scheduleबुधवार मंसिर ४ गते, २०७६

ओलीले प्रतिपक्षीको होइन, पार्टीकै कुरा सुन्न छाडेः डा. भट्टराई

फाइल फोटो

 

काठमाडौं, ४ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले केपी शर्मा ओलीले प्रतिपक्षीको मात्र नभएर आफ्नै पार्टीको पनि कुरा सुन्न छाडेको बताएका छन् । उनले ओली नेतृत्वको सरकार अधिनायकवाद उन्मुख रहेको जिकिर गरे ।

पार्टीको सचिवालय बैठकपछि बोलाइएको पत्रकार सम्मेलनमा सरकारका सबै गतिविधिहरु अधिनायकवाद उन्मुख रहेको बताएका हुन् । उनले भने, ‘सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखेर प्रधानमन्त्रीले शक्तिको अनावश्यक केन्द्रीकरण गरिरहेका छन् । पछिल्लो समय सरकारले राष्ट्रिय सुरक्षा परिषदको अधिकारलाई कुण्ठित गरी सिधै सेना परिचालन गर्न सक्ने विधेयक मस्यौदा बनाउनु प्रधानमन्त्रीको महत्वकांक्षा, स्वेच्छाचारिता र अधिनायकवाद उन्मुख सोचको परिचायक हो ।’

आफ्नै पार्टीका सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्रीले अटेरी गर्दै संसदीय सर्वोच्चता पनि लत्याएको उनको आरोप छ । प्रधानमन्त्रीलाई अनावश्यक शक्ति केन्द्रीत गर्न संविधान तथा संसदीय शासकीय व्यवस्थामा नमिल्ने उनले बताए । ‘शक्ति केन्द्रीत गर्ने प्रधानमन्त्रीमा चाहना भए शासकीय स्वरूप परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्न तयार भए भइहाल्यो,’ उनले भने ।

वर्तमान सरकार भिजन, इच्छाशक्ति, संकल्प, व्यवस्थापकीय क्षमता र कार्यशैलीका दृष्टिकोणले सरकार पुरानै नियत र नियतिको सामान्य निरन्तरता मात्र बनेको उनको निष्कर्ष थियो । ‘एनसेल, बुढीगण्डकी प्रकरण, वाइडबडी जहाज खरिद, ३३ किलो सुन, कालो धनसँगको संशयजस्ता ठूला आर्थिक अनियमितता र भ्रष्टाचारमा सरकारको संलग्नता प्रष्ट छ,’ उनले भने, ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अपराधीलाई सरकारले पक्रन र दण्ड दिन सकेको छैन । सरकार पूर्णतः असफल भएको छ ।’

राउतबारे बाबुराम
भट्टराईले सरकारले सिके राउतलाई अनावश्यक महत्व दिएको उल्लेख गर्दै भने, ‘सिके राउतलाई सरकारले यसरी प्रस्तुत गर्‍यो कि मानौं उनी गौतमबुद्ध र पृथ्वीनारायणपछिको एकमात्र व्यक्तित्व हुन् जस्तो गरेर महत्व दियो ।’

राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने स्वागतयोग्य भएको नयाँ शक्तिको बुझाई छ । तर सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो नदेखिएको बताएको उक्त पार्टीको निष्कर्ष छ ।

नयाँ शक्तिले अदालतसँग सेटिङ गरेर उनलाई रिहा गरेको हुनसक्ने आशंका पनि गरेको छ । ‘न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग हठात भएको सम्झौताले सरकारले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको र सेटिङ्ग राज्यको विकृत अभ्यासतिर उद्यत भएको पुष्टि हुन्छ’ नयाँ शक्तिले भनेको छ ‘यो घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र मर्यादामा गम्भीर क्षति पुर्‍याएको छ ।’

नयाँ शक्तिको निष्कर्ष छ, ‘यो घटनाले सरकार आफ्ना निहित राजनीतिक अभिष्ट पूर्तिका लागि जस्तोसुकै अमर्यादित र अशोभनीय नाटक मञ्चन गर्न तयार छ भन्ने पुष्टि भएको छ ।’

ओलीले सीके राउतलाई प्रचण्डसँग तुलना गरेकोमा डा. भट्टराईले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘तथाकथित राष्ट्रवादी सरकार आफ्ना निहित राजनीतिक अभिष्ट पुर्तिका लागि जस्तोसुकै अमर्यादित र अशोभनीय नाटक मञ्चन गर्न तयार छ भन्ने पुष्टि हुन्छ। हाम्रो पार्टी यस्तो प्रवृत्तिप्रति पूर्णतः असहमत छ ।’

‘दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं,’ उनले भने, ‘सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौ‌ ,अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ?,’ उनले भने,’ राउतले त आत्म समर्पण गरेका हुन्, दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।’ उनले सरकार र राउतबीचको सहमति घिउ बेचुवा र तरबार बेचुवाको जस्तो नहोस् भन्ने कामना गरे ।

‘हामी आफैं विद्रोह गरेर आएका ब्यक्तिहरु हौं, वार्तामा बसेको राम्रो अनुभव हामी आफैंसँग छ,’ उनले भने,’ सरकारले यति अपारदर्शी हिसाबले काम गरे कि सर्वाेच्च अदालतलाई समेत प्रभावित पारेर अघिल्लो दिनमा छुटाउने, भोलिपल्ट हस्ताक्षर गर्ने, यो गर्न के जरुरी थियो? के स्वार्थ हो? मत भन्छु घिउ बेचुवा र तरबार बेचुवा जस्तो प्रधानमन्त्रीलाई पनि परेको छ मैले उसलाई ठगे, उनलाई पनि परेको छ यिनलाई मैले ठगे, तर कस्ले कस्लाई ठगे भन्ने छ।’

विप्लवबारे बाबुराम
‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्‍यो’ डा. भट्टराईले भने, ‘सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले राज्यको शक्ति र स्रोतलाई पार्टीगत स्वार्थमा दोहन गरिरहनु र विप्लव नेतृत्वको नेकपाले क्रान्तिबारे रोमाञ्चक जडधारणा र उग्र वामपन्ती ध्वसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, सुशासन, विकास र समृद्धिको चाहनाविपरीत छ ।’

भट्टराईका अनुसार सत्तारुढ नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्नु नैतिक रुपमा पनि मिल्दैन । ‘राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई लुटेरा चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर हुन्छ ।’

‘रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ’

नयाँ शक्तिले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । ‘टीकापुर घटना राजनीतिक विद्रोह हो भन्दै यसलाई आपराधिक घटनाका रुपमा ब्यवहार गर्नु अन्यायपूर्ण छ,’ नयाँ शक्तिले भनेको छ, ‘अतः टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै संबोधन गरिनुपर्छ र मानीय रेशम चौधरीलगायत सबै अविलम्ब रिहा हुनुपर्छ ।’

नयाँ शक्तिले प्रदेश रचनाको मोडलमा विमति राख्ने उत्पीडित थारु समुदायको राजनीतिक विद्रोहको सोही क्षेत्रबाट रेशम चौधरी निर्वाचित भएपछि जनअनुमोदन भएको स्मरण गराएको छ । विगतमा देशमा अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरुलाई राजनीतिक ब्यवहार गरे पनि टीकापुर घटनालाई मात्र आपराधिक रुपमा हेर्न नहुने नयाँ शक्तिले बताएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage