scheduleबिहिवार बैशाख १२ गते, २०७६

बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित

बैतडी, ५ चैत । जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् ।

शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थी एसइईबाट वञ्चित हुने भएका हुन् । ‘छात्रभन्दा छात्रा परीक्षाबाट वञ्चित हुने गरेका छन्’, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भने, ‘छात्रा बिहे गरेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेकाले परीक्षाबाट बढी वञ्चित हुन्छन् ।’

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

छ हजार विद्यार्थी सहभागी हुने

यस वर्षको एसइई परीक्षामा जिल्लाबाट पाँच हजार ८६८ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८१ तथा ग्रेडिङ पुरानो कोर्षबाट ११४, ग्रेडिङ नयाँ कोर्षबाट २७३, प्राविधिकतर्फ ६९ विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । जिल्लाका ११९ सामुदायिक र चार निजी विद्यालय एसइई परीक्षामा सहभागी हुने विद्यालय निरीक्षक जोशीले जानकारी दिए । परीक्षाका लागि २५ परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धि विद्यार्थीका लागि दशरथचन्द नगरपालिकास्थित वीरेन्द्र मावि साहिलेकमा केन्द्र निर्धारण गरिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob