहरुलाई मात्र १६ करोड ५० लाख ३८ हजार पाँच सय रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सप्लायर्सहरु बताउँछन् । आफूहरुले पाउनुपर्ने पारिश्रमिक नपाए चरणबद्ध आन्दोलन गर्ने मजदुरहरुले चेतावनी दिएका छन् ।

चिनियाँ ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि सिएमसीले सुरुङको फिनिसिङ र हेडवर्क्सको काम बाँकी रहँदा पुस दुईगते ठेक्का छाडेर भागेको थियो । काममा फर्कन सरकारले पटक पटक आग्रह गर्दा समेत नफर्केपछि बाध्य भएर ठेक्का रद्द गरेको सरकारले जनाएको छ । ठेक्का रद्द भएपछि अब आयोजना कसरी अघि बढाउने भन्ने कुनै निर्णय हुन सकेको छैन ।

मेलम्ची अलपत्र परिरहँदा पनि खानेपानी मन्त्री बिना मगरले यथोचित निकास निकाल्न सकिरहेकी छैनन् । उनी मन्त्रालयका सचिवसँगको विवादमा अल्मलिइरहेकी छन् । गत दशै‌भित्रै काठमाडौंबासीलाई पानी खुवाउने भाषण गर्दै आएकी मन्त्री मगरबारे प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob