scheduleशनिवार चैत्र ९ गते, २०७५

केही सेकेण्डले ठोक्किनबाट बच्यो काठमाडौं आइरहेको विमान


काठमाडौं, ३ फागुन । संयुक्त अरब इमिरेट्सको आबुधाबीबाट काठमाडौं आइरहेको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार मुम्बईको आकाशमा दुई विमान ठोक्किनबाट केही सेकेण्डले मात्र जोगिएको टाइम्स अफ इण्डिया डट कमले खबर लेखेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीबाट काठमाडौंतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र हो चि मिन्हबाट पेरिस लागिरहेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) एकआपसमा ठोकिनबाट केही सेकेण्डले मात्र बचेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार आ–आफ्ना गन्तव्यमा दिउँसो १ः४० मा उडिरहेका दुई विमानमा अचानक ट्राफिक कोलिजन अभोइडेन्स सिष्टम्समा चेतावनीमूलक संकेत देखापरेको थियो । यसको अर्थ हो, विपरित दिशाबाट उडिरहेको विमानसँग ठोक्किनसक्ने जोखिम ।

दुई विमान तीन नटिकल माइल्स अर्थात् झण्डैं ५.५५६ किलोमिटरको फरकमा थिए । यति दूरी पार गर्न दुई विमानलाई केवल केही सेकेण्ड मात्र लाग्ने खबरमा उल्लेख गरिएको छ । त्यहीबेला एयर ट्राफिक कन्ट्रोलरले इतिहास विमानलाई ३३ हजार फिटको उचाई लिन निर्देशन दिएका थिए । त्यसअघि एयर फ्रान्स ३२,००० फिट उचाईंमा र इतिहाद ३१,००० फिटको उचाईमा उडिरहेका थिए ।

घटनालगत्तै मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र अनुसन्धान थालिएको बताइएको छ ।
स्मरणीय छ, पाकिस्तानले आफ्नो आकाशलाई उडान प्रतिबन्ध लगाएपछि भारतीय आकाशमा चाप बढेको छ । पाकिस्तानले निर्णय फिर्ता लिइसके पनि भारतीय आकाशको रुटलाई पुरानै अवस्थामा फर्काइएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob